कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

मेधावी माड्सा’प

सम्पादकीय

राणा शासनमा प्रशासक रहेका पिता पहिले जेल परे, पछि काठमाडौं छाड्न बाध्य पारिए । बच्चैमा परिवारसहित उनी पनि बनारस निर्वासित भए । पढाइपछि वीरगन्ज पसेर त्रिजुद्ध हाईस्कुलमा हेडमास्टर बने जसले उनलाई माडसा’पको परिचय दियो । 

मेधावी माड्सा’प

९६ वर्षको उमेरमा बिहीबार बिहान काठमाडौंमा निधन भएका माड्सा’प मदनमणि दीक्षितको पहिचान भने त्यसपछि राष्ट्रिय रूपमा तीन क्षेत्रमा जोडिएर बन्यो– पत्रकारिता, साहित्य र राजनीति । साहित्यमा वैदिक कथा, पात्र र चेतनालाई नेपालीकरण गर्न विनिर्माण गरे । त्यसको उच्च रूप ‘माधवी’ हो । खानदानी परिवारमा जन्मेर पनि कम्युनिस्ट राजनीतिमा सक्रिय रहेर प्रगतिशीलताको प्रवर्द्धन गरे । सबभन्दा दीर्घ संघर्ष भने पञ्चायतकालभरि पत्रकारितामा गरे ।

जति क्षेत्रमा डटिए पनि उनी मूलतः परिवर्तनकारी थिए । अन्तिम इच्छा पहिल्यै सार्वजनिक गरेर उनले आफ्नो सम्झना नगर्न होसियार गराए । शोकसभा नगरियोस्, कहिल्यै श्रद्धाञ्जलीसभा नहोस् । विद्युतीय शवदाह गृह बन्यो भने त्यसमै विसर्जन गरियोस् भन्ने उनको कामना भने सम्भवतः परिवारले ख्याल गर्न भ्याएन । बिहीबार नै आर्यघाटमा अग्निदाह गरियो ।

पूर्वीय संस्कृति, साहित्य र दर्शनका यी अध्येता, साधक र सर्जकको अन्तिम बिदाइपछि सात सालपछिको चेतनशील नेपाली लेखन पठन र राजनीतिक समुदायले आफ्ना एक अग्रज गुमाएको महसुस गर्नुको पृष्ठभूमि छ । बनारसबाटै कम्युनिस्ट राजनीतिप्रति आकर्षित भई वीरगन्ज आउँदा पार्टी संगठनमा खटिए । कालान्तरमा रूस समर्थक कम्युनिस्ट पार्टीमा लागे, पार्टीगत आस्थाबीचै पनि काठमाडौंबाट आलोचनात्मक पत्रकारको यात्रा थाले ।

२०१५ सालतिर उनी ‘हाल खबर’ भन्ने नेपाली कांग्रेसविरोधी पत्रिकामा काम गर्थे । पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले ‘आलोचनात्मक रूपमा सरकारलाई सचेत गराउने पत्रिकाको आवश्यकता औंल्याउँदै’ त्यस्तो पत्रिका चलाउन सल्लाह दिएपछि सरकारबाट मासिक ६ सय रुपैयाँ लिएर दीक्षितले ‘समीक्षा साप्ताहिक’ सुरु गरे ।

पञ्चायतकालमा समीक्षा आठपल्टसम्म प्रकाशन गर्न रोक लाग्यो । अञ्चलाधीश र अन्यसामु सयौंपटक बयान र स्पष्टीकरण दिनुपर्‍यो । वीरगन्जको जग्गा बेच्दै चलाउने गरेको पत्रिका र त्यो छाप्ने छापाखानामाथि सरकारको पछिल्लो प्रतिबन्धबाट आजित भएपछि उनले काठमाडौंमा रहेका विदेशी संवाददाताहरूसहितलाई खबर गरे, ‘भोलि म राजदरबारअगाडि आत्मदाह गर्दै छु ।’

रातभरि बेचैन भए । बनारस हिन्दु विश्वविद्यालयमा एमए पढ्दा उपकुलपति सर्वपिल्ल राधाकृष्णनले आफूलाई दिएको सुझाव झट्ट सम्झिए– ‘भविष्यमा वैदिक स्रोत सामग्री र नेपालको सन्दर्भ जोडेर लेख्नुहोस् ।’

सहकर्मी पत्रकारहरूलाई राजदरबारअगाडि आउन खबर गरेका दीक्षित त्यो दिन ०३४ पुस १ गते घरबाट कतै नहिँडी ध्यानमग्न भएर उपन्यास लेख्न थाले । ‘माधवी’ का ११ सय पृष्ठ लेख्न चार वर्ष लगाए । हरेक महत्त्वपूर्ण अध्यायपछि साथीभाइ बोलाएर पढेर सुनाउँथे । ६ पल्ट संशोधन गरे । त्यो नेपाली उपन्यासको एउटा महत्त्वपूर्ण इतिहास बन्यो, त्यसले ०३९ सालको मदन पुरस्कार पनि पायो ।

द्रौपदी, सीता, विदुषी गार्गी, माधवीजस्ता महिला पात्रमार्फत उनले प्राचीन साहित्य र दर्शनको गहकिलो विवेचना गरेका छन् । पुराणमा भन्दा दर्शनमा उनको रुचि थियो । बनारसबाटै धर्म, दर्शन र वेद/पुराणबाट रुचि जगाएर आएका उनले गहिरो अध्ययनबाट खारिएर लेखे । उनलाई मेधावी तुल्याउने बाटो वैदिक स्रोत र साहित्यमा प्रवेश हो ।

एकाध वर्षमा पत्रिकाको प्रतिबन्ध खुला भएपछि छोरा विनोदमणिलाई सञ्चालन जिम्मेवारी दिएर उनी आफू भने बढी साहित्य साधनामा समर्पित भए, हरेक साता राजनीतिक विवेचना भने स्तम्भका रूपमा लेखन जारी राखे । उनी दह्रो टिप्पणी/विचार लेख्न सक्थे । अध्ययन गहन भएकाले उनको भाषा सबल थियो । उनी फोटो पत्रकारसमेत थिए ।

राष्ट्रिय मेलमिलापको नीति लिएर फर्केका बीपी कोइरालाका विभिन्न मुद्राका तस्बिर आफैंले खिचेर अन्तर्वार्ता गरे पनि उनी कोइरालाका आलोचक नै रहे । ०३८ सालको दलविहीन चुनावमा उनी काठमाडौंमा उम्मेदवारसमेत बने ।

४० वर्षयता मुटुको समस्याबाट ग्रसित उनको एक दशकअघि ‘बाइपास सर्जरी’ गरिएको थियो, यसबीच दुई पटकसम्म हृदयाघात भएर उनले श्रवण क्षमता गुमाउनुपरे पनि साधनाप्रति लगन गुमाएनन् । बरु वेदव्यासले भन्ने र गणेशले लेख्ने गरेजस्तै अरूलाई टिपाएर लेख्दै आए ।

संस्कृत मिश्रित भाषाका कारण उनको वैदिक साहित्यको जटिल लेखनबारे पछिल्लो पुस्ताका लेखकहरूमाझ प्रचलित भनाइ छ– ‘माधवी’ पहिले नेपालीमा अनुवाद गर्नुपर्छ, बल्ल बुझिन्छ । त्यही कारण उनले त्यसका झन्डै १५ सय संस्कृत एवं क्लिस्ट शब्दलाई सरल पारेर छाप्न दिएका छन् । खासमा उनले तीन दर्जनजति कृति लेखे । केही अझै छापिन बाँकी छ ।

उनलाई पढिन बाँकी छ । बुझिन पनि बाँकी छ ।

प्रकाशित : श्रावण ३१, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?