तमलोपा पनि विभाजित,उद्योगमन्त्रीको संयोजकत्वमा नयाँ दल

काठमाडौ — तराई मधेश लोकतान्त्रिक पार्टी विभाजित भएको छ । पार्टी महामन्त्री तथा उद्योगमन्त्री महेन्द्र रायले पार्टी फुटाएका छन् । उनले आफूसंग ९ जना सभासद रहेको दावी सहित शुक्रबार सभामुख सुवास नेम्वाङलाई भेटेर पार्टी विभाजनको जानकारी गराए ।

रायले आफ्नो संयोजकत्वमा तमलोपा(नेपाल)नामक पार्टी खोलेका छन् । चाँडै निर्वाचन आयोगमा पार्टी दर्ता गराइने राय निकटले बताए ।
०६४ सालमा राय एमाले परित्याग गरेर तमलोपा गठनमा सक्रिय रहेका थिए । लामो समयदेखि पार्टी भित्र असन्तुष्ट रहेका रायले अन्ततः पार्टी फुटाएका छन् । रायसंगै उद्योगराज्य मन्त्री दानबहादुर चौधरीपनि छन् । सभासदहरु गोविन्द चौधरी(रौतहट),अरविन्द साह(धनुषा),सुमित्रा यादव(सर्लाही),अर्मिला महतो(सर्लाही),रमणी राम(सप्तरी),मो.सल्लाउद्दिन(कपिलवस्तु) र चन्दन साह (रौतहट) नयाँ पार्टीमा आएको राय निकटले दावी गरेको छ । संविधानसभाको निर्वाचनबाट २१ स्थान ल्याएकोमा गत वर्ष सभासद रामकुमार शर्माले पार्टी छाडेर माओवादीमा गएपछि तमालोपासंग २० सभासद थियो ।
 सभासद गोविन्द चौधरीले पार्टी गठनको जानकारी  संसद सचिवालयमा गराइएको बताए । उनले सामूहिक नेतृत्वको भावनाले तमलोपा बढ्न नसकेको, आन्तरिक लोकतन्त्र नरहेको कारण नयाँ पार्टीको गठन गरिएको ई-कान्तिपुरलाई बताए । उनले पार्टी विधानमा प्रत्येक महिना कार्यसम्पादन समितिको तथा तीन महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने प्रावधान रहेपनि ८ महिना यता कार्यसम्पादन समितिको समेत बैठक नबोलाइएको बताए । 'पार्टीमा विवाद छ,समस्या समाधानका लागि बैठक बोलाउँ भनेर पटक पटक आग्रह गर्दा पनि नेतृत्वले सुनुवाई गरेन,'चौधरीले भने-'तमलोपा जुन उद्देश्यले गठन भएको थियो त्यो पूरा नहुने देखिएपछि नयाँ पार्टी खोल्नुपरेको छ ।'
 
 
 
 
 

प्रकाशित : पुस १६, २०६७ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?