१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सुर्खेत-जुम्ला सडकमा १५९ दुर्घटना

कालिकोट — कर्णाली राजमार्गअन्तर्गत सुर्खेत-जुम्ला सडकखण्ड सञ्चालनमा आएयता सानाठूला गरी १ सय ५९ वटा दुर्घटना भएका छन् । सबैभन्दा बढी ८५ दुर्घटना कालिकोट खण्डमा भएका छन् । दैलेखमा २९ र जुम्लामा २१ वटा दुर्घटना भएका छन् भने अन्य सुर्खेतको बागेसिमलदेखि कल्याणकाँधसम्मको खण्डमा भएको छ ।

सुर्खेत-जुम्ला सडकमा १५९ दुर्घटना

पछिल्लो समय 'मृत्यु मार्ग' नामसमेत दिन थालिएको कर्णाली राजमार्ग सुर्खेत-जुम्ला सडक
०६३ चैत ३० देखि सञ्चालनमा आएको हो ।
दुर्घटनाबाट हालसम्म २ सय ९ को ज्यान गइसकेको छ भने २ सय ४३ घाइते भए । घाइतेमध्ये ९३ जना अपांग भएका छन् । अधिकांश दुर्घटना सेनाले निर्माण जिम्मा लिएको दैलेखको साइगाउँदेखि कालिकोटको राचुली छिडेनासम्मको ८८ किलोमिटर सडक खण्डमा भएको छ ।
धेरैजसो दुर्घटना साँघुरो बाटो, मर्मत सुधारको अभाव, अत्यधिक मोड र पुराना गाडी तथा चालकको लापरबाहीजस्ता कारणले हुने गरेको कालिकोटका प्रहरी प्रमुख लक्ष्मण गुरुङले बताए ।
सबैभन्दा बढी क्षति हुने
दुर्घटना ०६६ चैत ५ गते कर्णाली राजमार्गको किटुभीरमा भयो । कालिकोटको जितेबाट सुर्खेत जाँदै गरेको काँक्रे बिहार यातायातको ना३ख ५८६८ नं. को बस चट्टानमा ठोक्किएर कर्णाली नदीमा खस्दा ४१ ज्ानाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनामा १० जना सख्त घाइते भए ।
पछिल्लो दुर्घटना सोमबार जुम्लाको रारालिही-१ स्थित गाडगडेनी भीरमा भएको छ । कर्णाली राजमार्गअन्तर्गत कालिकोट, दैलेखको तुलनामा सुरक्षित मानिएको जुम्ला खण्डमा भएको यो दुर्घटना उक्त जिल्लाको हालसम्मकै ठूलो रहेको प्रजिअ दीपेन्द्रराज पौडेलले बताए ।
यस्तै तीन महिनाअघि क्षमताभन्दा बढी यात्रु हालेर कालिकोटको जितेबाट सुर्खेतका लागि छुटेको बस सुर्खेत कल्याण नजिकै भीरमा खस्दा १८ जनाको मृत्यु भएको थियो भने २७ घाइते भएका थिए । तीन वर्षअघि कालिकोटको पाखा-१ सेरावाडा नजिक पर्ने बिर्तामोडमा भएको दुर्घटनामा चालकसहित २८ जनाको ज्यान गएको थियो ।
दुई साताअघि मात्र सुर्खेतबाट कालिकोटको मान्म आउँदै गरेको बोलेरो जिप कर्णाली राजमार्गअन्तर्गत भर्ता-८ हुल्म नजिकै दुर्घटना हुँदा ५ जना घाइते भएका थिए ।
छिटो र सजिलोका लागि गाडी चढदा दुर्घटनामा ३ जना आफन्त गुमाएकाहरूका लागि कर्णाली राजमार्ग चिहान बनेको फुकोट-७ का नरपति सुनारले बताए । 'हाम्मो -हाम्रो) लागि कर्णाली राजमार्ग चिहान बन्यो,' किटु बस दुर्घटनामा ३ आफन्त गुमाएका सुनारले भने, 'हिँडेर गएको भए अकालमा ज्यान जाने थिएन ।'
त्यस्तै, कर्णाली राजमार्गको दाहा छारेखोला, बिहानी, पिली, राचुलीलगायत दर्जन बढी ठाउँमा भएका दुर्घटनामा स्थानीयले अकालमै ज्यान गुमाएको नागरिक समाज कालिकोटका अगुवा मायालाल महताराले बताए । उनले राज्यको गैरजिम्मेवारीपनाका कारण कर्णाली राजमार्गमा बारम्बार दुर्घटना हुने गरेको गुनासो गर्दै भने, 'सडकको सुधार, ट्राफिक नियमको पालना, समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन आवश्यक छ ।'
कर्णाली राजमार्गको दैलेख साईगाउँ ११२ किलोमिटरदेखि कालिकोटको राँचुली छिडेना १९७ सम्म करिब ८८ किलोमिटर सडक ०६२ मा विस्फोटनसहित निर्माणको जिम्मा तत्कालीन शाही नेपाली सेनाले लिएको थियो । जुम्ला खण्ड भने तुलनात्मक रूपले दुर्घटना कम हुने सडकमा पर्छ ।
सुर्खेतदेखि दैलेख खिडीज्युला १२६ किलोमिटर खण्ड विश्व बंैकको सहयोगमा सडक विभागले ओटासिल कालोपत्रे सकेर त्यसमाथिको सडकमा पनि ३२ महिनादेखि विश्व बंैककै सहयोगमा ओटासिल कालोपत्रेको काम भइरहेको छ । 'भएको काम पनि कर्णालीवासीको आँखामा छारो हाल्ने गरी झारा टार्ने तरिकाले भइरहेको छ,' कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले भने । कालोपत्रे गरिएको जुविथा गाल्जे, दैलेख किटुलगायत ठाउँको ओटासिल उप्किसकेको स्थानीय नरबहादुर विकले बताए ।
सडक विभागले खिडीज्युलादेखि जुम्लासम्म सडकको विस्तार, मर्मत सुधार पिच गर्न ८ वटा ठाउँमा ठेकेदारमार्फत काम भइरहेको रोड सेक्टर डभलपमेन्ट प्रोजेक्टका आवासीय इन्जिनियर पुष्कर रेग्मी बताउँछन् । कर्णाली राजमार्गकै कालिकोटको सिमाना नाग्मदेखि मुगु सदरमुकाम गमगढीसम्मको ९४ किमि सडकखण्डको टयाक ओपन भएर दुई वर्षअघि सडक उद्घाटन गरिएको थियो । तर हिउँदमा लेकमा हिउँ पर्ने र वर्षामा पहिरो जाने समस्याले उक्त सडक पनि मौसमी रूपमा मात्र सञ्चालन हुने गरेको छ ।

प्रकाशित : चैत्र ३, २०७१ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?