कोसीको पानी नखानू: सरकार

कहाँको खानु?: स्थानीय
अतुल मिश्र, टीकाप्रसाद भट्ट

काठमाडौ — सरकारले सुनकोसीको पहिरोले ताल निर्माण भएको ठाउँदेखि कोसी ब्यारेजसम्मको नदी क्षेत्रको पानी र माछा तत्कालका लागि नखान आग्रह गरेको छ।


स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले उक्त क्षेत्रको नदीको पानीमा भाडा र लुगासमेत नधुन भनेको छ। नदीमा कैयौं व्यक्तिको शव र जनावरका लास सडेकाले संक्रमणको जोखिम रहेको भन्दै यस्तो आग्रह गरेको हो।
'हामीले सर्वसाधारणसँग सुनकोसी थुनिएर ताल बनेको ठाउँदेखि कोसी ब्यारेजसम्मको नदीको पानी उपयोगबाट जोगिने सल्लाह दिएका छौं,' इपिडिमियोलजीका निर्देशक डा.बाबुराम मरासिनीले कान्तिपुरसँग भने, 'अर्को जानकारी नदिइएसम्म त्यहाँको पानी र माछा नखानुस्, पानीले भाडा नमाझ्नुस् र लुगासमेत नधुनुस्।' इपिडिमियोलजीले उक्त पानीको निरन्तर परीक्षण गरी स्थिति सार्वजनिक गर्ने जनाएको छ।
शवहरू कुहिएर हाड मात्र बाँकी रहन केही समय लाग्ने उल्लेख गर्दै मरासिनीले भने, 'हालका लागि हामीले वषर्ाभरि पानी नखाने सल्लाह दिएका हौं, परीक्षणपछि पुनः हामी अर्को जानकारी दिनेछौं।'
कोसी मार्गमा दोलखा, काभ्रे, रामेछाप, सिन्धुली, ओखलढुंगा, खोटाङ, उदयपुर, सुनसरी र सप्तरी जिल्ला पर्छन्।
यसैबीच पहिरोका कारण थुनिएको नदी खुलाउन सरकारले एक कार्यटोली गठन गरेको छ। केन्द्रीय दैवी प्रकोप उद्धार समितिको आइतबार बसेको आकस्मिक बैठकले जनधनको क्षति र नदीको पानी जमेका कारण तल्लो तटीय क्षेत्रमा परेको जोखिम समेतको अध्ययन गरी एकीकृत योजना बनाउन एक उपसमिति पनि गठन गरेको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पुछिघाट (रामेछाप)

सरकारले सुनकोसीको पानी नखानु भन्ने सूचना सर्वसाधारणलाई दिएको छ। तर स्थानीयवासी प्रश्न गर्छन्, 'अन्त पानी छैन, यहाँको नखाएर के गर्नु?'
'पाए त धमिलो पानी खान किन पथ्र्यो र?,' स्थानीय हर्कबहादुर माझीले भने, 'मनै अमिलो पारेर धमिलो पानी खान बाध्य छौं,' सुनकोसीको पानी खानुपर्ने स्थानीयको पीडा सुनीसाध्य छैन्।
वषर्ाको सुनकोसी। त्यसमाथि पहिरोले किचेका शव मिसिएको छ। गन्हाउने लेदो माटो लिएर आउने पानी उबाएर खानु ओडारेका बासिन्दाको बाध्यता हो। गाउँमा पानीको अरू मुहान नहुँदा झन्डै ४० घर भएको ओडारेका बासिन्दा दैनिक यही सुनकोसीको पानी पिउन बाध्य छन्। जतिसुकै धमिलो किन नहोस्, पुछिघाटका बासिन्दाको पनि पानी लिन जाने अर्को ठाउँ छैन। गाग्रीमा उबाएर लगेको पानी थिग्रन समय लाग्छ। लेदो र बालुवा गाग्रीको पुच्छारमा निथारेका भरमा उनीहरू पानी पिउँछन्। 'गाग्री रित्तो हुँदा पिँधमा झन्डै एक माना लेदो हुन्छ,' स्थानीय आइतीमायाले भनिन्।
यो समस्या पुछिघाटका माझीलाई मात्र छैन, नदीकिनारमा बसोबास गर्ने धेरै बस्तीमा कोसीको गन्हाउने पानीले नै जीवन धानिएको छ। 'हाम्रामा झन्डै ४२ धुरी छन्,' पकरवासको पुछिघाटका माझीले भने, 'जस्तो भए पनि जीवन धान्ने अर्को विकल्प छैन। हम्मेसी मरिँदैन, रोग भनेको सामान्य नै हो,' उनले भने, 'अन्त नभएपछि नखाएर पो कहाँ जानु?'
यो पानी खाँदा लाग्ने रोगभन्दा पनि घिन मान्ने धेरै छन्। बाढीसँगै बगाएर ल्याउने सिनो, नदीकिनारमा सर्वसाधारणले गर्ने फोहोर, बजार केन्द्रबाट फालिएको फोहोरले घिनाउने महिला आँखा छोपेर पानी उबाउँछन्। 'यताउता हेर्ने हो भने केही न केही बगाएर ल्याएको देख्नुपर्छ,' पुछिघाटकी विपना माझीले भनिन्, 'घिन मानीमानी पानी लैजान्छौं।'
रामेछापको भटौली, पकरवास, भीरपानी, राकाथुम, भलुवाजोर, रामेछाप, सुकाजोर र रामपुर गाविसमा नदीकिनार बसोबास गर्नेले कोसीको पानी नै जीवन धान्ने आधार बनाएका छन्। अधिकांश माझी गाउँमा पाइपको खानेपानी सेवा पुर्‍याइएको भए पनि अहिले धारा सुकेका छन्। पर्याप्त वषर्ा नहुँदा पहाडी क्षेत्रका मूल धमाधम सुक्न थालेपछि किनारमा बसोबास गर्नेको सहारा त्यही कोसी भएको छ। दूषित पानी पिउँदा मानिसलाई पखाला, ज्वरो, हैजा, आउँ, जन्डिसजस्ता रोग फैलन सक्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. वासुदेव पाण्डेले बताए। रामेछापमा देखिएका महामारीजन्य रोग पानीकै कारण फैलिने गरेको पुष्टि भएकाले शुद्ध पानी पिउन स्थानीयलाई सचेत बनाउनुपर्ने उनले जनाए।






 
 
 
 

प्रकाशित : श्रावण २६, २०७१ ०७:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बैंकमा पैसा फलाफाल

रोशन अधिकारी

काठमाडौं — बैंक वित्तिय संस्थामा लगानी गर्न सक्ने रकम यत्तिकै थन्किएपछि उनीहरुसंगै सर्वसाधारण पनि मर्कामा पर्न थालेका छन् । एक बर्षदेखि बैंकमा अत्यधिक रकम जम्मा भइरहेको तर सोहि अनुसार लगानी नहुदा अर्थतन्त्रमै नया खाले जोखिम देखिने खतरा बढेको हो ।

ट्रेजरी विल्स र अन्तर बैंक ब्याजदर बर्षदिन यता एक प्रतिशत भन्दा कम हुनु अत्यधिक लगानी योग्य रकम (तरलता) भएको संकेत हो । बैंक वित्तिय संस्थामा बढि रकम भएपछि उनीहरु ट्रेजरी विल्समा लगानी बढाउन खोज्छन । लिलाम बढाबढमा खरिद गर्नुपर्ने विल्समा बढि लगानीकर्ता भएपछि स्वभाविक रुपमा ब्याज कम हुदै जान्छ । बैंकहरुसंग बढि रकम भएपछि उनीहरु सर्वसाधारणबाट पनि रकम लिन चाहदैनन । जसले गर्दा बचतको ब्याजदर पनि कम भएर सर्वसाधारणलाई मर्का पर्न थालेको छ ।  
०७० असार २५ देखि १ प्रतिशत भन्दा कम भएको व्याजदर पछिल्लो एक महिना देखि ० कै हाराहारीमा अडएको छ । अल्पकालिन व्याजदरको औसत अवस्था देखाउने ९१ दिने ट्रेजरी बिल्सको प्रतिफल यस्तो देखिएको हो । बैंकबाट विकास निर्माणका लागि आवस्यक आन्तरिक ऋण उठाउन र बजारको बढी तरलता (लगानी योग्य पुजी) खिच्न सरकारले राष्ट्र बैंक मार्फत जारी गर्ने उपकरण ट्रेजरी बिल्स हो ।
तर पछिल्लो एक वर्ष देखि बैंक वित्तिय संस्थाले निक्षेप अनुसार लगानी बढाउन नसक्दा र सरकारले पनि तोकेजति आन्तरिक ऋण नउठाउदा रकम थन्किने क्रम बढेको हो । रेमिट्यान्सले निरन्तर रकम थपिइरहेको छ । सरकार सँगै उद्योगी व्यवसायीले पनि आवस्यक मात्रामा रकम खर्च गर्न नसक्दा बैंकमा कर्जाको ठुलो माग आउन सकेको छैन । गत बर्ष सरकारको पुजीगत खर्च ७५ प्रतिशत मात्रै भएको छ । सरकारले खर्च नगर्दा निजी क्षेत्रको पनि क्षमता घटछ ।
पछिल्लो कारोबार अनुसार साउन २० गते ९१ दिने ट्रेजरी बिल्सको व्याज ० दशमलव ००४ प्रतिशत कायम थियो । राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ट्रेजरी बिल्स विक्रीका लागि आवेदन खोल्दा १३ अर्ब भन्दा बढीको आवेदन परेको थियो । न्यूनतम ० दशमलव ००४० देखि ० दशमलव ००४८ सम्म पाउने गरि आवेदन दिएका थिए ।
असार ३१ गते ९१ दिने ट्रेजरी बिल्सको व्याजदर हालसम्मकै न्युन ० दशमलव ०००४ मा समेत झरेको अधिकारीहरु वताउछन । यसका साथै बैंक वित्तिय संस्थाले गर्ने अन्तर बैंक कारोबारको व्याज पनि ०७० असार पहिलो साता पछि १ प्रतिशत भन्दा तलै छ । राष्ट्र बैंकको तथ्याकं अनुसार अन्तर बैंक व्याजदर ०७० असार १० मा १ प्रतिशत थियो । त्यसपछि घट्ने क्रम जारी रहेर पछिल्लो कारोबार दिनमा यो ० दशमलव १५ प्रतिशतमा आइपुगेको छ । पैसा अपुग हुदा एक बैंकले अर्कोबाट लिनुलाई अन्तरबैंक कारोबार भनिन्छ ।
करिब एक वर्ष देखि कायम रहेको अधिक तरलतालाई सम्बोधन गर्दै राष्ट्र बैंकले मौदि्रक नीति मार्फत ल्याइएको प्रावधान कार्यान्वयन गर्ने भनेको छ । 'मौदि्रक नीतिको ५२ देखि ६३ नम्बरको बुदासम्म तरलता सम्बन्धि बिभिन्न व्यवस्था गर्ने भनिएको छ' सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने,'यो चाढै आइदिए व्यवस्थापनमा सजिलो हुने थियो ।' नीतिले बैंकबाट सोझै निक्षेप खरिद गरेर बढी तरलता सरकारी खातामा राख्ने नयाँ उपाय अपनाउन लागेको छ । यस्तो खरिद प्रकृया अघि बढाउन निर्देशिका बनाउने काम भैरहेको छ । 'मौदि्रक नीतिमा उल्लेख भएका व्यवस्था तत्कालै आउदैछ' राष्ट्र बैंकका डेपुटी गर्भनर गोपाल काफ्लेले भने,'बजारको अवस्था हेरेर आवस्यक काम अघि बढाउदै लैजाने छौ ।'   
अधिक तरतलाको फाइदा पनि छ । ऋण लिन चाहनेले भने सस्तोमा पाउने सम्भावना बढेको छ । पछिल्लो समय निक्षेप सँगै कर्जाको व्याजदर पनि घट्ने क्रममा छ । अधिकासं बैंकले घरकर्जालाई ८ प्रतिशत सम्म झारेका छन् । बजार बढ्ने क्रममा रहेपछि सेयर धितो कर्जामा पनि व्याजदर घट्न थालेको छ । पछिल्लो समय बैंकले सेयरधितो राखेर ९ प्रतिशतको हाराहारीमा कर्जा उपलब्ध गराउदै आएको छ ।
के हो ट्रेजरी बिल्स ?
 सरकारले आफ्नो बजेटमा उल्लेख भए अनुसारको आन्तरिक ऋण उठाउनका लागि विक्री गर्ने प्रमाणपत्र -प्रोमिसरी नोट) लाई ट्रेजरी बिल्स भनिन्छ । मुद्रा बजार भित्र पर्ने यो उपकरणको अवधी १ वर्ष भन्दा कम हुन्छ । बैंक वित्तिय संस्थामा रकम थुप्रदै गएर अनुत्पादक क्षेत्रमा लगानी बढी अर्थतन्त्रमा समस्यामा पर्ने देखिए विल्स मार्फत रकम तानिन्छ ।  बिभिन्न समयमा निस्कासन र नविकरण भैरहने ट्रेजरी बिल्सको व्याजलाई बजारमा तरलता रहे/नरहेको जानकारी दिने सूचकका रुपमा हेर्ने गरिन्छ । यसको ब्याजदर कम हुदा बैंकहरुसंग धेरै रकम भएको संकेत दिन्छ । यो दर अत्यधिक कम हुनु सरकार, बैंक र सर्वसाधारण तीनैका लागि हानिकारक हो । बैंक वित्तिय संस्थाले बचतको केहि अंश अनिवार्य यसमा लगानी गर्ने पर्ने हुदा प्रतिफल कम आउछ । रकम थुपि्रएकाले बैंकहरुले जथाभावी लगानी गरेपनि २०६६ मा घरजग्गाका कारण अर्थतन्त्रमा देखिएको जस्तै समस्या आउनसक्छ । बचतको ब्याजदर कम हुन्छ । तर ऋण लिन चाहनेले भने सस्तोमा रकम पाउछन ।

प्रकाशित : श्रावण २६, २०७१ ००:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT