आयोडिनयुक्त नुन सेवन गर्ने बढे

कान्तिपुर संवाददाता

पर्सा — दशक लामो प्रयासपछि मध्य तराईका अधिकांश बासिन्दाले आयोडिनयुक्त नुन खान थालेका छन् । विगतमा चेतना अभावमा खुला तथा ढिके नुन सेवन गर्थे ।

केहीले भारतबाट आयात गरिएको अखाद्य नुन खान्थे । यस्ता उपभोक्तालाई लक्षित गरी आयोडिनयुक्त प्याकेट नुन प्रयोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएपछि अहिले मध्य तराईका ४ जिल्लाका करिब ९० प्रतिशत उपभोक्ताले आयोडिनयुक्त नुन प्रयोग गर्न थालेका हुन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय प्रमुख अमोज लामिछाने ११ वर्षयताको निरन्तरको प्रयासपछि सफलता मिलेको दाबी गरे । ‘पर्सादेखि सर्लाहीसम्मका बजार र उपभोक्तालाई लक्षित गरी कार्यालयले प्याकेटमा बिक्री हुने आयोडिनयुक्त नुनको प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ,’ उनले भने, ‘कार्यक्रम सुरु गर्दा आव ०६१/६२ मा यस क्षेत्रका जम्मा २२ प्रतिशत उपभोक्ताले प्याकेट र ७८ प्रतिशतले खुला नुन प्रयोग गर्दै आएका थिए, हाल गत आवसम्म आउँदा करिब ९० प्रतिशत उपभोक्ताले आयोडिनयुक्त प्याकेट नुन प्रयोग गर्न थालेका छन् ।’

सीमावर्ती भारतीय बजारमा अझै पनि खुला नुन बिक्री हुने र धेरै भारतीयले चेतनाको अभावमा यही प्रयोग गरिरहेको अवस्था छ । सीमावर्ती नेपाली गाउँका बासिन्दाले पनि यसैको सिको गरेका थिए । ‘यस्ता उपभोक्तालाई लक्षित गरी कर्पोरेसनले नियमित जनचेतनामूलक कार्यक्रम गरिरहेको छ,’ उनले भने, ‘यो त्यसकै परिणाम हो ।’ दक्षिण एसियाली मुलुकहरूमध्ये नेपालमा सबैभन्दा पहिले ४ दशकअघि नै आयोनुनको सेवन सुरु गरिएको लामिछाने बताउँछन् । 

आयोडियुक्त नुन खाँदा शारीरिक वृद्धि हुने, गलगाँड हुँदैन ।

प्रकाशित : माघ २७, २०७३ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रभावकारी बन्दै महिला तालिम

तालिमले घर फिर्ता, स्कुल जान र व्यवसायमा संलग्न हुन सहयोग
कान्तिपुर संवाददाता

कास्की — चितवन भन्डाराकी शर्मिला तामाङ र दाङकी आशा चौधरीलाई परिस्थितिले पोखरा ल्यायो । दुवैले बाल्यकालमा पढ्न पाएनन् । यतिबेला उपमहानगरभित्रै टेलरिङ व्यवसाय गरिरहेका दुवैको भनाइमा बालश्रम बढाउने प्रमुख कारक अशिक्षा हो ।

तामाङलाई आमाले १२ वर्षकी छँदा पोखरा ९, रामकृष्ण टोलकी नन्दकुमारी गुरुङकहाँ घरेलु कामदारका रूपमा राखेकी थिइन् । मासिक हजार रुपैयाँ पारिश्रमिकमा । ७ वर्षपछि गुरुङ बेलायत गइन् । तामाङ रत्न इम्पोरियम सञ्चालकका घरमा काम गर्न थालिन् । घरेलु काममा बच्चा हेर्नुपर्ने जिम्मेवारी पनि थियो । ‘मलाई साहुनीले उद्योग वाणिज्य संघले तालिम दिन्छ भनेर सम्पर्क गराइदिनुभयो,’ उनले भनिन्, ‘बालश्रम न्यूनीकरणको कार्यक्रम रहेछ, ६ महिने तालिम दियो र, आफ्नै व्यवसाय गर्ने बाटो पनि देखाइदियो ।’

चौधरीको भोगाइ पनि तामाङभन्दा फरक छैन । ‘८ वर्ष हुँदै दाङको होटलमा काम गर्थें, काम धेरै लगाउने, खान नदिने, तनखा पनि थोरै । धेरै किचकिच थियो,’ उनले भनिन्, ‘अनि काठमाडौं गएँ, १४ वर्षको उमेरमा बिचौलियाको माध्यमबाट पोखरा आइपुगें ।’ यहाँका ३ घरमा ६ वर्ष काम गरेपछि साथीको मद्दतले सीपमूलक तालिम लिन र साथीसँगै मिलेर आफ्नै व्यवसाय गर्न बाटो खुलेको उनले बताइन् । पर्यटकीय नगरीमा घरेलु कामदार, होटल, पसल, ग्यारेज आदिमा भेटिने बालश्रमिक सबै तामाङ र चौधरी जतिकै दु:ख खेपेपछि सुख पाउनेहरू भेट्नु सजिलो छैन । बालश्रम निषेध गरिए पनि यो पूर्ण रूपमा हटेको अवस्था छैन ।

बाबुआमाको झगडा परिरहन्थ्यो । आमाले दोस्रो विवाह गरिन् । चितवनको गीतानगर छाडेर आमासँगै पोखरा आएपछि ११ वर्षीयले तितेपानीमा घरेलु कामदारका रूपमा काम गरिरहेका छन् । उनलाई बालश्रम न्यूनीकरणकी शिक्षिका प्रतिभा पालिखेले घरदैलो गर्ने क्रममा भेटेकी थिइन् । ‘घरबेटीकै सहमतिमा हामीले ल्याएर ९ महिने तालिम दियौं,’ उनले भनिन्, ‘अहिले उनी ५ कक्षामा पढिरहेका छन् ।’ चितवनकै माडीकी अर्की किशोरीले पनि यस्तै अवस्थामा पढ्न पाउने बाटो खुलेको छ ।

उपमहानगरमा बालश्रमिक खोजेर सीपमूलक तालिम र पढ्ने अवसर दिन थालिएको २०५६ सालदेखि हो । यसका लागि उपमहानगरपालिकासँगै विभिन्न संस्थासँग मिलेर पोखरा उद्योग वाणिज्य संघले काम गरिरहेको छ । ‘सभ्य सहरका लागि यो ठूलो जिम्मेवारी हो । विभिन्न परिस्थितिले बालबालिका पढ्ने उमेरका काम गर्न पुगेका छन्,’ संघका प्रथम उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुले भने, ‘बालबालिका भविष्य हुन भनेर भाषणले हुँदैन, हामीले सकेजति उनीहरूको जीवन सपार्न प्रयास गर्नुपर्छ ।’ संघको यो कार्यक्रमले घरदैलो गर्दै घरेलु बालश्रममा रहेका बालबालिका खोज्छ । काम लगाउने वा घरधनीको सहमति लिएरै उनीहरूलाई तालिम दिने गरेको छ ।

शिक्षिका पालिखेका अनुसार घरेलु कामदारका रूपमा मात्रै होइन बालबालिका गाडीका वर्कसप र ढलानका काम गरिरहेको पनि भेटिन्छन् । ‘पहिलेभन्दा त्यसरी भेटिने दर काम भएको छ तर, पुरै हटिसकेको छैन,’ उनले भनिन्, ‘पोखरामा बाहिरबाट आएका र ल्याइएका बालबालिका यस्तो अवस्थामा भेटिन्छन् ।’ श्रममा संलग्न बालबालिका विभिन्न अवस्थामा भेटिने गरेका छन् । कति त सम्पर्कमा आएपछि घर फर्कन चाहन्छन् । त्यस्तालाई अभिभावक सम्पर्क गराएर फर्काउने गरिएको संघकी सुपरभाइजर विजया अधिकारीले बताइन् ।

‘सबै रहरले वा अभिभावकको करले कामदार भएका हुँदैनन्,’ उनले भनिन्, ‘घर जान चाहने र अवस्था उनीहरू फर्केपछि खानलाउन र पढ्न पाउनेछ भने हामी आमाबाबुसँग पुनर्मिलन गराइदिन्छौं ।’ सीपमूलक तालिमपछि गरिखान सक्नेका लागि कोषमार्फत सहयोग पनि दिने गरिएको उनले बताइन् ।

उनका अनुसार कार्यक्रममार्फत हालसम्म ५५ सय बालबालिका संघको सम्पर्कमा आइसकेका छन् । यतिबेला कार्यक्रमको नियमित सम्पर्कमा रहेर विद्यालय जाने गरेका बालबालिकाको संख्या ६ सयको हाराहारी छ ।

प्रकाशित : माघ २७, २०७३ १०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT