पारसको यो हालत

निर्मल निवासको "कमजोरी"
सीताराम बराल

काठमाडौ — थाइल्यान्डको उत्तरवर्ती च्याङ्माई सहरमा बस्दै आएका पूर्वयुवराज पारस शाह असोज २० गते निकै खुसी देखिन्थे । त्यो खुसी उनले आफ्नो फेसबुक पेजमै पोखेका पनि थिए । त्यसको कारण थियो, आफूविरुद्ध प्रहरीले लगाएको अभियोगमा थाई अदालतले सफाइ दिनु ।

पारसको यो हालत
उनले लेखेका थिए, 'साथीहरू, थाई अदालतले मलाई सफाइ दिएको छ ।'
पारसले २०६९ कात्तिक ७ मा थाइल्यान्डको पर्यटकीय नगरी फुकेटमा बस्दै आएको अपार्टमेन्ट तोडफोड गरेको र साथमा १२ ग्राम गाँजा भेटिएको अभियोगमा मुद्दा खेप्दै थिए । त्यही मुद्दामा थाई अदालतले उनलाई सफाइ दिएको थियो । आफू निर्दोष भएको जिकिर गर्दै उनले 'प्रहरीले फसाउन खोजेको' आरोपसमेत लगाएका थिए फेसबुकमा ।
तर तिनै पारस उस्तै अभियोगमा एक साता नबित्दै थाइल्यान्डमै पक्राउ परे । असोज २३ गते ५.८ ग्राम गाँजाको पार्सलसहित उनी पक्राउ परेका हुन् । लागू पदार्थको दुव्र्यसनी भएको भन्दै प्रहरीले पारसले गाँजा र गाँजा खान प्रयोग गर्ने ट्युबसहितको तस्बिर पनि सार्वजनिक गरेको छ ।
२ वर्षअघि फुकेटमा मात्र होइन, २६ असारमा पनि पारस बैंककको एउटा होटलबाट पक्राउ परेका थिए । त्यसबेला उनका साथमा ३ ग्राम गाँजा भेटिएको प्रहरीको अभियोग थियो । तर, उनले त्यसलाई अस्वीकार गर्दै आएका छन् । सम्भवतः यसपटकको आरोपको पनि उनले प्रतिवाद गर्नेछन् ।
शाहले गाँजालगायत लागूऔषध प्रयोग गरेको आरोपको प्रतिवाद गर्दै आए पनि सार्वजनिक भएको तस्बिरमा देखिने उनको अनुहारले गल्ती गरेजस्तो देखाउँछ ।
मोटो र सुगठिलो जीउडालका पारस थाई समाचार माध्यमहरूले सार्वजनिक गरेको तस्बिरमा मज्जासँग दुब्लाएका मात्र देखिन्नन्, गहुँगोरो वर्णका उनको अनुहार कालो देखिन्छ । अनि एकदमै टीठलाग्दो पनि । १९ जेठ २०५८ मा भएको बीभत्स दरबार हत्याकाण्ड सम्बन्धमा तत्कालीन प्रधानन्यायाधीश केदारप्रसाद उपाध्यायको अध्यक्ष्ातामा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले पनि देखाउँछ, युवराज दीपेन्द्र, तत्कालीन शाहज्यादा पारसलगायतका शाही युवा कसरी गाँजा र 'कालो पदार्थ' जस्ता लागूऔषधमा फसेका थिए ! दीपेन्द्रका अर्दलीले दिएको गाँजा भरिएको चुरोट उनीसम्म आफूले लगिदिएको पारसले प्रतिवेदनमा बताएका थिए ।
युवराज वा शाहज्यादा छँदा पारसले जे जति बित्तण्डा मच्चाए, त्यो सबै मादक पदार्थ र लागूऔषध प्रयोगका बेला भएका थिए । अरू बेला निकै भलाद्मी भेटिने उनी रक्सी र गाँजा खाएपछि सम्पूर्ण सन्तुलन र होस गुमाउने गर्छन् । २०६८ वैशाख अन्तिम साता पंक्तिकारसँगको कुराकानीमा उनले भनेका थिए, 'अरू बेला म ठीकै हुन्छु तर रक्सी खाएपछि चाहिँ आँखै देख्दिनँ । त्यसपछि के-के हुन्छ के-के ।' गणतन्त्र स्थापनापछि २०६५ असारमा सिंगापुरतिर लागेका उनी २ वर्षपछि थाइल्यान्ड बसाइँ सरे । त्यहाँ बसाइमा उनलाई सहयोग गर्दै आएका मातृभूमिका लागि नेपाली युवाहरूको अभियानका अध्यक्ष सुनील खड्का पारसले यस्ता लागूऔषध प्रयोग गर्ने भनाइमा सत्यता रहेको स्विकार्छन् । भन्छन्, 'उहाँको सबैभन्दा ठूलो कमजोरी नै साथीभाइ भेटेपछि लागूऔषध प्रयोग गर्नु हो । ल्याइदिन्छन् अरूले, पक्राउ र बदनाम हुनुचाहिँ उहाँले परिरहेको छ ।'
निर्मल निवासको "कमजोरी"
पछिल्लो पक्राउमा धेरथोर दोष निर्मल निवासको पनि देखिन्छ । पारसका कमजोरीबारे सबैभन्दा बढी जानकार भएर पनि निर्मल निवासले उनलाई नेपाल आउन स्वीकृति दिएको छैन । र, एक्लै थाइल्यान्डमा छोडिदिएको छ, जहाँ रक्सी र गाँजा खाएपछि सम्पूर्ण होस गुमाउने उनलाई नियन्त्रण गर्ने कोही छैन । त्यही कारण असारयता मात्रै उनी दुईपटक पक्राउ परिसकेका छन् । त्यो पनि गाँजासहित ।
गत साल हृदयाघात भएर लामो समय अस्पताल बसेका पारस त्यसपछि करिब ६ महिना सुधार गृहमा बसे । त्यसपछि नेपाल आउन चाहन्थे । उनको अधिकांश समय पुस्तक पढ्ने र डायरी लेख्ने गरेर बित्न थालेको थियो । दैनिक डायरी लेखनमा उनले देशप्रतिको माया र स्नेह पोख्दै नेपाल र्फकेर आफ्ना गल्तीप्रति प्रायश्चित गर्दै मातृभूमिका लागि केही गर्ने लेखेका थिए ।
तीव्र इच्छा देखाएपछि उनलाई नेपाल र्फकने टिकट पनि काटिएको थियो । तर र्फकेनन् । कारण थियो, निर्मल निवासको अस्वीकृति । उनलाई तत्काल नेपाल नआउन भनियो । हृदयाघात हुनुअघि निर्मल निवासले उनलाई खर्च पठाउन बन्द गरिदिएको थियो । तर उनी नेपाल आउन चाहेपछि फेरि पठाउन थालियो । यो आउन नदिने उपाय थियो । चेङमाईस्थित सुधार केन्द्रबाट केही महिनाअघि मात्र उनी बैंकक फर्केका हुन् ।
 स्रोतका अनुसार, पारसलाई नेपाल आउन नदिइनुमा मूलतः तीन कारण छन् । पहिलो- थाई प्रेमिका कन्निका चाइसनसँगै आइदिने हुन् कि भन्ने चिन्ता । किनभने, उनी थाइल्यान्डमा अहिले पारससँगै बस्छिन् । उनी आइदिइन् भने त्यसले पूर्वराजपरिवारलाई पारिवारिक रूपमा अप्ठ्यारो त पर्छ नै, थप सामाजिक बेइज्जती पनि हुनेछ । त्यसले निर्मल निवास भयग्रस्त छ ।
दोस्रो कारण हो, पारस नेपालमा रहे भने उनका क्रियाकलापका कारण राजनीतिक रूपमा पूर्वराजालाई पर्ने हानि । किनभने, उनले पुरानै हर्कत दोहोर्‍याउन थाले भने भित्रभित्र भइरहेको राजनीतिमा असर पर्नेछ । राजतन्त्र जानुमा पारसको नकारात्मक छविले पनि निकै ठूलो भूमिका खेलेको थियो । यो कुरा यस पंक्तिकारसँगको कुराकानीमा पारस आफैंले पनि स्वीकार गरेका थिए ।
तेस्रो कारण हो, पारसको आगमन पूर्वराजाका ती सल्लाहकारहरूलाई मन परेको छैन, जसले उनको अनुपस्थितिमा निर्मल निवासको प्रशासन र आर्थिक स्रोतमा हालिमुहाली जमाइरहेका छन् । स्रोतको भनाइ के छ भने, लागेको कुरा खुलस्त रूपमा भन्ने पारस नेपाल र्फकेमा राजतन्त्र फर्काउने योजना असफल हुने भन्दै उनीहरूले पूर्वराजालाई सल्लाह दिइरहेका छन् ।
कारण जेसुकै हुन्, पारस लागूऔषध प्रयोगको आरोपमा विदेशी भूमिमा पटकपटक पक्राउ पर्दा त्यसले पाउने अन्तर्राष्ट्रिय 'कभरेज' ले नेपालको हुनुसम्म बेइज्जती भएको छ । अप्ठ्यारोमा परेका छन्, थाइल्यान्डमा रहेका नेपालीहरू पनि । मातृभूमिका लागि नेपाली युवाको अभियानका अध्यक्ष सुनील खड्का भन्छन्, 'विदेशीहरूले नेपालीलाई पारसकै कोटिमा राखेर हेर्न थालेका छन् । थप बेइज्जती रोक्न निर्मल निवास, थाइल्यान्डस्थित नेपाली नियोग र नेपाली समुदायले समाधान खोज्नु जरुरी भइसकेको छ ।'




 

प्रकाशित : आश्विन २५, २०७१ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?