१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भारतीय सेनाको आफूखुसी उडान

सरोजराज अधिकारी

काठमाडौ — महाभूकम्पपीडित नेपालीको खोज, उद्धार र राहतका लागि आएको भारतीय सैनिक टोलीले समन्वय नगरी आफूखुसी उडान कार्यलाई निरन्तरता दिएपछि नेपाली पक्ष असन्तुष्ट बनेको छ। विमानस्थलस्थित सुरक्षा स्रोतका अनुसार नेपाली पक्षको आवश्यकताभन्दा भारतीय सैनिकले नेपाल-चीन सीमातिर मात्र उडान गर्ने गरेबाट प्रभावकारी रूपमा उद्धार कार्य हुन सकेको छैन।


भारतीय टोलीको बढीजसो उडान रसुवाको लाङटाङ, सोलुखुम्बुको लुक्लातिर हुने गरेको छ। उनीहरूले पटकपटक उत्तरी नाका तातोपानी जाने चासो व्यक्त गर्ने गरेको विमानस्थलमा खटिएका नेपाली सैनिकको गुनासो छ। विदेशी सैनिक तथा उद्धारकर्ताको समन्वयको जिम्मा पाएको नेपाली सेनाका अधिकृतहरूसमेत भारतीय पक्षको रवैयाबाट आजित बनेका छन्।
सैनिक जनसर्म्पर्क निर्देशनालयले बिहीबार दिउँसो गरेको पत्रकार सम्मेलनमा पनि यस विषयमा प्रश्न उठेको थियो। तर, सैनिक अधिकारीहरूले नेपाली सेनालाई जस्तो भारतीय सेनालाई यहाँको भूगोलबारे जानकारी नभएको जवाफ दिएका थिए। नेपाली सेनाका तर्फाट खोज, उद्धार र राहत कार्यको संयोजन गरिरहेका उपरथी विनोज बस्न्यातले साँझ कान्तिपुरसँग कुरा गर्दै भने, 'केही गुनासो सुनिएको छ। सबैले हाम्रो समन्वयमा काम गर्नुपर्छ। हामी सबैको उद्देश्य विपत्मा परेकाको उद्धार गर्नु हो, कसैले अन्यथा सोच्नु हु“दैन। केही समस्या छ भने भोलि नै बुझेर समाधान गरिनेछ।'
भारतले महाभूकम्पप्रति सबभन्दा छिटो चासो देखाएर ठूलो संख्यामा सेना, उद्धारकर्ता र राहत पठाएको थियो। नेपाली सेनासँग सीमित हेलिकप्टर मात्र रहेको अवस्थामा भारतीय पक्षले पठाएका हवाई साधनहरू उद्धार कार्यमा प्रभावकारी हुने ठानिएको थियो। तर, त्यससँगै आएका भारतीय सैन्य कमान्डरको व्यवहारबाट समन्वयकर्ता नेपाली सैनिक रुष्ट भएका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भूकम्प गएको एक घण्टाभित्रै आपतकालीन बैठक राखेर तत्काल उद्धारका लागि चारवटा नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) टोली नेपाल पठाउने निर्णय गरेका थिए। एनडीआरएफका महानिर्देशक मेजर जनरल ओपी सिंहले टोलीको कमान्ड गरिरहेका छन्।
भारतले जुन रूपमा जनशक्ति, हवाईलगायतका साधन, उपकरण परिचालन गरेको छ, त्यसअनुरूप खोजी तथा उद्धार हुन नसकेको सैनिक स्रोतले बतायो। भारतीय पक्षले सुरुवाती दिनमा २ साताअघि सगरमाथा आरोहणमा आएका आफ्ना ३९ जनाको सैन्य टोलीको उद्धारमै ध्यान केन्द्रित गरेको थियो। त्यसयता पनि उसले आफ्ना नागरिक, भूपू गोर्खाको व्यवस्थापन गर्न यहाँ खटिएका सैन्यलगायतका कर्मचारी कता छन्, त्यतै उडान गर्ने गरेको छ।
भारतीय एमआई-१७ मा बिहीबार लुक्ला गएका एक सञ्चारकर्मीका अनुसार हेलिकप्टरले त्यहाँ अलपत्र भारतीय पर्यटक, नागरिकलाई मात्रै उद्धार गरी फर्केकोमा स्थानीयले आपत्ति जनाएका थिए। भारतीय हेलिकप्टरले आफ्ना सञ्चारकर्मीलाई मात्र उडाउने गरेकोमा नेपाली सेनाले कडाइ गरेपछि बुधबारबाट केही नेपाली सञ्चारकर्मीलाई पनि साथै लैजाने गरेको छ। 'भारतीय सेनाको प्राथमिकता उद्धारका साथै उत्तरी सीमाको वस्तुस्थिति अवलोकन गर्नेजस्तो देखियो,' भारतीय हेलिकप्टरमा लुक्ला गएका एक सञ्चारकर्मीले बताए।
यता बुधबार राति 'प्राविधिक' कारण देखाएर चिनियाँ जनमुक्ति सेनाको विशेष विमानलाई अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको अनुमति दिइएन। चिनियाँ पक्षले कोदारी राजमार्ग मर्मतलगायत सीमावर्ती क्षेत्रको खोज तथा उद्धारमा विशेष चासो राखे पनि भारतीय पक्षको अनिच्छाकै कारण अनुमति नदिइएको स्रोतले बतायो। यस विषयमा एमालेका कतिपय नेताहरूले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसमक्ष गम्भीर असन्तुष्टि जाहेर गरेका छन्।
एमाले केन्द्रीय सदस्य तथा सभासद राजन भट्टर्राईले भारतीय सेनाका उद्धारकर्ता समन्वयमा रहन नचाहेको, आफ्ना नागरिकको उद्धारमा मात्र बढी ध्यान दिएको, अन्य प्राथमिकता पनि रहेकोजस्ता गुनासो सरोकारवालाले आफूलाई पनि सुनाएको बताए।
विपत्का बेला 'अलटुरिजम' को मान्यता र्सवव्यापी रहेको उल्लेख गर्दै उनले भने, 'अलटुरिजम भनेको विशुद्ध सेवाभावले गरिने कार्य हो। अहिले हामीले त्यही चाहेका छौं। कसैले सेवाभावबाहेक अन्यथा सोच्नु हुँदैन। यदि कसैले त्यस्तो सोचेको छ र समन्वयमा बस्न नचाहेकोजस्ता कुरा सही हुन् भने सम्बन्धित निकायले गम्भीर रूपमा ध्यान दिएर आवश्यक कदम चाल्नुपर्छ।'

प्रकाशित : वैशाख १८, २०७२ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?