कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिकट लिन युवाको दौडधुप

एमाले, कांग्रेसलगायत पार्टी नेतालाई टिकटका लागि दबाब नै पर्न थालेको छ
मोहन शाही

डोटी — वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा आकांक्षा राख्दै उम्मेदवारीका लागि युवा पुस्ताको दौडधुप चलेको छ । मुख्य दलका युवा कार्यकर्ता र नेताहरू जिल्लादेखि केन्द्रसम्म टिकट पार्न कसरत गर्दै छन् ।

जिल्ला तहसम्म अधिकांश आकांक्षीले प्रस्ताव पुर्‍याएर कार्यकर्ता रिझाउन थालेका हुन् । यद्यपि आफ्नै पार्टीभित्र आकांक्षी बढी भएकाले कांग्रेस र एमाले नेतालाई टिकटका लागि दबाब बढी नै पर्न थालेको छ । पाको उमेर र विगतको चु्नावी अनुभव बट्ुलेका भने अहिले नै सक्रिय नदेखिए पनि युवा पुस्ताबीच तानातानको फाइदा उठाएर टिकट हात लाउने दाउमा छन् ।

कतिपयले सामाजिक सञ्जालमार्फत उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । मत आफ्नो पक्षमा रहेको देखाउन कतिपय युवा नेताले सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई सक्रिय पार्दै लगेका समेत छन् । टिकटका लागि पार्टीभित्र गुटबन्दीसमेत बढदै गएको छ ।

कांग्रेस डोटीले आइतबारबाट आकांक्षीको नाम संकलन र उनीहरूको धारणा बुझ्न तथा चुनावी रणनीति बनाउन बैठक थालेको छ । ‘उहाँहरूले आकांक्षा राख्नु स्वाभाविक हो,’ कांग्रेस जिल्ला सभापति प्रदीप देउवाले भने, ‘त्यसका लागि आइतबारबाट पार्टीको बैठक थालेका छौं, लगत्तै कमिटी बनाएर गाउँ तथा नगरपालिका तहमा कार्यकर्ता, शुभेच्छुक तथा भ्रातृ संगठनको राय संकलन गरेर चैत पहिलो साताभित्रै टिकट बाँड्ने योजना छ ।’

एमाले जिल्ला अध्यक्ष चक्र मल्लले पार्टी स्थायी कमिटीको पोलिसीअनुसार टिकट वितरण गरिने बताए । ‘विभिन्न रूपबाट आफ्नो चाहना राख्ने साथीहरू धेरै हुनुहुन्छ, उहाँहरू अहिले आफ्नै किसिमले रणनीति बनाएर गाउँ जानुभएको छ,’ मल्लले भने, ‘जिल्लाबाटै टिकट बाँड्ने कि केन्द्रले भन्ने पोलिसी आइनसकेकाले अहिले नै केही भन्न नसकिने बताए ।’ राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव केशवनाथ योगीले ४–५ दिनभित्रै टिकटको टुंगो लगाउने तयारीमा रहेको जानकारी दिए ।

दुई नगरपालिका र ७ गाउँपालिका रहेको डोटीमा पुनर्संरचनासँगै स्थानीय तहको निर्वाचनमा विगतभन्दा मतदाताको भोट बैंक फरक स्थिति रहेकाले नेताहरू पार्टीभित्र र बाहिरका प्रतिस्पर्धीलाई हेरेर चुनावी रणनीति बनाउन गाउँ पसेका छन् । सबैभन्दा बढी कसरत दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा देखिएको छ । आकांक्षा राख्नेमा नयाँ अनुहारका युवा बढी छन् । दुवै नगरपालिकामा कांग्रेस र एमालेका नेताले आकांक्षा देखाए पनि अन्य पार्टी मैदानमा देखिएका छैनन् ।

६६ मतदान केन्द्र
डोल्पा (कास)– स्थानीय तह निर्वाचनका लागि डोल्पामा ६६ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्र सिफारिस समिति बैठकले ४६ मतदान स्थल र ६६ मतदान केन्द्र निर्धारण गरेको हो । जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाका अनुसार यसअघि ४७ मतदान स्थल थिए । पहाडाको साइलाबाडा र छलका साविक मतदान केन्द्रलाई गाभेर एउटै बनाइएको उनले जनाए । दुवै गाउँ एउटै वडामा परपछि मतदान स्थल गाभ्नु परेको उनको भनाइ छ । कार्यालयका अनुसार फोटोसहितको मतदाता नामावली अद्यावधिक गरेर निर्वाचन आयोगमा पठाइएको छ । १६ हजार ७ सय ४४ मतदाता नामावली संकलन तथा अद्यावधिक गरी पठाइएको कार्यालयले जनाएको छ । डोल्पामा २ नगरपालिका र ६ गाउँपालिका छन् ।

प्रकाशित : चैत्र ७, २०७३ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?