जनता संविधान किन बनेन भन्ने तर्क सुन्न चाहँदैनन् : रेग्मी

काठमाडौं — मन्त्रिपरिषदका पूर्व अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान निर्माण नगरेर दलका नेताहरु दोषारोपणमा उत्रिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

जनता संविधान किन बनेन भन्ने तर्क सुन्न चाहँदैनन् : रेग्मी

जनताले संविधान चाहेको उल्लेख गर्दै उनले राजनीतिक दलहरुका विश्लेषण, कारण र तर्कप्रति सार्वजनिक असहमति प्रकट गरेका छन् । 'जनता संविधान चाहन्छन्,' राजधानीमा शनिबार भएको कार्यक्रममा उनले भने, 'नबन्ने र नबनाएको कारण र तर्क व्याख्या सुन्न कत्ति पनि लालायित छैनन् र त्यो धैर्य पनि राख्दैनन् भन्ने मेरो बुझाइ छ ।'
कुशल राजनीतिज्ञले बोलेको कुरालाई कार्यान्वयन गरेरै देखाउनुपर्ने रेग्मीको धारणा छ । 'राजनीतिक विषयलाई र वाणीलाई जनताले महत्त्व दिएको र उहाँहरुबाट अभिव्यक्त भएका विचार वा वक्तव्यलाई बढी अर्थपूर्ण रुपमा लिइने पनि यही कारण नै हो,' उनले भने, 'अन्यथा शब्दमा प्रतिबद्धता देखाउने तर वास्तविकता त्यसको विपरित हुने अवस्था भएमा राजनीतिकको वाणी र सामान्य अवस्थामा कसैले गरेको ठट्टामस्करीमा कुनै भिन्नता हुँदैन ।'
रेग्मीले नेपाली जनताले अहिले आफूले मतदान गरेका राजनीतिक दल र नेताहरुलाई नियाली रहेको बताए ।  'उता भने राजनीतिक ध्रुवीकरण बढ्दै जानु, संविधानसभामा सत्तापक्ष र प्रतिपक्षको कित्ताकाट भई असहज वातावरण बढ्दै जानु दुर्भाग्यको अवस्था बन्न पुगेको छ,' उनको भनाइ थियो ।
मुलुकलाई संविधान दिँदै जनताको मन जित्ने वा सँधै जनतालाई अनिर्णयात्मक अवस्थामा राख्ने हात राजनीतिक नेतृत्वमा रहेको बताउँदै उनले समयमै अर्थपूर्ण वार्तामा बसेर समाधान खोज्न आग्रह गरे ।

प्रकाशित : माघ २४, २०७१ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?