कान्तिपुर टेलिभिजन आठौं वर्षमा

काठमाडौं — मंगलबारदेखि आठौं वर्षमा प्रवेश गरेको कान्तिपुर टेलिभिजन अमेरिकाबाट पनि प्रसारण हुने भएको छ ।

टेलिभिजनलाई नेपालको भौगोलिक सिमानाभित्र सीमित नराखी विश्वका हरेक कुनामा बस्ने नेपालीभाषीसमक्ष पुर्‍याउने तयारी भइरहेको टेलिभिजनको सातौं वर्षगाँठका अवसरमा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले बताए ।
'अमेरिकामा प्रसारण गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी गराउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति भइरहेको छ,' कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत रहेका उनले भने । उनका अनुसार प्रसारण विस्तारसँगै कान्तिपुर टेलिभिजन हेर्न सकिने हरेक स्थानका दर्शकका गतिविधि र उपलब्धिलाई पनि समेटिने छन् ।
समारोहमा अध्यक्ष सिरोहियाले प्रसारण विस्तारको प्राविधिक योजनाका साथै प्रसारण स्तर सुधार, छिटो सूचनाकै आधारमा तत्काल प्रत्यक्ष प्रसारण गर्ने, जिल्लाका श्रव्यदृश्य सामग्रीको स्तर सुधार्ने, पुराना उपकरणलाई विस्थापित गर्दै नयाँ उपकरण पनि जडान गरिने बताए । 'यसै वर्षभित्र डिजिटल प्रविधिअन्तर्गत अटोमेटेड प्रसारण प्रणाली र अत्याधिक उपकरणका साथ समाचार कक्षलाई अटोमेसनमा लैजाने छौं,' उनले घोषणा गरे ।
दिगो शान्ति र संविधान निर्माण नै कान्तिपुर टेलिभिजनको मिसन रहेको जनाउँदै सिरोहियाले भने, 'दर्शकको चाहनाअनुरूप सही सूचना, उपर्युक्त शिक्षा र स्वस्थ्ा मनोरञ्जन प्रदान गर्नुबाहेक टेलिभिजनको अर्को चाहना नरहेकाले नेपाल र नेपालीको दीर्घकालीन हितमा लागिरहने छौं ।'
यसअघिका जटिल र कठिन अवस्थामा देखाएको धैर्य र समझदारीप्रति कृतज्ञ हँुदै उनले टेलिभिजन कर्मचारीलाई २४ दिनको थप बोनस घोषणा गरे । कर्मचारीको क्षमता विकास, तालिमलगायत क्षमतावृद्धिमा पनि सहयोग गरिने उनको भनाइ थियो ।
कान्तिपुर टेलिभिजनका निर्देशक जीवा लामिछानेले सात वर्षे यात्रा निकै चुनौतीपूर्ण र कठिन रहेको उल्लेख गर्दै व्यवस्थापन र सहकर्मीको साझा प्रयासले यो यात्रा सम्भव भएको टिप्पणी गरे । उनले आगामी दिनमा पनि कान्तिपुर टेलिभिजन नेपालको एक नम्बर ब्रान्ड रहिरहने अपेक्षा गरे । 'त्यसका लागि तपाईंहरूको मिहिनेतमा व्यवस्थापनको सधैं साथ रहिरहनेछ,' उनले शुभकामना व्यक्त गर्दै भने ।
अर्का निर्देशक गणेश अग्रवालले शुभकामना व्यक्त गर्दै 'कठिन राजनीतिक खाल्डो पार गर्दै कान्तिपुर टेलिभिजनले सात वर्ष पार गरेकोमा कर्मचारी, दर्शक, विज्ञापनदाता र शुभचिन्तकप्रति आभार प्रकट गरे । समारोहमा निर्देशक अरुण ओझाको पनि उपस्थिति थियो ।
समाचार प्रमुख तीर्थ कोइरालाले टेलिभिजनलाई नयाँ ढंगले थप उचाइमा पुर्‍याउने अठोट व्यक्त गरे । त्यसैगरी टेलिभिजनका प्रमुख कार्यकारी निर्माता भूषण दाहालले कर्मचारीको प्रतिनिधित्व गर्दै पहिलो पटक वाषिर्कोत्सव समारोहमा बोल्ने मौका पाएकोमा खुसी व्यक्त गर्दै जिम्मेवारीबाट एक इन्च पनि पछाडि नहटेर कर्तव्य पूरा गर्न आफूहरू लागिरहने प्रतिबद्धता जनाए ।
वाषिर्कोत्सवका अवसरमा कान्तिपुर टेलिभिजन कर्मचारी संघले आयोजना गरेको फुटबल प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो । प्रबन्ध निर्देशक सिरोहियाले विजेता कान्तिपुर पब्लिकेसन्स 'बी' लाई १५ हजार रुपैयाँ नगद र ट्रफी वितरण गरेका थिए । उनले वर्षका उत्कृष्ट कर्मचारीलाई पनि सम्मानित गरे । सम्मानित हुनेमा समाचार विभागका विजयराज अधिकारी, प्रोडसन विभागका क्यामरापर्सन मुरारी घिमिरे, इन्जिनियरिङ विभाग अनुरूप श्रेष्ठ, प्रशासनका गणेश कार्की, कार्यालय सहयोगी उद्धव रिजाल र विराटनगर संवाददाता महाप्रसाद खतिवडा छन् ।
फुटबलका विजेता टिमका खेलाडीलाई निर्देशक जीवा लामिछानेले प्रमाणपत्र र मेडल वितरण गरेका थिए । त्यसैगरी प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउने रेप|mीहरूलाई निर्देशक अरुण ओझाले कदरपत्र र उपहार वितरण गरेका थिए । समारोहमा कान्तिपुर टेलिभिजनलाई सर्वाधिक विज्ञापन उपलब्ध गराउन विज्ञापन एजेन्सीहरू मिडिया हब, कि एडभर्टाइजिङ एजेन्सी र मिडिया बैंकलाई पुरस्कृत गरिएको थियो ।
२०६० असार २९ गते स्थापित कान्तिपुर टेलिभिजन सुरुका दिनमा टेरेस्टोरियल प्रविधिमा सीमित थियो । पाँच वर्षयता यसको प्रसारण स्याटेलाइटमार्फत देशभर र विश्वका करिब सय मुलुकमा भइरहेको छ ।
कतारमा पनि
दोहा
कतारको एउटा सरकारी टेलिकमले आफ्नो इन्टरनेट प्याकेजमा कान्तिपुर टेलिभिजनलाई पनि राखेको छ । विभिन्न देशका टीभी च्यानल राख्ने क्रममा नेपालबाट एकमात्र च्यानल कान्तिपुरलाई प्याकेजमा राखेको हो । सरकारी टेलिकम क्युटेलको इन्टरनेट मोजाइक प्याकेजमा यो सुविधा छ । मासिक २ सय ५० रियाल -५ हजार रुपैयाँ) लाग्ने प्याकेजमा असीमित इन्टरनेट, निःशुल्क ल्यान्डलाइन टेलिफोन र १ सय ६० टीभी च्यानल उपलब्ध छन् । ताररहित यो प्याकेजका लागि टीभी हेर्न कुनै केबल लाइन प्रयोग गर्नुपर्दैन । इन्टरनेट प्रयोगकर्ताले बढी प्रयोग गर्ने यो प्याकेज स्थानीय नेपालीले समेत प्रयोग गर्दै आएका छन् ।



प्रकाशित : असार २९, २०६७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?