'गोली बर्सिरहन्छ, धन्न बाँचिरहेछौं’

इराक हिंसामा पर्नेको पीडा
होम कार्की

दोहा (कतार) — रुकुमका धनबहादुर विक यतिखेर इराकको हिंसाग्रस्त क्षेत्र टिक्रिट सहरमा बन्धकको हैसियतमा छन् । जुन ८ देखि घर भित्रको भित्रै छन् । कोठामा उनीसहित कास्कीका सन्तोष लामिछाने, ओखलढुंगाका अजित तामाङ र चितवनका प्रकाश विश्वकर्मा पनि छन् ।

 'गोली बर्सिरहन्छ, धन्न बाँचिरहेछौं’

सबैको हालत उस्तै छ । कोठामा खानेकुरा सिद्धिँदै गइरहेको छ । किन्नका लागि बाहिर जाने अवस्था छैन । 'होटल बन्द हुनुअघि ल्याइएको पिठो खाइरहेका छौं,' धनकुमारले भने, 'त्यो पनि सिद्धिँदै गइरहेको छ ।' जुन ८ मा सलामदिनस्थित सद्दाम हुसेन मस्जिद नजिकै रेन्टुरेन्टमा उनीहरू काम गरिरहेका बेला एक्कासि गोली-वषर्ा भयो । उनका इराकी मालिक होटल बन्द गरी हिँडे । उनीहरू पनि कोठामा आएर बसे । 'रातभर गोली हानाहान भयो,' उनले भने, 'कसैसँग फोन सम्पर्क गर्ने अवस्था थिएन । इराकमा अरू नेपालीसँग सम्पर्क पनि थिएन ।' स्थिति असामान्य बन्दै गयो । प्रहरी बसेका पोस्टहरूमा विद्रोहीले कब्जा जमाए । सबै सेना र प्रहरी भागे ।
विद्रोहीले सहर कब्जा गरेलगत्तै धेरै इराकी घरबार छाडेर भागे । उनका मालिक पनि परिवार लिएर अर्को सहर सुलेमानियातिर लागे । उनीहरूले चलाउने 'कोराक' मोबाइलको सेवा बन्द भयो । परिवारसँग सम्पर्क टुट्यो । आफूहरू संकटमा परेको खबर कतै दिन पाएनन्, उनीहरूले ।
होटलमा काम गर्ने एक इराकीले 'इत्तिसलत' मोबाइल कम्पनीको सिम दिएपछि मात्रै आफूहरू द्वन्द्वमा फसेको सूचना उनीहरूले बाहिर दिन पाएका हुन् । तीन साता बित्दा पनि टिक्रिटबाट बाहिर निस्कन सक्ने अवस्थामा उनीहरू छैनन् । 'जतिखेरै गोलाबारुद बर्सिन्छ,' धनबहादुरले भने, 'रातभर गोली पडकइरहेकाले सुत्न सकिने स्थिति छैन । दिउँसो एकदुई घन्टा सुनसान भएका बेला सुत्ने हो ।'
उनले भने, 'कतिखेर के हुन्छ थाहा छैन । मरिने हो कि बाँचिने
हो ? यता आफूहरूको यो हालत, उता परिवारबाट आउने रुवाबासीको फोन । धन्न जीवनले थेग्न सकेको छ ।'
बेलाबेला साथीभाइ, परिवारबाट आउने सुखद खबरले भने केही आस जाग्ने उनले बताए । 'हामीलाई कस्तो छ भनेर घरी पाकिस्तानबाट सोधखोज हुन्छ, घरी कुबेत र इराकबाटै फोन आउँछ ।' उनले भने, 'यस्ले पनि केही राहत मिल्छ ।'
सडक छेउकै घरमा उनीहरू छन् । विद्रोहीको गाडी त्यही सडकबाट दैडिरहेको हुन्छ । बिजुली छैन । पानीको आपूर्ति छैन । 'ट्वाइलेटकै पानी पिइरहेका छौं,' उनले भने, 'कहिलेकाहीं साथीहरू बिरामी
हुन्छन् । औषधि उपचार गर्न सकिँदैन । त्योभन्दा पीडा के हुन्छ ?'
उनीहरूजस्तै फसेका अरू तीन साथीहरू कानेपोखरी ९ मोरङका ३८ वर्षीय मोहनकुमार बस्नेत, दमक १३ झापाका ३८ वर्षीय प्रेस गिरी, घोरही ठाकुर ९ का टोपबहादुर बस्नेतबाट पनि अवस्थाबारे सोधपुछ हुन्छ । 'उताबाट प्रेस दाइले फोन गर्नुहुन्छ,' उनले भने, 'नेपाल सरकारले उद्धारको प्रयास गरिरहेको सुनाउनुहुन्छ ।' गिरी समूहले १० मिनेट पैदल दूरीमा पर्ने टिक्रिट टिचिङ अस्पतालमा शरण लिएका छन् । 'हामी पनि त्यही समूहमा मिसिने प्रयासमा छौं,' उनले भने ।




 

प्रकाशित : असार १३, २०७१ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?