१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आडवाणीको राजीनामाले बिजेपीमा हलचल

एजेन्सी

नयाँ दिल्ली — भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीले पार्टीको महत्वपूर्ण पदहरुबाट राजीनामा दिएका छन् । उनले राष्ट्रिय कार्यकारिणी, संसदीय बोर्ड र निर्वाचन समितिबाट राजनीनामा दिएका हुन् । ८५ वर्षीय आडवाणीको राजीनामाले पार्टी भित्र ठूलो हलचल ल्याएको छ ।

पार्टीको अध्यक्ष जो भएपनि उनी सबैभन्दा ठूला नेताको रुपमा मानिदैं आएका छन् ।
पार्टीले गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई निर्वाचन समितिको प्रमुख बनाएपछि उनी असन्तुष्ट बनेका हुन् । पार्टीबाट आगामी प्रधानमन्त्रीको रुपमा मोदीलाई अगाडि सार्ने तयारीको रुपमा त्यसलाई हेरिएको छ । आडवाणीले पार्टी अध्यक्ष राजनाथ सिंहलाई राजीनामा पाठाएका हुन् । पार्टीले राजीनामा फिर्ता लिन उनलाई आग्रह गरेको छ ।
उनले राजीनामा पत्रमा भनेका छन् 'केही समयदेखि पार्टीको कार्यशैलीसंग तालमेल मिलाउन किठनाई भएको मैले महसुस गरेको छु ।' उनले विगतमा नेताहरुले आदर्शवादी पार्टीका रुपमा स्थापित गरेको बिजेपी अहिले जनताको भन्दा पनि नेताहरुको निजी एजेंडालाई महत्व दिन थालेको आरोप लगाएका छन् ।
यी हुन् आडवाणी
भारतीय जनता पार्टीलाई उचाईमा पुर्‍याउने अग्र पंक्तिका नेताहरुमा लालकृष्ण आडवाणी आउँछन् । उनलाई पार्टीको कर्णधार,  लौह पुरुष र कहिले पार्टीको असली चेहरा भनिदैं आएको छ । उनी  पार्टीको आजसम्मको इतिहासको महत्वपूर्ण हिस्सा मानिन्छन् ।
विभिन्न पदको जिम्म्ोवारी सम्भाल्दै उनी सन १९८६ देखि १९९१ सम्म पार्टीको अध्यक्ष भएका थिए । उनी तीन पटक पार्टी अध्यक्ष भइसकेका छन् ।  सन १९९० मा आयोध्यामा राममन्दिरका लागि गरेको आन्दोलन र रथयात्राले उनले थप उचाई प्राप्त गरे ।
उनी चार पटक राज्यसभा र पाँच पटक लोकसभाका सदस्य भइसकेका छन् । अहिले पनि उनी गांधीनगर गुजरात संसदीय क्षेत्रबाट लोकसभामा सांसद छन् । उनी एकपटक सूचना प्रसारण मन्त्री तथा सन १९९९ मा अटल बिहारी बाजपेयी सरकारमा उपप्रधान एंव गृहमन्त्री भएका थिए । भारतीय संसदमा राम्रो सांसदका रुपमा उनी पुरस्कृत पनि भएका छन् ।

 
 

प्रकाशित : जेष्ठ २७, २०७० १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?