अफ्रिकामा इबोला संक्रमण, रोक्ने तयारी छैन

के हो इबोला?
अतुल मिश्र

काठमाडौ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पश्चिमी अफ्रिकी देशमा फैलिएको रोग इबोलालाई लिएर जनस्वास्थ्यका लागि अन्तर्राष्ट्रिय आपतकालीन स्थिति घोषणा गरे पनि सरकारले यसको रोकथामका लागि कुनै पूर्वतयारी थालेको छैन।

अफ्रिकामा इबोला संक्रमण, रोक्ने तयारी छैन

पश्चिम अफ्रिकामा इबोला भाइरसको महामारी नियन्त्रणबाहिर गइसकेको भन्दै डब्लूएचओले मार्चमा गिनीबाट सुरु भएर सियरा लियोन, लाइबेरिया, नाइजेरियामा यो फैलिसकेको जनाएको छ। यसले ९ सय ३२ जनाको ज्यान लिइसकेको छ। हजारौं प्रभावित छन्। इबोलाबाट जोगिन छिमेकी भारतमा हेल्पलाइन नम्बरसमेत जारी गरिएको छ र उपचारका लागि राम मनोहर लोहिया अस्पताललाई तोकिएको छ। 'बजेट नभएकाले हामीले विमानस्थल र अन्य नाकाहरूमा क्वारेन्टाइन, स्वास्थ्य नियन्त्रण चौकीलगायत बचाउका प्रक्रिया अपनाउन सकेका छैनौं,' स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने, 'तत्काल क्वारेन्टाइन चेकपोस्ट स्थापना गर्नुका साथै कुनै बिरामी देखिए कहाँ राख्ने भन्ने व्यवस्था गर्न अत्यावश्यक छ।' स्रोतका अनुसार क्वारेन्टाइन चेकपोस्ट राख्न अर्थ मन्त्रालयसँग पाँच करोड रुपैयाँ माग गरिए पनि निकासा नभएको महाशाखा स्रोतले बतायो।
'डब्लूएचओले २१ दिनअघि नयाँदिल्लीमा ओर्लिएका एक यात्री इबोला संक्रमित भएको पुष्टि गरेको छ,' मरासिनीले भने।
उनका अनुसार भारतमा ती व्यक्तिलाई निगरानीमा राखिएको छ। उनले भने,
'यो घटनाबाट नेपाल पनि जोखिममा रहेको संकेत गर्छ।'
लाइबेरिया, सियरा लियोनमा नेपालका सुरक्षाकर्मी राष्ट्रसंघीय शान्ति मिसनमा परिचालित छन्। सैनिक प्रवक्ता
जगदीशचन्द्र पोखरेलका अनुसार लाइबेरियामा नेपाली सेनाको १५ सदस्यीय एक टोली नै खटिएको छ।
यद्यपि नेपाली सैनिकहरूमाथि भने कुनै प्रकारको संक्रमण नदेखिएको उनले बताए। लाइबेरियामा करिब २५ हजार नेपाली वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दैछन् भने सियरा लियोन, गिनीमा समेत नेपाली रहेको डा. मरासिनीले बताए।
 इबोला प्रभावित देशमा करिब ४५ हजार भारतीय र अत्यधिक चिनियाँ रहेको उल्लेख गर्दै मरासिनीले भने, 'प्रभावित क्षेत्रमा भएका नेपाली, हाम्रा छिमेकी र सम्बन्धित देशका नागरिकको माध्यमबाट संक्रमण भित्रिने जोखिम उच्च छ।' साउदीमा यो रोगले
एक जनाको मृत्यु भएपछि इबोला प्रभावित राष्ट्रका नागरिकका लागि प्रवेशाज्ञामा रोक लगाएको छ।
के हो इबोला?
सन् १९७६ मा पहिलो पटक कंगोको इबोला नदी नजिकको गाउँ र सुडानको दुर्गम क्षेत्रमा यो भाइरस देखिए पनि यसको उत्पत्तिस्थल अज्ञात छ। हालसम्म भेटिएका प्रमाणअनुसार इबोला भाइरस चमेरोको शरीरमा भेटिएको छ। डब्लूएचओका अनुसार इबोला भाइरस मुख्य रूपले इबोला हेमोरेजिक फिभर हो। यो पानी वा हावाको माध्यमले फैलिँदैन। संक्रमित व्यक्तिको शरीरबाट निस्किने तरल पदार्थहरू र्‍याल, रगत, दिसा, पिसाब, पसिना, बिर्य, योनिरस, यौनसम्बन्ध वा इबोला संक्रमित शवलाई राम्ररी व्यवस्थित नगर्दा सर्छ।
भाइरस शरीरमा प्रवेश गरेको दुईदेखि २१ दिनमा ज्वरो, घाँटीमा खसखस, मांसपेशी र टाउको दुख्ने, शरीरमा विभिन्न प्रकारका धब्बा देखिने, वाकवाकी लाग्ने, पखाला हुनेजस्ता लक्षण देखिन थाल्छ। यसले मृगौला र कलेजोलाई प्रभावित गर्नुका साथै केहीमा आन्तरिक र बाह्य रक्तस्रावको समस्यासमेत देखिन्छ। कुनै उपचार वा खोप नभएको यो रोगको मृत्यु दर ९० प्रतिशतसम्म छ। यो रोगबाट निको भए पनि कम्तीमा ४९ दिनसम्म शारीरिक सम्बन्ध राख्नु हुँदैन।

प्रकाशित : श्रावण २५, २०७१ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?