कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा.केसी आजदेखि अनशनमा

काठमाडौं — सरकारले माग सम्बोधन नगरेको उल्लेख गर्दै डा.गोविन्द केसी बुधबारदेखि आमरण अनशन बस्ने भएका छन् । ‘माग पूरा गर्ने पहल भएको छैन,’ उनले भने, ‘बुधबार दिउँसो चार बजेदेखि अनशन सुरु गर्ने कार्यक्रम छ ।’

डा.केसी आजदेखि अनशनमा
सरकारले माग सम्बोधन नगरेको उल्लेख गर्दै डा.गोविन्द केसी बुधबारदेखि आमरण अनशन बस्ने भएका छन् । ‘माग पूरा गर्ने पहल भएको छैन,’ उनले मंगलबार कान्तिपुरसँग भने, ‘बुधबार दिउँसो चार बजेदेखि अनशन सुरु गर्ने कार्यक्रम छ ।’
सबै सम्झौता कार्यान्वयन हुने विश्वास गर्न सकिने ठोस कुरा आउने सम्भावना नरहेकाले आफूले अनशन थाल्ने उनले बताए ।
केसी छैटौं पटक आमरण अनशनमा बस्न लागेका हुन् । सरकारले माग सम्बोधन गर्ने लिखित सम्झौता गरेपछि पाँचौं अनशन उनले १२ औं दिन तोडेका थिए ।
उनले यस पटक ६ बुँदे माग राखेका छन् । मन्त्रीमण्डलबाट माथेमा प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसहित आवश्यक नीति र कानुन निर्माणको प्रक्रिया तत्काल सुरु हुनुपर्ने बताएका छन् । प्रतिवेदनले सुझाएको संरचनाअनुसार तत्काल चिकित्सा शिक्षा आयोगसमेत गठन गरिनुपर्ने उनको माग छ ।
त्रिविसहित सबै विश्वविद्यालय र प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त गर्दा दलीय भागबन्डा नभई वरिष्ठता र कार्य दक्षताका आधारमा नियुक्त गर्न तत्काल उच्चस्तरीय आयोग गठन गरेर प्रक्रिया अघि बढाउनुपर्ने माग केसीको हो ।
विगतमा भएका सहमतिका बुँदा तत्काल कार्यान्वयन गरिनुपर्ने जनाउँदै केसीले चिकित्सा विश्वविद्यालय विधेयक तुरुन्त संसदमा पेस हुनुको साथै काठमाडौं विश्वविद्यालयले अनियमिततापूर्वक दिएको सम्बन्धन स्थगन गर्दै विद्यार्थीको उचित व्यवस्थापन गरिनुपर्ने भनेका छन् ।
जयराम गिरी प्रतिवेदनले दोषी ठहराएका चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वपदाधिकारीलाई छानबिन र कारबाहीका लागि अख्तियार पठाउने सहमति भए पनि हालसम्म अख्तियारले छानबिनका कुनै काम अघि नबढाएको जनाउँदै तुरुन्त छानबिन गरी कारबाही गरिनुपर्ने उनको माग छ ।
मेडिकल कलेज सम्बन्धन र सिट प्रकरणमा अनियमिततामा मुछिएका विश्वविद्यालय र काउन्सिलका पदाधिकारीहरूमाथि छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले म्याद गुज्रिँदासमेत प्रतिवेदन नबुझाएकाले सतही र हचुवा छानबिन नभई तत्काल गम्भीर छानबिनको थालनी हुनुपर्ने मागसमेत केसीको छ ।
अन्य मागमा मेडिकल काउन्सिल, हेल्थ रिसर्च काउन्सिल र संस्कृत विश्वविद्यालयअन्तर्गतको आयुर्वेद अध्ययन संस्थानमा दलीय बफादारीका आधारमा पदाधिकारीहरू नियुक्त गरिएकाले तुरुन्त वरिष्ठता र कार्य दक्षताका आधारमा नयाँ पदाधिकारी नियुक्त गरिनुपर्ने छन् ।

प्रकाशित : श्रावण २७, २०७२ ०३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?