सर्वोच्चका पूर्व न्यायाधीश भरतराज उप्रेतीद्वारा आत्महत्या

कृष्ण आचार्य

काठमाडौ — सर्वोच्चका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गरेका छन् । ६३ वर्षीया उप्रेती ज्ञानेश्वरस्थित आफ्नै निवासको बैठक कक्षमा झुन्डिएर आत्महत्या गरेका हुन् । सोमबार बिहान साढे ३ बजे झुन्डिएको अवस्थामा उनको शव भेटिएको पारिवारिक स्रोतले जनाएको छ ।


राति १० बजेपछि उनी झुन्डिएको अनुमान गरिएको छ । उनीसँगै काम गरिरहेका पायनीयल ल र्फमका अधिवक्ता शिव रिजालका अनुसार उनको शव शिक्षण अस्पतालमा राखिएको छ । उनी श्रीमतीसँग त्यस घरमा बस्दै आएका थिए । उनको दुई छोरी र एक छोरा छन् । छोरा अनुप उप्रेती सितापाईलामा छुट्टै बस्दै आएका थिए । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम कार्कीले उप्रेतीको मृत्यु सम्बन्धमा छानवीन भइरहेको बताए । 'उनको शव झुन्डिएको अवस्थामा फेला परेको हो,' कार्कीले भने, 'त्यस सम्बन्धमा छानविनपछि मात्र थप कुरा भन्न सकिन्छ ।' उप्रेतीको खल्तीमा भेटिएको नोटमा इच्छा मरण भनि लेखिएको उनले बताए । तर, उक्त लिखित नोटको पनि परीक्षण गर्न बाँकी रहेको कार्कीले जनाए ।
'मेरो काज क्रिया गर्नुपर्दैन । मेरो शवलाई अध्ययनमा प्रयोग गर्न शिक्षण अस्पताललाई दिनु र काज क्रिया वापतकोे ५ लाख राहत कोषमा जम्मा गरिदिनु,' उप्रेतीको खल्तीबाट भेटिएको लिखित नोटमा उल्लेख रहेको कार्कीले जानकारी दिए ।
न्यायक्षेत्रमा चर्चित र विवादरहित न्यायधीशका रुपमा परिचित उप्रेती सर्वोच्चको अस्थायी न्यायाधीशबाटै अवकास पाएका हुन् । न्यायाधीश हुनु अगाडि उनी कम्पनी लयरका रुपमा चर्चित थिए । उनी पछिल्लो समय निजी क्षेत्र र कर्पोरेट क्षेत्रको कानुनी परामर्शमा संलग्न थिए ।


उप्रेती बारे पढ्नुहाेस:

बेन्चबाट बारमा


 
 
 
 
 
 
 
 

प्रकाशित : जेष्ठ ११, २०७२ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोको जोखिम

सम्पादकीय

काठमाडौ — भूकम्प र त्यसपछि झन्डै एक महिनासम्म निरन्तरका शक्तिशाली पराकम्पनहरूले...

भूकम्प र त्यसपछि झन्डै एक महिनासम्म निरन्तरका शक्तिशाली पराकम्पनहरूले जमिनमुनिको भूभागलाई त खल्बलाएको छ नै, कतिपय स्थानमा धाँजासमेत फाटेका छन्। भूकम्पको यही असरले ठूला पहाडहरूमा समेत धाँजा फाटेको छ जसले अबका दिनमा थप विपत्ति ल्याउने देखिन्छ। त्यसमाथि आइतबार म्याग्दी सदरमुकामबाट ९ किलोमिटर उत्तर राम्चेमा गएको पहिरो र त्यसले कालीगण्डकी नदी थुनिदिएको घटनाले पनि अबका दिनमा यस्ता प्रकोपबाट बच्ने उपाय खोज्नुपर्ने सन्देश दिएको छ। राम्चेमा आइतबारको मध्यरातदेखि गएको पहिरो दिनभरि नै गइरह्यो भने १६ घण्टा थुनिएपछि पानी ‘ओभरफ्लो’ भई कालीगण्डकी खुलेको छ। यद्यपि किनाराका बस्तीहरूमा जोखिम कायमै छ।
सुख्खा पहिरोका कारण कालीगण्डकी थुनिएको हो भने यस्तै पहिराले सडक अवरुद्ध गरिदिने वा बस्तीलाई नै जोखिममा पार्ने सम्भावनालाई नकार्न सकिँदैन। जसरी ‘क्रयाक’ आएको घर भत्किने सम्भावना छ, त्यसैगरी ‘क्रयाक’ आएका/धाँजा फाटेका पहाडहरू नै खस्ने सम्भावना पनि उत्तिकै छ। त्यसो त यस किसिमको पहिरोलाई रोक्न सकिँदैन बरु त्यस्तो स्थानमा रहेका व्यक्तिहरूलाई अन्यत्र सारेर मानवीय क्षति हुनबाट बचाउने हो। त्यति मात्र होइन, अब छिट्टै नै बर्खायाम सुरु हुँदैछ। पानी पर्न थालेपछि आउन सक्ने जोखिम अझ भयावह हुन सक्छ। वर्षायाममा यसै त पहिरो जाने गर्छ भने भूकम्पले थिलथिलो भएका पहाडहरू वर्षात्का कारण खस्ने सम्भावना अझ बढी रहन्छ। र, पहिरोको यस किसिमको प्रकोप धेरैतिर एकैपटक आइपर्न सक्छ जसप्रति सचेत हुन जरुरी छ। मुख्यत: त्यस्तो प्रकोपबाट हुन सक्ने मानवीय क्षति रोक्ने/कम गराउनेतर्फ ध्यान दिन आवश्यक छ।
पहिरोले पहाडी बस्ती यसै पनि जोखिममा छन् भने अर्काेतिर बेंसीमा रहेका बस्तीहरूसमेत यसको असरबाट अछुतो रहन सक्दैनन्। पहाड खसेपछि त्यसबाट आउने गेग्रानले बस्तीका साथै त्यहाँ हुने/भएका खेतीपातीलाई पनि उत्तिकै हानि गर्न सक्छ। त्यसैले पहिरोको प्रकोपका कारण आइपर्ने क्षतिलाई न्यूनीकरण गर्नेतिर ध्यान दिन आवश्यक छ। त्यसका लागि स्थानीयले पनि आफ्नो गाउँ–ठाउँ नजिक पहाडहरूमा धाँजा फाटेको वा पहिरो जाने सम्भावना देखिएका स्थानहरूका विषयमा समुदायका साथै स्थानीय प्रशासनलाई जानकारी दिन आवश्यक छ। यस्ता सूचनाहरूपछि स्थलगत अध्ययन गरी स्थानीय प्रशासनले आवश्यक परे बस्ती नै स्थानान्तरण गर्ने निर्णय लिन ढिलाइ गर्नु हुँदैन। स्थानीय समुदायले पनि आफ्ना ठाउँ–बस्तीमा देखिएका स्थितिको विषयमा सूचना दिन हिचकिचाउनु हुँदैन। र, आफैं पनि सम्भावित विपत्तिदेखि सतर्क हुन आवश्यक छ।
सरकारले पनि यस्ता सम्भावित विपत्तिको सामना गर्ने तयारी गर्न आवश्यक छ। यस्तो पहिरो गएर नदी थुनिएमा वा सडक अवरुद्ध भएमा तत्कालै उद्धारका लागि आवश्यक पर्ने उपकरणको जोहो गर्नेतर्फ विचार गर्नुपर्छ। २०७१ साउन १७ मा सिन्धुपाल्चोकको माङ्खा गाविसको जुरे पहिरोका कारण थुनिएको सुनकोसी नदी सेनाले ३७ दिनपछि बारुद र एक्स्काभेटरको प्रयोग गरी बाँध फुटाएर जमेको पानीको गहिराइ २० मिटरमा झारेको हो जसका कारण तल्लो भेगमा सम्भावित बाढीको जोखिम घटेको हो। कालीगण्डकी थुनिँदा पनि तत्कालै खुलाउन सक्ने अवस्था रहेन। बरु, १६ घण्टापछि पानी भरिएर बग्न सुरु भएको छ। यी घटनाले हामीसँग त्यस्ता प्राकृतिक प्रकोपको सामना गर्न आवश्यक प्रकरण, सीप र जनशक्ति नभएको प्रस्ट्याएको छ। पहिरोका कारण यसैगरी नदी थुनिएमा वा सडक अवरुद्ध भए तत्कालै खुलाउन सक्ने सामथ्र्य विकास गर्न जरुरी छ। त्यसो भयो भने मात्रै यस्तो प्राकृतिक विपत्तिबाट हुने सक्ने मानवीय तथा भौतिक क्षतिलाई कम गर्न सकिन्छ ।



प्रकाशित : जेष्ठ ११, २०७२ ०८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्