कश्मीरी ऐनामा हिन्दू राष्ट्रवाद

लसकुस
राजेन्द्र महर्जन

काठमाडौँ — अडोल्फ हिटलर जर्मनीको चान्सलर भएको चार साता पनि नबित्दै १९३३ फेब्रुअरीमा ‘राइखस्ट्याग’ मा अचानक आगो लाग्यो । जर्मन सरकारविरुद्ध षड्यन्त्र गर्ने क्रममा बर्लिनस्थित संसद् भवनमा आगो लगाएको आरोपमा कम्युनिस्टहरूलाई व्यापक दमन गरियो ।

अन्ततः राइखस्ट्यागको आगोमा ‘नाजी जर्मनी’ (राष्ट्रिय समाजवादी जर्मनी) निर्माणको रोटी भकाभक सेकियो । श्रमिकहरूको राष्ट्रिय समाजवाद स्थापनाका नाममा नागरिक अधिकारको विनाश एवं लाखौंलाख कम्युनिस्ट, यहुदी र मजदुरकै संहार गरियो ।

राइखस्ट्याग आगलागीलाई जसरी नाजी जर्मनी स्थापनाका लागि दुरुपयोग गरियो, हिटलरलाई महान् नेता मान्ने भाजपाको सरकारले पनि जम्मु–कश्मीरमा जेहादीहरूले आक्रमण गर्न लागेको हल्लालाई भरपूर दुरुपयोग गर्‍यो । पन्ध्र–बीस दिनअघि जैस–ए–मोहम्मदका जेहादीहरूले अमरनाथका दर्शनार्थी हिन्दूहरूमाथि हमला गर्न लागेको हल्ला भारतीय मिडियामा फैलाइयो । र, सात लाख फौजको तैनाथीसँगै ‘सशस्त्र क्याम्प’ मा फेरिएको कश्मीरमा ४० हजारभन्दा बेसी सुरक्षाबललाई ओरालियो । र, कश्मीरको सम्पूर्ण जनजीवनमाथि कब्जा जमाइयो, हमलाको प्रतिकार गर्ने निहुँमा ‘पुलिस स्टेट’ बनाइयो ।

४ अगस्टमा भाजपाका बाहेक सबै नेता–कार्यकर्तालाई रातारात घर वा जेलमा बन्द गरेपछि मोदी–शाह सरकारले हमलाको रहस्य खोल्यो । गृहमन्त्री अमित शाहले हठात् घोषणा गरे— अबदेखि जम्मु–कश्मीरको विशेषाधिकार खत्तम गरिएको छ, त्यसको ‘स्टेट’ (प्रदेश) को हैसियत समाप्त पार्दै ‘युनियन टेरिटरी’ (केन्द्रशासित एकाइ) मा झारिएको छ । जम्मु–कश्मीर र लद्दाखजस्ता केन्द्रशासित दुई एकाइमा विभाजन गरिएको छ ।

यसरी जादुगरले रहस्यको पर्दा खोलेपछि थाहा भयो— खासमा जेहादीहरूको हमलाको हल्ला, सघन सेनाको तैनाथी, व्यापक गिरफ्तारी र जनदमन त यही घोषणाका कारण हुन सक्ने कश्मीरी जनताको प्रतिरोधलाई मत्थर पार्न चालिएको नियोजित पूर्वकारबाही (प्रि–एम्पटिभ एक्ट) पो रहेछ !

जम्मु–कश्मीर र कश्मीरी जनताको हालत हातखुट्टा बाँधेर, मुख थुनेर बलात्कृत भएको व्यक्तिको जस्तो छ, जो स्वायत्तता र आत्मनिर्णयका लागि भरमग्दुर प्रतिरोध गर्दै छन् । बलात्कारीजस्तै देखिएका शासकहरू देशलाई एक गरिएको, जेहादीहरूबाट जनतालाई मुक्त गरिएको र सर्वत्र विकासको लहर ल्याइएको हुँकार भर्दै छन् । देशभरि नै विपक्षी विचार र फरक मतमाथि दमन, मिडियामार्फत मिथ्या प्रचारबाजी तथा ‘भारत माता की जय’ को उद्घोषसँगै ‘राष्ट्रिय एकता’ को विजयोत्सव मनाइँदै छ ।

'राष्ट्रिय एकता' को पुलिन्दा
जब–जब शासन र सरकारमाथि संकट आइलाग्छ, त्यस संकटबाट जनताको ध्यान मोड्न भारतीय शासकहरू पाकिस्तानी आक्रमण वा आतंकवादी हमलाको प्रचारबाजीमा जुट्छन् । र, उनीहरू जोडतोडले ‘राष्ट्रिय एकता’को नारा लगाउँदै आफ्नै जनता, समुदाय र जातिमाथि, उनीहरूका हक–अधिकारमाथि नै आक्रमण गर्न पुग्छन् । उनीहरूमा ‘राष्ट्रिय एकता’ भनेको सीमाको सुरक्षा वा भूभागको रक्षाको रूपमा बुझ्ने प्रवृत्ति प्रबल छ । त्यस्तै, एक धर्म, एक जाति, एक भाषाको राष्ट्र निर्माणको रटना लगाउने र हिन्दू बहुसंख्यकवादको दम्भसहित मुस्लिमहरूलाई पराईकरण गर्ने दृष्टिदोष अन्धताको हद नाघ्ने मात्रामा व्याप्त छ ।

भाजपाको पूर्वदल जनसंघ र त्यसको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले ‘हिन्दू, हिन्दी र हिन्दूस्थान’ लाई मूर्त रूप दिन लगभग सय वर्षदेखि अभियान चलाउँदै आएको छ । १९४७ मा विशेष स्थितिमा जम्मु–कश्मीर भारतको हिस्सा भएपछि आरएसएसका अगुवा एवं जनसंघका संस्थापक डा. श्यामाप्रसाद मुखर्जीले ‘एक देशमा दुई निसान, दुई विधान र दुई प्रधान चल्दैन’ भन्दै राजनीतिक अभियान चलाएर ज्यान दिएका थिए ।

राजनीतिक मनोविश्लेषक आशिष नन्दी भन्छन्, आरएसएसदेखि भाजपासम्मका नेताहरूको दिमागमा रहेको राज्यको अवधारणा र कल्पना ‘नेसन–स्टेट’ (राष्ट्र–राज्य) सँग जोडिएको छ । कुनै एक जाति, भाषा, धर्म, पन्थ, समुदायलाई मियो मानेर राष्ट्र–राज्य बनाउने अवधारणा युरोपबाट सर्लक्कै आयात गरिएको हो ।

युरोपमा राजतन्त्रको समाप्तिसँगै एक भाषा र एक जातिका आधारमा स्थापित राष्ट्र–राज्यकै चूडान्त हो— हिटलरले स्थापना गर्न खोजेको शुद्ध आर्य नश्लले भरिएको एकल जर्मन राज्यको विश्व साम्राज्य । स्वस्तिकधारी हिटलरजस्तै आर्य नश्लको पक्षधर आरएसएसका विचारक विनायक दामोदर सावरकरदेखि भाजपाका नेता नरेन्द्र दामोदरदास मोदीहरूले हिन्दू राष्ट्रवादको सिद्धान्तको जगमा स्थापना गर्न खोजेको पनि हिन्दू धर्म र हिन्दी भाषाको प्रभुत्व भएको हिन्दूस्थान राज्य नै हो ।

जसरी इस्लाम धर्मावलम्बी मुसलमानहरूका लागि ‘पाक–स्तान’ (शुद्ध वा पवित्र स्थान) बन्यो, हिन्दू धर्म मान्ने र हिन्दी भाषा बोल्नेहरूका लागि असली हिन्दूस्थान निर्माण गर्ने राज्यको अवधारणा र कल्पनामा खासै भिन्नता छैन । त्यही कारण मुसलमानलाई गाई काटेको, मारेको, बेचेको र खाएको आरोपमा, पाकिस्तानी एजेन्ट वा आतंकवादीको सहयोगी भएको निहुँमा प्रताडना र हत्या गरिँदै छ ।

आशिष नन्दीको भाषामा, भारतलाई १९५० को अमेरिकालाई जस्तै ‘गैरन्यायिक हत्याको राजधानी’ (लिन्चिङ क्यापिटल) बनाइँदै छ, जसको विस्तार जम्मु–कश्मीरका मुसलमान प्रतिरोधीहरूको हत्या र दमनमा प्रकट हुँदै छ । इस्लाम धर्मावलम्बीहरूको बाहुल्य भएको जम्मु–कश्मीरको विशेषाधिकारप्रति वितृष्णा र आक्रोशले भरिएको हिन्दू राष्ट्रवाद राष्ट्रिय एकताको लोभलाग्दो मनमोहक ब्यानरमा संविधानको धारा ३७० को संशोधनबाट नराम्ररी पोखिएको छ ।

जम्मु–कश्मीरमा कर्फ्यु, हत्या र गिरफ्तारीबीच आम कश्मीरीलाई प्रदर्शन, ढुंगामुढा र नाराबाजीका लागि निम्तो दिएर ‘एकता’ हुन्छ ? फरक धर्मावलम्बी भएकै कारण पाइला–पाइलामा अपमान, यातना र हत्याको त्रास बोकी बाँच्न विवश स्वदेशी मुसलमानका लागि आफ्नै प्रदेश र देशलाई वधशालामा फेरेर देशमा अमनचैन कायम हुन्छ ? राज्यशक्ति र स्रोतसाधनमा पहुँच, प्रतिनिधित्व र प्रभुत्वलाई खारेज गरियो भने सत्तासीनहरूका भन्दा भिन्न जाति, धर्म, भाषा, संस्कृतिका मानिसहरूका मनमस्तिष्क जोडिन्छन् ?

यस्ता अनेक जल्दाबल्दा प्रश्न उठ्ने गरी संविधान संशोधनका नाममा मुसलमानहरूले चाहेको आत्मनिर्णय, स्वायत्तता र स्वशासनलाई सैनिक बुटले कुल्चिएको छ । खासमा नियोजित रूपमा भिन्न जाति, धर्म, भाषा, संस्कृतिका समुदायलाई ताकेर चलाइएको बहिष्करण र सीमान्तीकरणको राष्ट्रिय अभियानलाई भारतीय राष्ट्रपतिले मोहर लगाएका छन् ।

धर्मनिरपेक्षता र संघीयतामाथि हमला
यस अभियानका क्रममा भारतीय संविधान र लोकतन्त्रका मुख्य सिद्धान्त र मूल्यमान्यतामाथि प्रहार भएको छ । तीमध्ये एक हो— धर्मनिरपेक्षता । भारतीय संविधान र त्यसलाई लागू गर्ने राज्यले लामो समयदेखि धर्मको मामिलामा सबै धर्मलाई समभावले साथ हेर्ने धर्मनिरपेक्षतालाई अँगाल्दै आएको थियो ।

स्वतन्त्रता संग्रामका प्रमुख अगुवा, भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले ‘सर्वधर्म समभाव’को नीतिलाई राज्य–नीतिका रूपमा अख्तियार गरेका थिए । उनकी छोरी इन्दिरा गान्धीले त्यसलाई संवैधानिक रूप दिएकी थिइन्, जबकि मोहनदास करमचन्द गान्धीदेखि इन्दिरा गान्धीसम्ममा हिन्दू धर्म र त्यसको राजनीतिक उपयोगप्रतिको मोह कम थिएन ।

१९४८ मा मोहनदास करमचन्द गान्धीको हत्या गर्ने नाथुराम गोड्सेको हिन्दू राष्ट्रवादी संगठन आरएसएसदेखि भाजपासम्मलाई ‘सर्वधर्म समभाव’ पनि स्वीकार्य छैन । त्यही अस्वीकार्यता राष्ट्रिय रूपमा ‘हिन्दू, हिन्दी र हिन्दूस्थान’को प्रभुत्व र स्थापनाका रूपमा अभिव्यक्त हुँदै छ । र, क्षेत्रीय रूपमा एक राज्य वा एक प्रदेशको अवमूल्यन र त्यहाँको शासनमा एक धर्म वा एक सम्प्रदायको दाबीको प्रकट हुँदै छ ।

इतिहासको कुनै जमानामा हिन्दू शासकहरूले राज गरेको तथ्यकै आधारमा अब हिन्दूहरूले नै शासन गर्नुपर्ने जिद्दीमा हिन्दू राष्ट्रवादबाहेक केही देखिँदैन । मुस्लिमबहुल जम्मु–कश्मीरमा हिन्दूहरूले शासन गर्न पाउनुपर्ने, त्यहाँको जग्गाजमिन किन्न पाउनुपर्ने र त्यहाँका तरुनीहरूसँग बिहे गर्न पाउनुपर्ने मागमा मर्दवादी राष्ट्रवादको दुर्गन्ध छँदै छ, आन्तरिक उपनिवेशवादको हुँकार पनि मिसिएको छ ।

हिन्दू राष्ट्रवादले खाएको लोकतन्त्र
संविधान संशोधनका कारण भारतमा अभ्यास गरिएको संघीयता मृततुल्य भएको छ । मोदी–शाह अगुवाइको हिन्दू राष्ट्रवादले केन्द्र र केन्द्राध्यक्षलाई शक्तिशाली बनाउँदै संघीयतालाई बनारसको घाटमा लगिसकेको छ । हिन्दू राष्ट्रवादले संसारलाई नै देखाइसकेको छ, अब हङकङजस्तै विशेषाधिकार प्राप्त प्रदेशलाई समेत मनपरी टुक्र्याउने, प्रदेशको हैसियतलाई खुम्च्याएर अण्डमान–निकोबारलाई जस्तै केन्द्रशासित एकाइमा झार्ने र प्रदेशहरूमा केन्द्रका कुनै जागिरेले शासन गर्ने काम बायाँ हातको खेल हुनेछ ।

राजनीतिक–धार्मिक फाइदाका लागि उत्तर प्रदेशलाई रातारात अनेक प्रदेशमा बाँडियो भने, सीमित विशेषाधिकार प्राप्त प्रदेशहरूका अधिकार खोसियो भने, कुनै पनि प्रदेशलाई केन्द्रशासित एकाइमा झारियो भने पनि अनौठो हुनेछैन । त्यसका लागि लोकतान्त्रिक पद्धतिद्वारा प्रदेशवासीका मत र भोट संग्रह गर्नु पनि आवश्यक हुनेछैन, प्रदेशसभाको सहमति लिनु पनि जरुरी हुनेछैन ।

केन्द्रमा बहुमत भएपछि धर्मनिरपेक्षता र संघीयतालाई पनि चिहानमा गाड्ने तथा हिन्दू धर्मावलम्बी र हिन्दीभाषीहरूको हिन्दूस्थान बनाउन सक्ने खालको ‘तन्त्र’ को अभ्यास तीव्रतर छ । त्यसका लागि हिन्दू राष्ट्रवादका आधारमा मिडिया र सोसल मिडियाबाट सहमतिको निर्माणसँगै भुइँतहमा जीवनका सबैजसो पक्षमा व्यापक जनसंगठन, त्यसको सेरोफेरोमा आँखा चिम्लेर मर्न–मार्न तयार जुझारु कार्यकर्ताको विशाल पंक्तिको परिचालन व्यापक रूपमा जारी छ ।

यो सबैभन्दा ठूलो लोकतान्त्रिक देशमा लागू भएको कुनै पनि रूपरंगको लोकतन्त्र होइन, यो खासमा हिन्दू राष्ट्रवादको आवरणमा क्रियाशील रहेको फासीवाद हो । हिटलरले आर्य नश्लको सर्वोच्चताका नाममा अभ्यास गरेको फासीवादले देश–काल–परिस्थिति अनुसार अनेक रूपरंग धारण गर्छ ।

अमेरिकामा श्वेत श्रेष्ठतावादको आवरणमा होस् या भारतमा हिन्दू राष्ट्रवादको मुकुन्डोमा, फासीवादले सर्वग्रासी चरित्र देखाउँदै छ । घृणाको राजनीति गर्ने फासीवादले आफूभन्दा इतरको कसैलाई पनि माया गर्दैन, देशभित्र होस् या बाहिर । लोकतन्त्रको हत्यालाई कुनै देशको आन्तरिक मामिला भन्दै, ऊसँग धार्मिक राजनीति मिल्यो भन्दै मौनव्रत बस्दैमा उसले अरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्न फनि छोड्दैन ।

प्रकाशित : श्रावण २९, २०७६ ०९:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

'रिभेन्ज पोर्न' पनि 'साइबर रेप'

रिबेका वेल्स

काठमाडौँ — अप्रिल २००८ मा मैले पहिलो पटक तनाव कम गर्नका लागि औषधि सेवन गर्न थालेंँ । त्यसले मलाई केही हदसम्म शान्त रहन मद्दत गर्‍यो । उक्त औषधिले मेरो डर पनि कम गर्थ्यो, पूर्वप्रेमीलाई देख्दा लाग्ने डर ।

ऊ ११७ किलोको, भीमकाय बडी बिल्डर थियो, जो विभिन्न प्रकारका मेसिनगन बोकेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्थ्यो । जब हामी दुई एकअर्कालाई ‘डेट’ गर्दै थियौं, त्यसबेला ऊ मसँग रिस उठे आफ्नो गाडीमा मुड्की हान्थ्यो र मेरो घर अगाडिका बोटबिरुवा उखेलेर फ्याँकिदिन्थ्यो ।

हामी छुट्टियौं । केही समयपछि मैले उसलाई यताउता देख्न पनि छोडेंँ । त्यसपछि मलाई झनै राहत मिल्यो, सबै सकियो भनेर । तर सोचे जस्तो भएन ।

दुई वर्षपछि मैले आफ्नो नाम गुगलमा सर्च गर्दा आफ्नै नांगा तस्बिरहरू देखा परे । मेरो पूर्वप्रेमीसँग सम्बन्धमा रहेका अन्य महिलासँगै मेरा पनि तस्बिर त्यहाँ पोस्ट गरिएका थिए । म कहाँ बस्छु, के गर्छु भन्ने विवरण पनि त्यहाँ थियो ।

त्यो देखेसँगै मेरो पैतालामुनिको जमिन हल्लियो । हात काम्न थाले । मैले त्यो केटालाई मेसेज गर्दै ती तस्बिर हटाउन आग्रह गरेंँ । उसले मलाई ब्लक गरिदियो । मैले प्रहरीलाई भनेंँ । तर उनीहरूबाट कुनै मद्दत पाउन सक्ने सम्भावनै थिएन । किनभने त्यति बेला फ्लोरिडामा यसबारे कानुनै थिएन ।

वेबसाइटधनीलाई कपिराइटको नोटिस पठाएपछि भने ती तस्बिर हटाइए । तर एक पटक इन्टरनेटमा अपलोड भएका तस्बिर हटाउन लगभग असम्भव नै हुन्छ । केही दिनपछि ती पुनः देखिन थाले ।

यो मामिलामा सबैभन्दा बदनाम वेबसाइटमा मेरा तस्बिर देखिए, जहाँ मेरो सामाजिक सञ्जालको विवरण पनि थियो । उक्त वेबसाइटमा आआफ्ना तस्बिरमुनि अनगिन्ती महिलाले त्यसलाई हटाउन कारुणिक याचना गरिरहेका थिए । ‘मलाई अफिससम्म पनि पिछा गर्न थाले, कृपया यो हटाइदिनुस्,’ उनीहरूको गुहार थियो ।

मेरा तस्बिरमुनि पनि धेरै कमेन्ट थिए । तीमध्ये एउटा मेरो मानसपटलबाट कहिल्यै हट्दैन— ‘राइट क्लिक, सेभ एज ।’ त्यो भनेको जति पटक मैले तस्बिर डिलिट गर्न लगाउँथें, त्यो फेरि कतै न कतैबाट प्रकट भइहाल्थ्यो ।

म अमेरिकामा ‘रिभेन्ज पोर्न’ (बदलाको भाव राखेर यौनजन्य सामग्री प्रकाशन र प्रसारण गर्ने) को मुद्दा अदालतमा दर्ता गराउने पहिलो महिला हुँ । र म आफ्नो कटु अनुभवबारे सार्वजनिक रूपमा छलफल पनि गर्छु । मेरा सम्पूर्ण तस्बिर इन्टरनेटबाट हटाउने यही एक मात्र विकल्प थियो । २०१३ मा मैले पिंक मेथ, मेरो पूर्वप्रेमी र क्लाउडफ्लेयर विरुद्ध मुद्दा हालेँं ।

जब मेरा तस्बिरहरू पहिलो पटक इन्टरनेटमा पोस्ट गरिए, मैले प्रहरीमा उजुरी मात्रै गरेकी थिएँ । र मेरो मुद्दाबारे अनुसन्धान गर्न एक अधिकृतलाई खटाइएको पनि थियो । उसले मलाई जोगाउने वाचा पनि गरेको थियो । केही महिनापछि उसले मेरो केस बन्द भएको भन्दै मलाई प्रहरी कार्यालयबाट गलहत्यायो । ऊसँगको सम्बन्ध पनि धेरै समय टिकेन । जब मैले उसलाई छोडेंँ, उसले पनि त्यो अनुसन्धानका क्रममा भेटिएका थप तस्बिर सार्वजनिक गरिदिने भनेर धम्क्याउन थाल्यो ।

मैले पिंक मेथ र पूर्वप्रेमी दुवैबाट कुनै न्याय पाइनँ । मेरो मुद्दाको पनि कतै नाक जोतियो । तर जब मैले प्रहरी अधिकारीविरुद्ध उजुरी दिएँ, त्यसमा भने न्याय पाएँ । एक वर्ष लामो अनुसन्धानपछि ऊ बर्खास्त गरियो ।

यो सबपछि म भित्रभित्रै पिल्सिएकी थिएँ । मेरो तौल दुई वर्षमा लगभग बीस किलो घटेको थियो । एक वर्ष पूरै घरमा सुतेर बिताएपछि म केही समयका लागि अस्पताल नै भर्ना हुनुपरेको थियो ।

गत महिना न्युयोर्क रिभेन्ज पोर्नलाई आपराधिक गतिविधिमा सामेल गर्ने अमेरिकाको ४६ औं राज्य बन्यो । केही मानिस रिभेन्ज पोर्नलाई स्वतन्त्र अभिव्यक्तिको संज्ञा दिँदै त्यसलाई अपराधको श्रेणीमा राख्न नहुने जिकिर गर्छन् । उनीहरू के बिर्सिन्छन् भने, यसको सिकार पुरुष पनि हुन सक्छन् । यद्यपि अहिले यसको सिकार हुनेमा महिलाकै संख्या धेरै छ ।

पहिलो पटक आफ्ना नग्न तस्बिर इन्टरनेटमा देखेपछि मैले आफ्नो कोठामा बिताएको क्षण कहिल्यै बिर्सन सक्दिनँ । त्यस बेला केही सोच्न पनि मुस्किल थियो । तर मजस्तै अन्य महिला पनि पीडा आफूभित्रै दबाएर बस्न बाध्य थिए । केही वर्षयता उनीहरू बाहिर निस्किएर आफ्नो कथा सुनाउन थालेका छन् । धेरै जनाले अदालतबाट क्षतिपूर्ति पाएका छन् । केही त्यस्ता अपराधी जेल चलान भएका छन् । म कुनै पनि पीडितलाई व्यक्तिगत रूपमा त चिन्दिनँ, तर उनीहरू सबै मेरा दिदी–बहिनी हुन् ।

अहिले म खुसी छु । मजाले खाना खान सक्छु । टिङ्ग्रिङ्ङ देखिएका हड्डीहरू पुरिएका छन् । दुई वर्षअगाडि मैले कानुन पनि पढ्न थालें । मआफ्नो पढाइ सकिने पर्खाइमा छु । मेरो कथाको सुखद अन्त्य भएको छ । तर हरेक सुखद अन्त्य भएका कथाको पछाडि कुनै समय आफ्नो जीवन त्याग्ने सोच बनाएको पीडितको जीवन हुन्छ ।

रिभेन्ज पोर्नलाई ‘इनभोलुन्टरी पोर्नोग्राफी’ र ‘ननकन्सेन्सुअल पोर्नोग्राफी’ (सहमतिबिना सार्वजनिक नग्न तस्बिर वा भिडियो) को संज्ञा दिने गरिन्छ । तर त्यो भनेको बलात्कारलाई ‘सहमति बिनाको यौन सम्पर्क’ भन्नुसरह नै हो । त्यसले त्यो पीडाको कुनै पनि हिसाबमा प्रतिनिधित्व गर्दैन । रिभेन्ज पोर्न भनेको ‘साइबर रेप’ नै हो ।

साइबर संसारका अन्य विषयबारे बोल्दा बहस गर्न सजिलो हुन्छ । तर साइबर रेपबारे मुख खोल्न धेरै कठिन हुन्छ । पीडितहरूले फेरि पनिआफ्नो बोलीको मूल्य चुकाउनुपर्छ, किनभने त्यस्ता तस्बिर र सामग्री पुनः इन्टरनेटमा खोजी गरिन्छन् र हजारौं पटक हेरिन्छन् । र त्यो खाटा बस्न लागेको घाउ पुनः बल्झिन्छ । जोजति अगाडि आएर बोल्यौं, हामीलाई समाजले ‘साइलेन्स ब्रेकर’ भन्छन् । तर हामी यतिका वर्षसम्म चुपै थियौं भन्ने पनि होइन । हामीलाई सुनिएको थिएन ।

न्युयोर्क टाइम्सबाट अनूदित ।

प्रकाशित : श्रावण २९, २०७६ ०९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT