२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

वार्ता गर्न नमानेपछि फर्किए मन्त्रीहरू

सरकार पेलेर जान खोज्दैछ : डा. केसी
अतुल मिश्र

काठमाडौ — चिकित्सा शिक्षा र सेवासम्बन्धी १० बुँदे मागसहित सात दिनदेखि आमरण अनशनरत प्रा.डा. गोविन्द केसीले सरकारी वार्ता टोलीसँग कुरा गर्न नमानेपछि स्वास्थ्य र शिक्षा मन्त्री त्यत्तिकै फर्किएका छन् । बरु उनले आफ्नो अहिंसात्मक सत्याग्रहलाई पेलेरै जाने मानसिकतामा सरकार रहेको भन्दै आक्रोश पोखेका छन् ।

वार्ता गर्न नमानेपछि फर्किए मन्त्रीहरू

'सरकारी पक्ष अझै गम्भीर र संवेदनशील देखिएको छैन, पेलेरै जान सकिन्छ कि भन्नेमा छ,' उनले कान्तिपुरसँग भने । डा. केसीले शनिबार मन्त्री र सत्तारूढ दलका नेताहरू भेट्न आए पनि माग पूरा गर्न गम्भीर नदेखिएको बताए । मन्त्रीद्वय नरहरि आचार्य र महेश आचार्य तथा कांग्रेस उपसभापति रामचन्द्र पौडेल, पार्टी प्रवक्ता दिलेन्द्र बडु र मुख्यसचिव लीलामणि पौडेलले भेटेका थिए । 'उहाँहरू समाधान गर्न होइन, हाम्रो कुरा सुन्नमात्र आउनु भएको हो जस्तो लाग्यो', केसीले भने ।
'त्यत्तिकै भेट्न आएर हुँदैन, ठोस कुरा केही ल्याएमात्र अर्थ हुन्छ । मैले उहाँहरूलाई भनें, अघिल्लो वर्ष तपाईंकै सरकारले सम्झौता गर्‍यो । उसैले उल्लंघन गरेपछि कसरी समस्या समाधान हुन्छ ?' उनले सुनाए । सरकारी वार्ता टोलीका शिक्षामन्त्री चित्रलेखा यादव र स्वास्थ्यमन्त्री खगराज अधिकारी शुक्रबार अबेर राति भेट्न आए पनि डा. केसीले वार्ता गरेनन् । दुवै मन्त्री त्यत्तिकै फर्किए । मन्त्रिपरिषदले शुक्रबार दुई मन्त्री सम्मिलित वार्ता टोली बनाएलगत्तै उनले आफूले कारबाहीको माग गरेका व्यक्तिसँग वार्ता नगर्ने प्रतिक्रिया दिएका थिए ।
'उहाँहरूलाई मैले तपाईंहरूलाई कारबाहीको माग गरेको छु, कसरी वार्ता गर्ने भनें,' उनले भने । वार्ता टोलीकै सदस्य मुख्यसचिव पौडेलसित भने कुरा गरेका थिए ।
डा. केसीले आफूलाई भेट्न आएका एमाले नेताहरूको धारणा बुझ्न नसकेको बताए । एमालेका उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले शनिबार भेटेका हुन् । 'उहाँहरू -एमाले नेता) हाम्रो सहानुभूति छ भन्न वा आफ्नो कुरा व्याख्या गर्न अथवा हामी सबै त्यस्तो होइनौं भन्न आउनुभएको हो, स्पष्ट हुन सकेन,' उनले भने । डा. केसीले आफ्ना १० वटै माग पूरा नभएसम्म अनशन नतोड्ने अडान दोहोर्‍याए । 'अन्तिम सत्य नेपाली जनता हो र मलाई आफ्नो देशवासीप्रति पूर्ण विश्वास छ', उनले भने ।
'अपूरणीय क्षति’ को खतरा आमरण अनशनको साताैं दिन शनिबार चिकित्सकले केसीको स्वास्थ्यमा 'अपूरणीय क्षति' हुन सक्ने खतरा औंल्याएका छन् । केसीको स्वास्थ्य यसअघिको अनशनको दाँजोमा तीव्र गतिले खस्किइरहेको छ । डा. रामचन्द्र सापकोटाले कुनै बेला केही भइहाले अतिरिक्त स्याहार आवश्यक हुने बताए । उनलाई बेलाबेला अक्सिजन दिइराखिएको छ ।
चिकित्सकद्वारा आन्दोलन घोषणा
नेपाल चिकित्सक संघले सरकारलाई डा. केसीको माग २४ घण्टाभित्र सम्बोधन गर्न सचेत गराएको छ । संघले सोमबारदेखि सबै स्वास्थ्य निकायका चिकित्सकले कालोपट्टी बाँधेर मात्र बहिरंग सेवा दिने घोषणा गरेको छ । 'सरकारले माग पूरा नगरे हामी कडा आन्दोलन सुरु गर्न बाध्य हुन्छौं,' संघका महासचिव डा. मुक्तिराम श्रेष्ठले भने, 'हाम्रो अन्तिम हतियार चिकित्सा सेवा बन्द गर्ने हो र सरकार संवेदनशील नभए हामी त्यहाँसम्म पुग्छौं ।' स्रोतका अनुसार चिकित्साशास्त्रका विद्यार्थीको दबाबका कारण संघ मंगलबारदेखि कडा विरोध कार्यक्रम ल्याउने तयारीमा छ ।
यसैबीच, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शनिबार ऐक्यबद्घता प्रकट गरेका छन् । उनीहरूले केसीका माग अविलम्ब पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । भट्टराईले उनका माग सम्बोधन गर्न आग्रह गरे भने श्रेष्ठले केसीका मागप्रति आफूहरूको पहिलेदेखि नै समर्थन रहेको बताए । यस्तै भेट्न पुगेका एमाले उपमहासचिव घनश्याम भुसालले उनको मागमा आफ्नो भावनात्मक समर्थन रहेको उल्लेख गरे ।
अनशन फिर्ता लिन आग्रह
सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले शनिबार डा. केसीलाई
भेटी अनशन फिर्ता लिन आग्रह गरे । उनले डा. केसीको माग पूरा गर्न र आमरण अनशन फिर्तार् गराउन सरकारले पहल गरिरहेको बताए । त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा गठित कार्यदलले दिने प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा नीति कार्यान्वयन गर्न सरकार पूर्ण प्रतिबद्घ रहेको उनले उल्लेख गरे ।

प्रकाशित : चैत्र १५, २०७१ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?