कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

डेंगुविरुद्ध अभियान 

सम्पादकीय

काठमाडौँ — धरान एउटा सुगम सहर मात्र होइन, त्यहाँका अधिकांश नागरिक सचेत र शिक्षित पनि छन् । तैपनि, सरकारी अक्षमता र नागरिक निष्क्रियताका कारण ४ हजार जना संक्रमित भइसक्दा पनि तीन महिनादेखि फैलिएको डेंगु नियन्त्रणमा आउन सकेको छैन । कति टोलमा त घरैपिच्छेजसो बिरामी छन् ।

डेंगुविरुद्ध अभियान 

त्यहाँको प्रदेशसभाले धरानलाई ‘डेंगु संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । धरान उपमहानगरले ८ र १५ नम्बर वडालाई ‘स्वास्थ्य संकटग्रस्त क्षेत्र’ तोकेको छ ।

रोग संक्रमण दर दिनहुँ बढ्दो छ । सुरुमा मोरङ र झापासम्म फैलिएको डेंगु पछिल्लो समय हेटौंडा र चितवनमा पनि देखिइसक्यो । रोकथाम र नियन्त्रणका गतिविधिले काम गरेका छैनन् । जनचेतना अभियान फिक्का बनेका छन् । सर्वसाधारणले सिकेका कुरा व्यवहारमा उतारेका छैनन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘र्‍यापिड रेस्पोन्स टिम’ ले जमेको सफा पानीमा लामखुट्टेले पारेका अन्डा, लार्भा र प्युपा नष्ट गर्ने तरिका सिकाए पनि स्थानीयवासीले त्यसलाई प्रयोगमा ल्याएनन् । नियन्त्रणमा समस्या देखिएको प्रमुख कारण यही हो ।

एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातका पोथी लामखुट्टेले पानीमा पारेका अन्डा, लार्भा र प्यूपा नष्ट नगरेसम्म डेंगु नियन्त्रण हुँदैन । धरानवासी भने लामखुट्टे मार्न फगिङ (कीटनाशक औषधि छर्कने) मा मात्र केन्द्रित छन् । फगिङ लामखुट्टे मारे पनि डेंगु नियन्त्रणमा प्रभावकारी हुँदैन । यसले अन्डा, लार्भा, प्युपा नष्ट गर्न सक्दैन । फेरि, यो प्रविधि विश्व स्वास्थ्य संगठनद्वारा प्रतिबन्धित पनि हो । मानव स्वास्थ्यका लागि समेत हानिकारक यसले प्रकृतिका मित्र मानिएका पुतली, किराफट्याङ्ग्रा जस्ता साना जीव पनि मार्छ ।

सुरुमा संघ र प्रदेशबाट गएका टोलीले ‘सर्च एन्ड डेस्ट्रोय’ (खोजी र नष्ट) अभियान चलाए । तीन सातासम्म विभिन्न सरकारी, गैरसरकारी संघसंस्था पनि सक्रिय भए । अहिले भने सरकार र संघसंस्थाहरू सुस्ताएका छन्, स्थानीयवासी आफैं पनि सक्रिय छैनन् । डेंगुबारे जानकार उनीहरूलाई नियन्त्रणका उपाय पनि थाहा छ । यो कस्तो रोग हो र कसरी बच्न सकिन्छ भन्ने पनि जान्दछन् । लामखुट्टेका अन्डा, लार्भा, प्युपा नष्ट गर्ने तरिका जानेका उनीहरू यो काम अरूले नै गरिदेओस् भनेजस्तो गर्छन् । जेमा पनि सरकारको मुख ताक्ने यो प्रवृत्ति निकै घातक छ । यसको मारमा उनीहरू आफैं परेका छन् ।

डेंगु लामखुट्टेजन्य भाइरल संक्रमण हो । संक्रमित बिरामीलाई शरीर, हात, जोर्नी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, आलस्य हुने, रिंगटा लाग्ने, बान्ता हुनेजस्ता समस्या देखिन्छन् । प्रभावित क्षेत्रका बासिन्दाले यी लक्षणलाई सामान्य ठानेर हेलचेक्र्याइँ गर्नु हुँदैन । चिकित्सकसँग सल्लाह गरेर डेंगु परीक्षण गराउनुपर्छ । रोगको उपचार सम्भव छ ।

३५ हजार घर भएको धरानमा यसको नियन्त्रण सहज छैन । सरकारले रोगको उपचार र नियन्त्रणका उपायहरू एकसाथ अपनाउन आवश्यक छ । खासगरी लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान प्रभावकारी बनाउनुपर्छ । ‘खोजी र नष्ट’ अभियान घरैपिच्छे चलाउनुपर्छ । यस अभियानमा नागरिकस्तरबाट पनि घरलौरी सहभागी हुनुपर्छ । सरकारी प्रयासले मात्र यो काम सम्भव छैन, प्रभावित क्षेत्रका राजनीतिकर्मी, सामाजिक कार्यकर्ता, पेसाकर्मी, शिक्षक र विद्यार्थीले पनि आवश्यक पहलकदमी लिनुपर्छ ।

सबैले एकसाथ अभियान थाले मात्रै सहजै डेंगु नियन्त्रण गर्न सकिन्छ । धरानवासीले लामो समय पानी जम्मा गरेर राखेकाले त्यसैमा डेंगुका लार्भा देखा परे । खानेपानी अभाव भएकाले पानी फ्याँक्न पनि मानेनन् । यसैबाट लामखुट्टे बढ्दै गए, संक्रमण फैलँदै गयो । यो भूलबाट स्थानीयवासीले सिक्नुपर्छ । घर वरपर सफा राखी पानी जम्न दिनु हुँदैन । घर, कार्यालयका फ्रिज, एसी, कुलर र गमला राख्ने प्लेटलगायतमा जम्मा भएको पानीमा रहेका लार्भा नष्ट गर्नुपर्छ । मनसुन सक्रिय होउन्जेलसम्म यसको खतरा रहिरहन्छ, तसर्थ, सबैले सचेत पाइला चाल्नुपर्छ ।

धरानमा मात्र नभई डेंगु संक्रमण जसरी विभिन्न प्रदेशमा तीव्र रफ्तारमा बढेको छ, त्यसलाई दृष्टिगत गरी केन्द्र सरकारले नियन्त्रणका लागि तुरुन्तै प्रत्यक्ष कदम चाल्नुपर्छ । संक्रमितको उपचारसँगै थप फैलिन नदिन केन्द्र, प्रदेश र स्थानीय तीनवटै तहले समुदायहरूको समेत सहभागितामा तत्काल एकीकृत अभियानमा जुट्नुको विकल्प छैन ।

प्रकाशित : श्रावण २२, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?