कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक सुरक्षामा लापरबाही 

सम्पादकीय

भनिन्छ, सार्वजनिक सवारी चालकको जिम्मेवारी शल्यचिकित्सकको भन्दा बढी हुन्छ । कुनै शल्यचिकित्सकले एक पटक त्रुटि गर्‍यो भने एउटा बिरामीको ज्यान तलमाथि हुन्छ । तर सार्वजनिक सवारी चालकको हातमा गाडीमा सवार र पैदलयात्रीको समेत ज्यान अडिएको हुन्छ । उसको एउटै गल्तीले कैयौंको ज्यान लिन सक्छ । 

सडक सुरक्षामा लापरबाही 

उसै पनि हाम्रा सडकहरू राम्रा छैनन् । ‘कन्डिसन’ मा नभएका गाडीहरू पनि उत्तिकै प्रयोगमा छन् । त्यसमाथि, राज्यदेखि सार्वजनिक सवारीधनीसम्मले चालक पक्षलाई अति गौण मानेर नागरिकको जीवनमाथि खेलबाड गरिरहेका छन् । परिणाम, सडक सुरक्षाको अवस्था भयावह छ । गत शुक्रबार बिहान मात्रै सर्लाहीबाट काठमाडौंमा आइरहेको बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा १७ जनाको ज्यान गयो, २२ बेपत्ता छन् ।


मुलुकमा यस्ता साना–ठूला दुर्घटना दिनहुँ भइरहन्छन् । प्रहरीका अनुसार दैनिक औसत सात जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । यो संख्या माओवादीको दसवर्षे सशस्त्र युद्धमा ज्यान गुमाउनेको भन्दा पनि ठूलो हो । तैपनि न्यूनीकरणका सार्थक उपाय अपनाइएका छैनन् ।


यस्ता धेरैजसो दुर्घटना चालकको लापरबाहीले हुने गरेका छन् । शुक्रबारकै घटनामा पनि मलंगवाबाट बिहीबार साँझ छुटेको बस १४ किमि वर हरिवनसम्म सवारीधनीले चलाएका थिए । त्यसपछि दुर्घटनास्थल धादिङको बेनीघाटसम्मको दूरी करिब २५१ किलोमिटरसम्म चालक एक्लैले हाँकेका थिए । सडक सजिलै भएको स्थानमा दुर्घटना भएकाले बिहानीपख चालक निदाएको हुन सक्ने अनुमान घाइतेहरूको छ ।


यसरी चालकहरूका कारण दुर्घटना निम्तिनुमा उनीहरूको असावधानी मात्र दोषी छैन, राज्य र सवारी सञ्चालकहरूको हेलचेक्र्याइँ पनि उत्तिकै जिम्मेवार छ । चालक अनुमतिपत्र वितरणदेखि नै कमजोरी सुरु हुन्छ । दुर्घटना न्यूनीकरण गर्न कानुनी व्यवस्था पालना गरिँदैन । सवारी तथा यातायात व्यवस्था ऐनले लामो बाटोमा चल्ने सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राखी प्रत्येक ६ घण्टामा पालो फेर्नुपर्ने व्यवस्था गरेको छ । तर एउटै चालकले हजार किलोमिटरभन्दा बढी निरन्तर चलाइरहेका छन् ।


चालकको श्रमशक्तिको सीमा र उसको हातमा अडिएका कैयौं यात्रुको जीवनबारे सवारीधनीहरूले मनन गरेका छैनन् । लामो दूरीमा

दुई चालक चाहिनुको संवेदनशीलतालाई उनीहरूले बुझ्न सकेका छैनन् । अर्को चालक थप्नुभन्दा जरिवाना तिर्नु या ट्राफिक प्रहरीलाई प्रभाव पार्नु सस्तो पर्ने भएर हुन सक्छ, उनीहरूले यात्रुलाई जोखिमपूर्ण यात्रा गराइरहेका छन् । दुइटा चालक हुँदा एउटा थाक्दा वा निदाउन खोज्दा अर्कोले पालो दिन सक्छ तर एउटा मात्र हुँदा जबर्जस्ती नकुदाइ धरै हुँदैन ।


न नयाँ उपाय अपनाइएको छ न पुराना व्यवस्थाको उचित कार्यान्वयन । लामो दूरीमा चल्ने सवारीले प्रत्येक चार घण्टामा आधा घण्टा विश्राम गर्नुपर्ने कानुनी व्यवस्थाको पनि पालना गरिएको छैन । नियम उल्लंघन गर्ने सवारीलाई घटनास्थलमै कारबाही गर्ने अधिकार तोकिएको यातायात निरीक्षक त एक जना पनि छैन । सबै काम गरिरहेको ट्राफिक प्रहरीको दरबन्दी पनि सवारी संख्याको तुलनामा न्यून छ ।


चालकहरूलाई मनोवैज्ञानिक प्रशिक्षणको खाँचो छ । उनीहरू बढी नै आत्मविश्वास प्रदर्शन गर्छन्, अस्वस्थ प्रतिस्पर्धा उत्तिकै छ । जबकि, सडकको अवस्था नाजुक छ, हरेक ठाउँमा प्रहरी बस्न सम्भव छैन । प्रहरी उपस्थित नभएको ठाउँमा पनि नियम पालना गर्ने प्रणाली बसाउनुपर्ने चुनौती छ ।


हाम्रोमा मूल्यांकन प्रणाली पनि छैन । कतिपय देशमा ३ पटक गल्ती गर्ने चालकको अनुमतिपत्र नै रद्द गरिन्छ । हाम्रोमा त्यस्तो व्यवस्था छैन । कति देशमा कुनै पनि गल्ती नगरेका चालकको अनुमतिपत्र निःशुल्क नवीकरण गरिन्छ । यस्तो पुरस्कारको व्यवस्था पनि हामीले गरेका छैनौं ।


सवारी चाप बढेको बढ्यै गर्ने, सडक अवस्था उस्तै रहने र चालक पक्षमा ध्यान नपुर्‍याउने हो भने सवारी दुर्घटना अझ बढी रहन्छ । तसर्थ ठूला घटनामा चासो देखाउने र फेरि उसैगरी भुल्ने चलन अन्त्य गर्नुपर्छ । सडक सुरक्षासित जोडिएका सबै पक्षको सुधार नै दुर्घटना न्यूनीकरणको सर्त हो । यसका लागि अरू कति मुलुकले जस्तै सडक सुरक्षा हेर्ने छुट्टै निकाय गठनतर्फ पनि पाइला चाल्नुपर्छ ।

प्रकाशित : श्रावण २७, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?