कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सत्ताका लागि 'नायक’

डेटलाइन तराई
चन्द्रकिशोर

भारतमा स्वतन्त्रतापछि महात्मा गान्धी र जवाहरलाल नेहरूले नायकका रूपमा गरिमा पाए । एक ‘बापु’ र अर्का ‘चाचा’ भनेर चिनिए । गान्धीले भारतीय स्वतन्त्रता आन्दोलनलाई फराकिलो गरी भुइँ सतहसम्म पुर्‍याए । विशाल भारतको विविधतायुक्त बनोट भएका बासिन्दालाई एक ठाउँमा उभ्याए । आम मानिसमा रहेको भयलाई हटाए र शान्तिपूर्ण सङ्घर्षका निम्ति गोलबन्द पारे ।

सत्ताका लागि 'नायक’

नेहरूले लोकतन्त्र संस्थागत गर्ने प्रारम्भिक वर्षहरूमा मार्गदर्शक र मेन्टरको काम गरे । सन् १९६० को दशकसम्म अखिल भारतीय राष्ट्रिय चेतनामा गान्धी र नेहरूको अत्यधिक प्रभाव रह्यो । एकलौटी भने पनि हुन्छ । त्यही दशकमा अमेरिकी विद्वान एलेनाँर जेलियटले अम्बेडकर र महाराष्ट्रको ‘महार आन्दोलन’ बारेमा एउटा राम्रो शोध प्रबन्ध लेखे, तर उनले प्रकाशक भेटाउन सकेनन् ।


कालान्तरमा कांग्रेसले विभिन्न प्रान्तहरूबाट सत्ता गुमाउँदै गयो । सन् १९७७ पछि त केन्द्रीय सत्ताबाट समेत फ्याँकिने क्रम सुरु भयो । नयाँ राजनीतिक शक्तिको उदयसँगै नयाँ–नयाँ नामहरू प्रस्तुत गर्न थालिए । इतिहासको पुनर्मूल्यांकनबाट सबभन्दा बढी लाभ अम्बेडकरले पाए । अब अम्बेडकरमाथि किताब लेख्ने कुनै व्यक्तिलाई प्रकाशकको कमी छैन ।


नेपाली सन्दर्भमा यस्तै किनारा पारिएका अनेकौं पात्रहरू छन् । गणेशमान सिंह वा महेन्द्रनारायण निधिलाई सम्झिन तिनका भौतिक उत्तराधिकारी नै अगाडि सर्नुपर्छ । शासकीय संरक्षण पाउन नेपाली कांग्रेसका बीपी कोइरालाजस्तै एकथरी वामपन्थी खेमामा मदन भण्डारी अग्रपंक्तिमा रहे । निश्चित रूपमा यी दुई नाम बहुस्वीकार्य रहे, तर यिनीहरूकै अगुवाइमा भएका सङ्घर्षहरूमा जिल्ला, क्षेत्र र राष्ट्रिय तहमा खटिएका अनेकौं पात्रहरू उसै छुटे । तिनलाई दलीय शक्ति सन्तुलनको खेलमा लात मारे जस्तै भयो । मधेसको राजनीति गर्नेहरूका लागि गजेन्द्रनारायण सिंह, रामजनम तिवारी वा बलदेव राम नयाँ पिढीका लागि मुख्य प्रेरणाका स्रोत हुन् । तर मधेसबाट राजनीतिक साधना गर्नेहरू यी नाम लिन पन्छिन थालेका छन् ।


अहिले केही ठाउँ विशेषमा बीपी र पुष्पलाललाई सँंगसंँगै सम्झिने क्रम सुरु भएको छ । तिनको योगदानलाई अहिलेका चुनौतीहरूसंँग जोडेर हेर्ने र साझा पुनर्मूल्यांकन गर्ने जमर्को देखिएको छ । जुनसुकै कोणबाट भएका यस्ता प्रयत्नहरूको तारिफ गर्नुपर्छ । देवत्वकरण भने कसैको गरिनु हुँदैन ।


आफ्नो समयको सीमा र सम्भावनाबाट कोही पनि मुक्त हुँदैन । भू–राजनीतिले थिचिएको हाम्रोजस्तो मुलुकमा पात्रहरूको उदय र पतन साँप–सिँढीको खेलजस्तै हुने गर्छ । को कति समय सत्तामा बसे वा सत्तालाई दबाब दिए भन्दा पनि समग्रतामा तिनको प्रतिबद्धतालाई हेर्नुपर्छ । भोलि महेन्द्रनारायण निधि वा भीमबहादुर तामाङबारे वामखेमाले र मनमोहन अधिकारी वा मातृकाप्रसाद कोइरालाकै बारे कांग्रेसले चरितमन्थन गरे हुन्छ ।


कुनै मुलुकको निर्माण र उन्नतिमा त्यसका नायकहरूको अहम् भूमिका हुने गर्छ । केही नायक समय, विचारधारा र आन्दोलनभन्दा माथि पुग्छन् । केहीको छवि कुनै आन्दोलन विशेष, शासकीय मनसुबा वा तत्कालीन सामाजिक–आर्थिक परिस्थितिले कोर्छ । नेपाली समाज अहिले यिनै द्वन्द्वहरूबाट गुज्रिरहेको छ । कोहीले आफैं नायक बन्न प्रशस्ति गानमा अनेकौं गिरोह निर्माण गरेका छन्, कोहीले आफू बलियो हुन इतिहासको बन्द किताबबाट झिकेर कुनै पात्रलाई शिरोधार्य गरेका छन् । इतिहासका नायकहरूलाई आफ्नो कित्तामा कब्जा गर्न लुछाचुँडी पनि हुँदै छ ।


विभिन्न क्षेत्र, समुदाय र जात विशेषको जागरुकताले आफ्नोमाझ आफ्नै नायक प्राप्तिको चाहना छ । दल विशेष वा दलकै गुट विशेषले आ–आफ्नो कित्ताको नायक पुज्ने गरेका छन् । यही खिचातानीले होला, नायकहरूमाथि कतिपय कोणबाट प्रतिशोध साध्ने काम पनि भइरहेको छ । नायक त्यो पात्र हो, जसले बृहत रूपमा आफ्नो काम, विचार, सिर्जना वा उत्सर्गले समयलाई प्रभावित पार्‍यो । र प्रभावित हुनेहरूले उसको गोरेटोलाई पछ्याउने प्रतिबद्धता राख्छन् ।


राष्ट्रिय जीवनका प्र्र्रत्येक क्षेत्रमा यस्ता नायक छन् । तर राजनीतिमा लागेकाहरूको श्रेष्ठता बढी देखाइने गरिन्छ । कैयौं बेला राजनीतिक लाभहानिको लेखाजोखा गरी अन्य क्षेत्रका पात्रलाई पनि अगाडि सारिन्छ । देश र जनतालाई बलियो बनाउने कार्यलाई राजनीतिले अगुवाइ गरे पनि अन्य क्षेत्रको भूमिका कम हुँदैन ।


सेनाको संरचनाबारे एउटा भनाइ चर्चित छ, ‘अफिसर दुई किसिमका हुन्छन् । एउटा लोयल लेफ्टिनेट्स र गुड केप्टेन्स’ । सामान्य अर्थमा यसको अनुवाद गरेर अर्थ्याउँदा ‘बफादार’ र ‘काबिल’ भन्न सकिन्छ । तानाशाहीका लागि लोयल लेफ्टिनेन्ट र युद्ध जित्नका लागि गुड क्याप्टेन आवश्यक पर्छन् । अहिलेको दलीय राजनीतिमा पनि दलभित्र आलोचनात्मक चेतभन्दा शीर्ष र तृण तहबीच निर्माण भएको स्वार्थहरूको माकुरा जालोबाट ‘नायक’ निर्माण हुन पुग्छ ।


जबकि यस्ता नायक तिनकै राजनीतिक समूहभित्र स्वीकार्य हुँदैनन् । नायक बन्ने आकांक्षा र स्वार्थ अभिप्रेरित बनाइएको नायकत्वको प्रतिमा कतिपय अवस्थामा समयको धुलोमा ढाकिन पुग्छ । कोही यस्ता पनि पात्र हुन्छन्, जसलाई अतीतको अँध्यारो गुफाबाट प्रतिबद्ध अभियन्ताले खोजेर ल्याउँछन् र वर्तमानलाई चिनाउँछन् ।


शासकीय सत्ता वा राजनीतिक सत्ता जसको हातमा रहन्छ, तिनले आफूले रोजेका पात्रको कदभन्दा अग्लो छवि खडा गरिदिन्छन् । सत्ताले आमजनमा लोकप्रिय धारणा निर्माण गर्न सहयोगी पक्षको भूमिका खेल्छ । कतिपय अवस्थामा जनआन्दोलनले सत्ताद्वारा निर्मित नायक छवि भएका पात्रहरूको मानसमूर्तिलाई भञ्जन गरिदिन्छ ।


नेपाली इतिहास नायकहरूको खोजी, रोजाइ र भञ्जनको प्रयोगशाला रहँदै आएको छ । यो प्रवृत्तिमा पूर्णविराम लाग्ने छैन । जागृत चेतनाले जसरी अतीतको उत्खनन गरिरहेको छ, त्यसैगरी पात्रहरूप्रतिको हेराइमा बदलाव आउँदै छ । राजनीतिक दल र सामाजिक आन्दोलनले यसमा महत्त्वपूर्ण भूमिका खेल्छ । देशको अतीतलाई वर्तमानमा कसरी रेखांकित गर्ने ?


संगठित शक्ति वा आन्दोलनले अतीतलाई जसरी पस्किने गर्छ, त्यसबाट पनि पात्र परिचयको नवभावभंगिमा खडा हुन्छ । यदाकदा कैयौं महत्त्वपूर्ण पात्रहरू समय सन्दर्भमा ओझेल पर्दै जान्छन् । कतिपय कम योगदान गरेकाहरू भने कुनै अभीष्टको भर्‍याङमार्फत ठूलो कदका बनाइन्छन् । कोही संकीर्ण स्वार्थको आँखीझ्यालबाट चियाएर ऐतिहासिक पात्रलाई हेर्छन् र मनचाहा व्याख्या गर्छन् । शक्तिको खेलमा अहिले यो शतरञ्ज खुब चलेको छ ।


मूलभूत रूपमा लोकतान्त्रिक गणतन्त्रमा मुलुकलाई जोड्ने सूत्रहरू यस्ता पात्र विशेष हुन्, जसले नेपालको सशक्तिकरणका लागि आजीवन भूमिका खेले । स–सानो कचौरामा पात्र विशेषको तस्बीर राखी राजनीतिक शक्ति खोजी गर्ने मगन्ते शैलीले लोकतन्त्रलाई बलियो बनाउँदैन । तर सत्ता राजनीतिले अहिले यस्तै प्रवृत्तिलाई प्राथमिकतामा राखेको छ ।


[email protected]

प्रकाशित : श्रावण २३, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?