निगमका महाप्रबन्धक खरेलद्वारा राजीनामा

सुरज कुँवर

काठमाडौ — नेपाल वायू सेवा निगमका महाप्रबन्धक मदन खरेलले राजीनामा दिएका छन् । उनले आजै राजीनामा पत्र मन्त्रालयलाई बोधार्थ दिंदै निगम सञ्चालक समितिलाई बुझाएका छन् ।
दुई बर्षअघि खुला प्रतिस्पर्धाबाट ४ वर्षका लागि निगमका महाप्रबन्धक नियुक्त भएका खरेलले निगमको लागि नयाँ एयरबस खरिद गरेका थिए ।

निगमका महाप्रबन्धक खरेलद्वारा राजीनामा
'काम गर्ने वातावरण पाए एक वर्षभित्र ११ नयाँ जहाज थप्ने' घोषणा गरेका नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक मदन खरेलले ४ वर्षे कार्यकाल पूरा नगरी आइतबार राजीनामा दिएका छन् । खुल्ला प्रतिस्पर्धाबाट निगम प्रमुख बनेका खरेलले २९ महिनापछि राजीनामा दिएका हुन् । ५५ वषर्ीय खरेलको कार्यकाल २०७३ मंसिरसम्म थियो ।
राजीनामापत्रमा स्वास्थ्यलाई कारण दिइए पनि निगमको सञ्चालक समितिका अध्यक्ष शिवशरण न्यौपानेसँगको असमझदारीका कारण राजीनामा दिइएको स्रोतले बतायो । राजीनामा बुझाइसकेपछि खरेल आफ्ना तीनवटै मोबाइल बन्द गरी सम्पर्कविहीन भएका छन् । खरेल पछिल्लो पटक पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग पारिवारिक नाता जोडिएका न्यौपाने सञ्चालक समिति अध्यक्षमा आएपछि असन्तुष्ट थिए । स्रोतअनुसार, अध्यक्षसँग मनमुटाब बढदै गएपछि खरेलले राजीनामा दिएका हुन् ।
'उहाँलाई काम गर्न नै दिइएन । असहयोग भयो,' निगम उच्च स्रोतले भन्यो । अध्यक्ष न्यौपानेले खरेललाई आफूले सघाएको र उनको काममा हस्तक्षेप नगरेको बताए । 'मैले महाप्रबन्धकलाई सहयोग गरेको
थिएँ । बरु उहाँले पछिल्लोपटक सञ्चालक समितिलाई जानकारी नदिई थुप्रै काम एक्लै गर्नुभयो,' अध्यक्ष न्यौपानेले भने ।
निगम स्रोतले खरेललाई अध्यक्ष र एमाले निकट कर्मचारी संगठनबाट सहयोग नमिलेको दाबी गरेको छ । दिल्लीका लागि तय गरिएको पहिलो उडान तोकिएको दिनमा हुन नसक्दा निगमको मात्रै नभई देशकै प्रतिष्ठामा आँच पुगेको थियो । त्यसैगरी अघिल्लो साता सानो फिल्टर अभावका कारण एयरबसको दिल्ली उडान रोकिएको थियो । एयरबसले पाइलट अभाव पनि झेल्दै आएको छ । दुई जना मात्रै पाइलट भएका कारण एयरबस निर्धारित उडान तालिकामा उडान भर्न सकिरहेको छैन । तालिमका लागि निगमले बोइङका चार जना क्याप्टेनसहित ६ जना पाइलटलाई एयरबसको तालिमका लागि गत पुसमा प|mान्स पठाएको थियो । तर तालिम पूरा गर्न नसकेर तीन जना बीचमै फर्केका थिए । 'यी सबै घटना हेर्दा खरेललाई असफल बनाउने षड्यन्त्र दखिन्छ,' खरेल निकटस्रोत भन्छ ।
खरेललाई मन्त्रिपरिषद्ले २०६९ मंसिरदेखि लागू हुने गरी महाप्रबन्धकमा नियुक्ति दिएको थियो । २७ वर्षदेखि नयाँ जहाज किन्न नसकेको निगममा खरेल आएपछि एयरबससहित तीन नयाँ जहाज थपिएका थिए । आइतबार निगमको न्युरोडस्थित सञ्चालक समितिलाई राजीनामा बुझाइसकेपछि खरेल सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेका थिए । खरेलले मन्त्रालयलाई बोधार्थ लेखेको राजीनापत्रबारे सचिव सुरेशमान श्रेष्ठलाई पनि जानकारी दिएका थिए ।

प्रकाशित : चैत्र १, २०७१ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?