कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

एक व्यक्ति, एक मुख्य पद

युवराज ज्ञवाली

वर्तमान नेपाली राजनीतिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सबैभन्दा ठूलो पार्टीका रूपमा उदाएको छ । अनुमानित आठ लाख पार्टी सदस्य, विभिन्न जनवर्गीय संगठन, पेसागत र व्यवसायी संगठनका लाखौंलाख सदस्य भएको, देशका प्रत्येक वडा र टोलदेखि कैयौं बाह्य देशमा प्रवासीहरूको संगठित पंक्तिसहित विशाल सञ्जाल भएको पार्टी हो यो ।

एक व्यक्ति, एक मुख्य पद

यति बेला वडा सदस्यदेखि प्रत्येक गाउँ–नगर हुँदै जिल्ला, प्रदेश र केन्द्रमा सरकार सञ्चालन गर्ने जिम्मा जनताले यो पार्टीलाई सुम्पिएका छन् । यो ऐतिहासिक अवसरमा पार्टीलाई जनताको सुख र समृद्धिका लागि कसरी परिचालित गर्ने ? परिवर्तित परिस्थिति अनुसार कस्तो पार्टी निर्माण गर्ने ? संगठनात्मक सवालमा नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता छ ।


एकातिर तलदेखि माथिसम्म पार्टी र पार्टीसम्बद्ध विभिन्न जनवर्गीय र पेसागत संगठनलाई व्यवस्थित रूपमा सञ्चालन गर्नु छ भने, अर्कातिर राम्रो परिणाम हासिल हुने गरी सिंगो राज्य व्यवस्थालाई हाँक्नु छ । पार्टीभित्रको सम्पूर्ण शक्तिलाई, योग्य र क्षमतावान्लाई अनेक काममा अधिकतम रूपमा क्रियाशील र गतिशील बनाउनु जरुरी छ । देशभरिका विभिन्न तहका पार्टी कार्यालय र जनवर्गीय संगठनका कार्यालय सञ्चालनका लागि पनि एउटा महत्त्वपूर्ण जनशक्ति केन्द्रित गर्नु छ ।


विगतको विश्व कम्युनिस्ट आन्दोलनमा रूस, चीन लगायतमा कम्युनिस्ट पार्टीको नेतृत्वमा पुरानो सत्तालाई विस्थापित गरेर नयाँ सत्ता निर्माण भयो । त्यो परिस्थितिमा प्रायः पार्टी र सरकार प्रमुख एउटै व्यक्ति बन्ने परिपाटी स्थापित भयो । नेपालमा भने बारम्बारको प्रतिस्पर्धामा श्रेष्ठता कायम गर्न सके मात्र सत्ताको नेतृत्वमा पुग्ने र राज्यको शक्ति र स्रोतलाई जनताको हितमा अधिकतम परिचालित गर्न सक्ने सम्भावना देखा पर्‍यो ।


नेपाली समाजको माथिल्लो राजनीतिक संरचनामा कम्युनिस्ट पार्टीको नेतृत्व भए पनि दलाल तथा नोकरशाही पुँजीवादी आर्थिक आधार विद्यमान छ । त्यसले माथिल्लो संरचनालाई आफूअनुकूल बदल्ने अधिकतम प्रयास गरिरहेको छ । माथिल्लो संरचना आर्थिक आधारलाई रूपान्तरण गर्न प्रयासरत छ । आर्थिक आधार र माथिल्लो राजनीतिक संरचनाबीच तीव्र अन्तरविरोध छ ।


राज्यसत्तामा कम्युनिस्ट पार्टीको नेतृत्व भए पनि सारमा पुरानो राज्य संयन्त्र कायमै छ । पुरानो राज्य संयन्त्र र नयाँ नेतृत्वबीच पनि अन्तरविरोध छ । त्यसैले यति बेला सरकार र संसद दुवैलाई वर्गसंघर्षको सबैभन्दा महत्त्वपूर्ण मोर्चाका रूपमा बुझ्नुपर्छ । विद्यमान अन्तरविरोधको समाधानार्थ पार्टीले व्यवस्थित नीति र योजना बनाउनुपर्छ । सोही अनुसारको योग्यता, क्षमता र विशेषता भएका नेता–कार्यकर्तालाई उक्त मोर्चाको जिम्मा दिनुपर्छ । पार्टीले त्यसको नियमित अनुगमन, मूल्यांकन र समीक्षा गर्नुपर्छ । उक्त अन्तरविरोधको समाधानपछिको समाजवादी चरणमा भने कार्यविभाजनको तरिका अहिलेभन्दा भिन्न हुनसक्छ ।


संसारका विभिन्न पुँजीवादी पार्टीहरू संगठन परिचालनसँगै ठूलो मात्रामा आर्थिक परिचालनबाट निर्वाचनमा विजयी बन्ने गरेका छन् । तर नेकपा श्रमजीवी वर्गको पार्टी भएकाले आर्थिक शक्तिमा भन्दा संगठन परिचालनका आधारमा विजयी बन्नुपर्छ । त्यस क्रममा पार्टीलाई तलदेखि माथिसम्म नियमित र व्यवस्थित रूपमा परिचालित गर्नुपर्ने, जनतालाई सजग र सचेत बनाइरहनुपर्ने,

आफ्नो पार्टीको सरकारले अघि सारेका नीति र योजनालाई जनताबीच कार्यान्वयन गर्न सक्रिय रूपमा सहयोग पुर्‍याउनुपर्ने र विभिन्न तहका सरकारका कामलाई अनुगमन र मूल्यांकन तथा सुझाव एवं निर्देशन दिनुपर्ने भएकाले एउटै नेतृत्वले दुवै फाँटमा नेतृत्व दिन सक्दैन ।


विभिन्न स्तरका सरकारको नेतृत्व र सोही तहको पार्टी कमिटीको नेतृत्व पनि एउटै व्यक्तिमा रहँदा आफ्नो मूल्यांकन आफै गर्नुपर्ने हुन्छ । सरकारको कामको मूल्यांकन बढी मनोगत हुन पुग्छ । यसबाट जवाफदेहिता कमजोर बन्छ र सरकारले आफूलाई सच्याएर अगाडि बढ्नमा यथोचित ध्यान पुग्न सक्दैन ।


पार्टीले विभिन्न क्षेत्र, मोर्चा र फाँटको समग्र नेतृत्व गर्ने र सम्बन्धित निकायलाई निर्देशन गर्ने हो । सरकार आफै पार्टी नभएर पार्टी कामको एउटा महत्त्वपूर्ण मोर्चा हो । एउटै व्यक्ति नेतृत्वमा रहँदा वस्तुगत रूपमा पार्टीले सरकार चलाउनेभन्दा सरकारले पार्टी चलाउने परिस्थिति बन्छ । निर्णयहरू पार्टी कमिटी र कार्यालयबाट नभई सिंहदरबार र मन्त्रालयबाट गर्ने परिपाटी स्थापित हुँदै जान्छ ।


राज्य सञ्चालनका क्षेत्रमा काम गर्ने नेता–कार्यकर्ता सबैभन्दा बढी साधन, स्रोत र सुविधासम्पन्न हुन्छन् । तिनले विवेक पुर्‍याउन सके भने देश र जनताका पक्षमा निकै काम गर्न सकिन्छ । सुख, सुविधा र स्वार्थका कारण अलिकति पनि विवेक गुम्यो भने राज्यसत्ताको दुरुपयोगको सम्भावना प्रबल रहन्छ । अवसर पाए गल्ती गर्ने सम्भावना बढ्छ ।


त्यस्ता क्रियाकलाप रोक्न पनि पार्टी र सरकार प्रमुख फरक व्यक्ति हुनु बढी उपयुक्त देखिन्छ । यसमा हरेक तहको सरकारको नेतृत्व गर्ने व्यक्ति सम्बन्धित तहको कमिटीको सदस्य हुनुपर्ने कुरालाई भने गम्भीर रूपमा लिनुपर्छ । किनकि उनकै उपस्थितिको कमिटीको बैठकमा सम्बन्धित तहको सरकारका उपलब्धि र कमजोरीको समीक्षा गर्नुपर्ने र कमिटीले विभिन्न नीतिगत निर्देशन दिनुपर्ने हुन्छ ।


यसो गर्न सके पार्टीले सरकार चलाउने परिपाटी स्थापित हुन सक्छ । होइन भने पार्टी क्रमशः क्याबिनेटका निर्णय सुन्ने संस्था मात्र बन्न पुग्छ । पार्टी कम्युनिस्ट पार्टीका रूपमा रहँदैन र साँचो अर्थमा लोकतान्त्रिक पार्टी पनि बन्दैन । पार्टी–सरकार सम्बन्ध र भिन्नताबारे स्पष्ट दृष्टिकोण बनाउन नसक्ने हो भने राज्यसत्ता नै पार्टी हो भन्ने अत्यन्त गलत मान्यता व्यवहारमा जबर्जस्त स्थापित हुन खोज्छ । त्यस्तो अवस्थामा सत्ताको निरंकुशता र स्वेच्छाचारिता खतरनाक ढंगले बढ्ने सम्भावना हुन्छ ।


जहाँ स्वेच्छाचारिता बढ्छ, त्यहाँ भ्रष्टाचार बढ्नु स्वाभाविक छ । भ्रष्टाचार बढ्नु र घट्नुमा व्यक्तिको चारित्रिक विशेषताको आफ्नै ठूलो महत्त्व छ, तर सरकारका तमाम नीति, नियम र संरचना एवं पार्टी निर्माण र परिचालनका नीति र तरिकाको पनि यसमा मुख्य भूमिका हुन्छ ।


पार्टी सञ्चालनका आआफ्नै विधान, नियमावली र निर्णय, विधि र प्रक्रिया हुन्छन् । सरकार सञ्चालन गर्ने संविधान, नियम, कानुन, संरचना, विधि र पनि भिन्न हुन्छन् । संविधानलाई पार्टीले पूर्ण रूपमा मान्ने या आलोचनात्मक ढंगले हेर्ने अवस्था रहन्छ । पार्टी विधानले सरकार चलाउँदैन, तर पार्टीको नीति निर्देशन भने आवश्यक पर्छ । यही जटिलताका कारण पनि एउटै व्यक्ति दुवैतिरको प्रमुख बन्नु अन्योलपूर्ण हुन्छ । यो जटिलता केन्द्रदेखि वडा तहसम्म रहन्छ ।


सत्तासीन नेकपा सारमा समाजवादी र साम्यवादी भए पनि यो लोकतन्त्रवादी पार्टी पनि हो । समाजवाद र लोकतन्त्रलाई एकैसाथ अघि बढाउने यसको नयाँ मान्यता हो । त्यसैले यो पार्टी एकल नभई सामूहिक नेतृत्वका आधारमा मात्रै अघि बढ्न सक्छ । सामूहिक नेतृत्व भनेको नेताद्वय या नेतात्रय भन्ने अर्थमा नभएर कमिटीगत निर्णयका आधारमा चल्ने हो ।


एक जना प्रमुख नेता भए पनि विभिन्न नेताको उचित कार्यविन्यासका आधारमा मात्रै पार्टी व्यवस्थित रूपमा अघि बढ्न सक्छ । कमिटीको अमुक नेतालाई कामको बोझ आवश्यकताभन्दा बढी थप्दै जाने अनि अमुकलाई कामविहीन बनाउने परिपाटी गलत हो । एउटै व्यक्तिलाई धेरै काम जिम्मा दिनुको अर्थ उसलाई अरूभन्दा बढी अधिकारसम्पन्न बनाउनु हो । ‘मैले सबै काम एक्लै गर्न सक्छु’ भन्नुको अर्थ ‘म पहिले–पहिलेका राजाभन्दा कम छैन’ भन्ने पनि हो ।


सरकार र पार्टी प्रमुख अलग–अलग व्यक्ति हुँदा पार्टीमा दुइटा केन्द्र हुने र त्यसले पार्टीलाई एकताबद्ध बनाउन कठिन हुने तर्क पनि उठ्न सक्छ । तर त्यसमा सत्यता छैन । पार्टी केन्द्रको सवाल पार्टी नेतृत्वको सवाल हो । सरकार प्रमुख र पार्टी प्रमुखलाई समान हिसाबले पार्टी नेतृत्वका रूपमा व्याख्या गर्ने हो भने त्यसले हाम्रो सांगठनिक संरचना र पार्टी–सरकार सम्बन्ध तथा भिन्नतालाई सही ढंगले छुट्याउन सक्दैन । पार्टी प्रमुख एउटै व्यक्ति हुने भएपछि केन्द्र पनि एउटै हुन्छ ।


कार्यविभाजनका क्रममा विभिन्न फाँट, क्षेत्र र मोर्चा प्रमुखहरू एउटै केन्द्रको मातहतमा रहन्छन् । आवश्यक परे पार्टीले कार्यविभाजनमा हेरफेर गर्न सक्छ । सामूहिक निर्णय र संस्थागत हिसाबले चल्नुपर्ने परिपाटी स्थापित भएपछि बहुकेन्द्रको स्थिति स्वतः आउन पाउँदैन । तर पार्टीमा गुटहरू क्रियाशील हुँदै गए र त्यसको ठीक समाधान गर्न सकिएन भने कार्यविभाजन अनुसार केन्द्र होइन, बरु गुट अनुसारका गुट–केन्द्र बन्ने खतरा जहिले पनि रहन सक्छ ।


कुनै अमुक व्यक्तिले ‘पूर्वजन्मको भाग्यमा लेखेर’ आएजस्तो गरी कसैलाई बारम्बार सत्तामा पुर्‍याउनु र कसैलाई त्यस्तो जिम्मेवारी नै नदिनु वैज्ञानिक समाजवादी नभएर सामन्तकालीन परिपाटी हो । व्यक्तिको योग्यता र क्षमता अनुसार नयाँ–नयाँ नेता–कार्यकर्तालाई निश्चित वैधानिक मान्यता अनुरूप फेरबदल गर्दै रहनुपर्छ । कुनै निर्वाचन क्षेत्रलाई अमुक व्यक्तिको स्थायी चुनाव क्षेत्रका रूपमा राखिरहनु भनेको नयाँ ढंगले छोटा राजाहरूको विकास गर्नु हो ।


यो मार्क्सवादविरोधी मात्र होइन, अलोकतान्त्रिक तरिका पनि हो । त्यसैले पार्टीभित्र ‘नेता प्रधान होइन, नीति र पार्टी प्रधान हुन्छ’ भन्ने मान्यता स्थापित गर्नुपर्छ । व्यक्तिलाई विभिन्न कालखण्डमा विभिन्न क्षेत्रको जिम्मेवारी दिएर अनुभवी र दक्ष बनाउनु जरुरी हुन्छ । बलियो र व्यवस्थित पार्टीले योग्य र जनताबीच लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने गरे विजयी हुने आम वातावरण तयार हुन्छ । जोकोही उम्मेदवार भए पनि पार्टीको संस्थागत निर्णयका आधारमा हुने र उसको विजय वा पराजय व्यक्तिको मात्र नभई पार्टीकै जितहार हुने भएकाले निर्वाचनलाई व्यक्तिकेन्द्रित नभई पार्टीकेन्द्रित अभियानका रूपमा विकास गर्नु जरुरी छ ।


पार्टीको निर्णय अनुसार उम्मेदवार भएर जनताबाट निर्वाचित नेता–कार्यकर्ताको एउटा पंक्ति सरकार सञ्चालनको काममा जान्छ । त्योभन्दा निकै ठूलो संख्या सत्ताबाहिर हुन्छ । व्यवस्थित रूपले परिचालन गरे सत्ताबाहिर रहेको विशाल पंक्तिले पार्टीलाई व्यापक जनसमुदायसँगै तल्लो वर्गमा पनि स्थापित गराउन सक्छ र त्यहाँबाट नेता–कार्यकर्ता उत्पादन गर्न सम्भव हुन्छ । लाखौंको संख्यामा रहेको तल्लो वर्गलाई राजनीतिक रूपमा संगठित र सचेत पार्न नसके त्यो एउटा अराजनीतिक जमातका रूपमा विकसित हुन सक्छ । प्रकारान्तरले अन्य पार्टीजस्तै कम्युनिस्ट पार्टीमा पनि क्रमशः पुँजीपति वर्ग नै हावी हुँदै जान्छ ।


यसरी राजनीतिमा झन्डा फरक भए पनि प्रायः पार्टी एउटै वर्ग आधारमा चल्ने राजनीतिक व्यापारीका रूपमा देखा पर्न थाल्छन् । मार्क्सवादी मान्यता बमोजिम पार्टीलाई योजनाबद्ध रूपमा परिचालन नगरी स्वस्फूर्त रूपमा चलाउन खोजिरहे तल्लो वर्ग राजनीतिमा अघि आउनै सक्दैन ।


वर्तमान संक्रमणकालीन अवस्थामा सत्तासीन नेकपाभित्र दुई अध्यक्षको व्यवस्था गरिएको छ । अहिलेको विशेष अवस्थामा राष्ट्रिय महाधिवेशनसम्म यो अवस्था कायमै रहन्छ । तर दुई अध्यक्षबीच पनि ठोस कार्यविभाजन आवश्यक छ । एक अध्यक्षले प्रधानमन्त्रीको जिम्मेवारी वहन गरिरहेको अवस्थामा अर्को अध्यक्षको मुख्य जिम्मेवारी के हुने भन्ने प्रश्न बारम्बार उठ्ने गरेको छ । यसको तत्काल समाधान गर्नु जरुरी छ ।

प्रकाशित : श्रावण २२, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?