२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

भ्रमण सोचेभन्दा सफल : स्वराज

राजनीतिक तहमा छलफलको बाटो खुल्यो : पाण्डे
चन्द्रशेखर अधिकारी

काठमाडौं — भारतीय विदेशमन्त्री सुषमा स्वराजले तीनदिने नेपाल भ्रमणलाई सोचेभन्दा सफल भएको भनेकी छिन् । भारतमा नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीले शक्तिशाली सरकार बनाएको दुई महिनामै उनले नेपाल भ्रमण गरेकी हुन् ।

भ्रमण सोचेभन्दा सफल : स्वराज
उनले राजनीतिक स्तरमा छलफल र संयुक्त आयोग वैठकलाई सफलताका आधारका रुपमा प्रस्तुत गरिन ।
'यस्तो उच्चस्तरको भ्रमण र छलफल निरन्तर हुनुपर्छ,' आइतबार स्वदेश र्फकनुअघि उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संवाददाताहरूसँग संक्षिप्त प्रतिक्रियामा भनिन् ।
नेपाल-भारत संयुक्त आयोगको बैठक २३ वर्षपछि बल्ल भएको हो । यसका लागि नेपालले लगातार आग्रह गर्दै आए पनि भारतले मानिरहेको थिएन । मोदी सरकार बनिसकेपछि भारतीय संस्थापनको छिमेकी नीतिमा खुलापन प्रकट भईरहँदा भएको यो वैठकमा स्वराजको प्रमण्डल  निकै खुलेर प्रस्तुत भयो । नेपालले आफ्नो चासो र हितको विषयलाई विस्तारमा राख्यो । 
स्वराजले आइतबार विहान स्वदेशफिर्तीअघि एमाले कार्यवाहक अध्यक्ष तथा उपप्रधानमन्त्री वामदेव गौतमसहितका पदाधिकारीहरूसँग भेटवार्ता गरिन । हायत होटलमा भएको वार्तामा उनले द्धिपक्षीय सम्बन्धलाई सुदृढ बनाउँदै नयाँ शिरामा अघि बढाउन भारतीय इच्छुक रहेको बताइन ।  उनले भारत सधैं समृद्ध, स्थिर र सुरक्षित नेपाल हेर्न आतुर छ भन्दै मुलुकको विकास राजनीतिक दलहरूको इच्छाशक्तिबाट हुने स्पष्ट पारिन । 
उनले अरू नेतासँगको वार्तामा झैं गौतमसँग पनि नेपालमा उत्पादित बिजुली आन्तरिक खपतपछि बढी हुनेजति भारतले किन्ने स्पष्ट पारिन ।  एमाले नेताहरूले त्यो विषय दलहरुबीचको सहमतिबाटै तय हुने बताए । झन्डै एक घन्टा लामो भेटवार्तामा एमालेका सबै पदाधिकारी उपस्थित थिए । गौतमले सुष्मालाई भेट्न होटलमा कुरेरै बस्नुपरेको थियो ।
स्वराजले नेपाली नेताहरुलाई द्धिपक्षीय भावनात्मक सम्बन्धबाट नेपालले फाइदाले लिनुपर्ने सुझाव दिइन । उनले आफ्नो भ्रमणमा भएका समझदारी तत्काल कार्यन्वयनमा आउनसमेत उल्लेख गरिन । 'यो भ्रमणमा भएको सहमतिले दुई पक्षीय सम्बन्ध थप क्रियाशील हुने स्पष्ट छ,' उनले भनिन ।
उनी स्वदेश र्फकनुअघि पशुपतिनाथ पुगेर पूजा अर्चना गरेकी थिइन । उनले पशुपतिनाथको मुलुकमा आउँदा गौरव महसुस भएकासमेत बताइन ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले संयुक्त बैठक र  समकक्षी स्वराजको भ्रमण निकै सफल रहेको बताए । 'यसले राजनीतिक स्तरको सहकार्य तथा अन्तरक्रियाको बाटो खोलेको छ,' उनले भने । दुई पक्षीय अविश्वास घटाउँदै सम्बन्धलाई उचाइमा पुर्‍याउन आयोग बैठकलेे आधार तयार गरेको उनको विश्लेषण छ ।
शनिबार राति सम्पन्न संयुक्त आयोगको बैठकले विभिन्न २६ विषयमा समझदारी गरेको छ । सबै समझदारीलाई तदरुकताका साथ अघि बढाइने पाण्डेले बताए ।
सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि आवश्यक तयारी गरिरहेको पाण्डेले  जानकारी दिए । मोदी आगामी आइतबार बिहान विशेष विमानमा ठूलै टोलीसहित नेपाल आउँदैछन् । उनको भ्रमणलाई सफल बनाउन केही भारतीय अधिकारी राजधानीमै परराष्ट्र मन्त्रालयसँग निकट रहेर गृहकार्य गरिरहेका छन् । 
 .......................................................................................
यो पनि पढ्नुहोस्
सबै सन्धि-सम्झौता पुनरावलोकन गरिने 
 

प्रकाशित : श्रावण ११, २०७१ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?