कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेनेटरी प्याड घरमै

अगन्धर तिवारी

पर्वत — क्याङ ९ खुइँजरीकी १९ वर्षीया देवी पुनलाई महिनावारी हुँदा एउटै समस्याले सताउँथ्यो । गाउँमा खोजेका बेला सेनेटरी प्याड नपाइने । ‘प्याड नभएकै कारण गाउँमा पढ्ने बेलासम्म कति दिन स्कुल छुटाएर बसें,’ उनले भनिन्, ‘गाउँका सबै साथीको समस्या एउटै थियो ।’ महिनावारी हुँदा बग्ने रगत लुकाउन र सरसफाइमा ध्यान दिन नसकेकै कारण अझै पनि धेरै छात्राको स्कुल छुट्ने उनले बताइन् ।

सेनेटरी प्याड घरमै

चुवाकी १६ वर्षीया सुस्मिता शर्मा चापागाईंको समस्या पनि उस्तै हो । महिनावारीका बेला चाहिने प्याड किन्ने पैसा नभएकै कारण विद्यालय छुटाएका दिन उनलाई याद छ । ‘चाहिएका बेला साथमा पैसा हुँदैन । पैसा भए पनि भन्नेबित्तिकै प्याड पाइन्नथ्यो,’ उनले भनिन्, ‘धेरैपटक स्कुल छुटाइयो ।’ पुन र चापागाईंजस्ता धेरै किशोरीको महिनावारी व्यवस्थापनको समस्याका कारण पढाइ नछुटोस् र पैसाको पनि बचत होस् भनेर यतिबेला जापानी स्वयंसेवक युकी युकी यामामोतो घरघरै पुगेकी छन् । 

किशोरकिशोरी तथा महिला लक्षित गरी घरेलु विधिमा आधारित सेनेटरी प्याड बनाउने तालिम सञ्चालन गर्दै आएकी छन् । उनले हालसम्म करिब ७ सय किशोरीलाई तालिम दिएको बताइन् । २ वर्षअघि महिला तथा बालबालिका कार्यालयमा स्वयंसेविकाका रूपमा काम सुरु गरेकी उनले ग्रामीण महिलामा महिनावारीका बेला देखिने यो समस्या जटिल बन्दै गएको पाएपछि जिल्लाभर अभियान थालेको बताइन् ।

‘म गाउँमा धेरै समय बस्दा महिलाहरूको साझा समस्या देखें,’ युकीले भनिन्, ‘त्यसपछि युटयुबमा प्याड बनाउन सकिनेबारे खोजेर हेरेपछि बनाउने तालिम सुरु गरें ।’ सय रुपैयाँको एक मिटर फलाटिन कपडा काटेर १० वटासम्म प्याड बनाउन सकिने उनले बताइन् । फलाटिनको कपडाभित्र सफा पुरानो कपडा राखेर प्रयोग गर्न सकिने प्याड नियमित सफा राख्न सके २ वर्षसम्म प्रयोग गर्न सकिने उनले बताइन् । बजारको प्याड प्रयोग गर्दा वर्षमा पाँचदेखि ११ सय रुपैयाँ खर्च हुनेमा घरमै बनाएको प्याड प्रयोग गर्दा १५ देखि २० रुपैयाँले पुग्ने उनीहरू बताउँछन् ।

यतिबेला सेनेटरी प्याड बनाउने तालिम दिन युकीलाई भ्याइनभ्याइ छ । सदरमुकामदेखि ग्रामीण क्षेत्रका स्कुल, संघसंस्था, आमा समूह, युवा तथा बाल क्लबहरूले उनलाई तालिम दिन बोलाउने गर्छन् । जिविसको संयोजकत्वमा करिब २ सय किशोरी तथा महिलालाई तालिम दिएको सामुदायिक विकास कार्यक्रम अधिकृत दीपेन्द्र लम्सालले बताए । 

सेनेटरी प्याडकै कारण पढाइ छुटाउने 
किशोरी लक्षित गरी ६ देखि १२ कक्षामा अध्ययनरतलाई स्कुलमै पुगेर तालिम दिन लागिएको अभियानका पर्वत संयोजक राजेन्द्र पहाडीले बताए । ‘हामीले शिक्षामा कुरा गरेका छौं,’ उनले भने, ‘स्कुलको २ पिरियड समयमा प्याड बनाउन सिकाउन सकिन्छ ।’

प्रकाशित : फाल्गुन २०, २०७३ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?