कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

 ४ पटक जन्मे हाम्रा प्रधानन्यायाधीश

काठमाडौँ — शनिबार प्रकाशित ‘प्रधानन्यायाधीशका ४ थरी जन्ममिति’ पढें । यो देशको नागरिकको हैसियतले आफंैलाई लाज लाग्यो । हामी कस्ता र कसको देशमा जन्मियौं ? हीनताबोधको महसुस भयो ।

 ४ पटक जन्मे हाम्रा प्रधानन्यायाधीश

नेपाल हाम्रो देश हो कि अरू कसैको ? राज्यको जिम्मेवार ठाउँमा पुगेपछि मनपर्दी गर्ने छुट कसले दियो ? सरकारले ? कानुनले ? राजनीतिक दलले ? यसैलाई भन्छन्– ‘ठूलालाई चैन सानालाई ऐन ।’ यो कुन युग हो ? जहिले पनि हुनेखानेहरूकै युग किन ? यतिका बलिदान र भएको परिवर्तनको अर्थ खोज्न जरुरी छ । फेरि खोज्ने कसले ? खोज्नेहरूलाई फुर्सद छैन । जिम्मा पाएका र फुर्सद हुनेहरू नै घृणित कार्यमा व्यस्त छन् । आमजनताले कसलाई विश्वास गर्ने ? यसले केही गर्छ ।

उसले केही गर्छ । यसलाई विश्वास गर्‍यो । उसलाई विश्वास गर्‍यो । यसरी नै सकिने भयो देश । निभ्ने भयो भेष । र, बित्ने भए पुस्ताहरू । केही गर्नेले अवसर नपाएपछि बर्बाद हुँदै गएको छ प्रतिभाहरू ।

डा. गोविन्द केसीलाई प्रधानन्यायाधीशले नचलाएको भए आखिर प्रधानन्यायाधीशको यस्तो घृणित कार्य कसैलाई थाहा हुँदैनथ्यो होला । एउटा नागरिकता खोज्दा ४ वटा नागरिकताको प्रमाण भेटियो । यो कति दु:खद र निन्दनीय विषय हो मुलुकका लागि । आज मुलुकको कानुनमाथि प्रश्नचिह्न खडा भएको छ । त्यसैले राज्य सचेत हुनैपर्छ । र, राज्यलाई सचेत गराउन हजारौं गोविन्द केसीहरू जन्मिनुपर्छ । अनि मात्र देशमा सुशासन र सादाचार सबल हुन्छ । नभए यस्ता थुप्रै प्रधानन्यायाधीशहरू जन्मिन सक्छन् ।

– राजेश विद्रोही

लहान, सिरहा

***

माघ २७ गते प्रकाशित ‘प्रधानन्यायाधीशका ४ थरी जन्ममिति’ समाचार पढेपछि केही प्रश्न तेर्साउनैपर्ने भयो । किनभने हाम्रो सर्वोच्च न्यायालयका सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीका २००९ साउन २१, २०१० वैशाख १३, २०१० वैशाख १६ र २०११ वैशाख १३ गरी जम्मा ४ थरीका जन्ममिति रहेछन् । मैले आजसम्म बुझेअनुसार एकजना नेपाली नागरिकको नागरिकताको प्रमाणपत्रमा सुरुमा जुन उमेर लेखिएको हुन्छ, नागरिकताको प्रमाणपत्रका जतिसुकै प्रतिलिपि लिए पनि सुरुकै उमेर लेखिनुपर्ने र पहिले पेस गरेको अभिलेख फरक पार्न मिल्दैन, होइन र ? त्यति मात्र कहाँ हो र, सम्माननीय प्रधानन्यायाधीशको प्रवेशिका र आईएल, बीएलका प्रमाणपत्रको १ वर्ष मात्र फरक परेको पाइएछ । तर प्रवेशिका परीक्षा उत्तीर्णपछि आईएलमा कम्तीमा २ वर्ष र बीएलमा कम्तीमा ३ वर्ष चाहिँदैन र ? यो के भएछ ? तर सानै उमेरदेखि मैले बुझेअनुसार न्यायाधीश/प्रधानन्यायाधीश र न्यायालय भनेको न्यायप्रेमी संस्था हो, र न्यायाधीश/प्रधानन्यायाधीश भनेका स्वच्छ छवि भएका, सही अभिलेखधारी, सच्चा र सम्मानित व्यक्तित्व भएका हुनाले नै सम्माननीय भनिएको हो, यस्ता मूर्धन्य पदाधिकारीबाट सम्पादन गरिएका न्यायसम्बन्धी क्रियाकलापप्रति कसैले औंला उठाउने ठाउँ नै हुँदैन । तर आजको यो समाचारअनुसार त मेरो आजसम्मको न्यायाधीशदेखि अगाडि बढ्दै प्रधानन्यायाधीशजस्तो न्याय सेवाकै सर्वोच्च पदासीन सम्माननीय गोपाल पराजुलीप्रतिको धारणा अवधारणामा परिणत गराइदियो । अब यहाँनिर मेरो मनमस्तिष्कमा उब्जेको अर्को गम्भीर प्रश्न के भने ४ थरीका जन्ममिति भएका र समाचारबमोजिम प्रवेशिकादेखि आईएल, बीएलसम्म १ वर्ष मात्र फरक पारी अध्ययन गरेका सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीले सम्पादन गरेका न्याय सेवा कस्ता होलान् ?

– गंंगाराज अर्याल

पाणिनी–८, पाली, अर्घाखाँची

प्रकाशित : माघ २९, २०७४ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?