एकतामा केको भागबन्डा ?

कान्तिपुर संवाददाता

काठमाडौँ — जहाँ एकता हुन्छ, त्यहाँ सहमति, समझदारी र एकार्काबीच आत्मीयता हुनु जरुरी छ । एकतामा तनमात्र गाँसिएर हुन्न मन, वचन र कर्म पनि गाँसिनु जरुरी छ । पहिले भागबन्डा अनि एकता, सहमति र सहकार्य यो कस्तो एकताको अभ्यास हो ?

आफूले चित्त बुझ्दो भाग पाएपछि, आफू र आफ्नालागि अनुकूल वातावरण सिर्जना भएपछि गरिने एकताको धागो कति बलियो होला ? त्यो भौतिक एकतामा नभएर भावनात्मक एकतामा निर्भर रहन्छ । एक एकताको डम्फु बजाएर जनमत प्राप्त गरिसकेको अवस्थामा ढिलाइ र बहानाबाजीले धमिलो पानीमा माछा मार्न पल्केकाहरूका लागि सहज वातावरण प्राप्त भएको छ । यो राष्ट्रिय, अन्तर्राष्ट्रिय चासो, चिन्ता र टाउको दुखाइको विषय बनिरहेको बेला दलहरूले अझ त्यसैमा मलजल गर्नु वाम पार्टीलाई मात्र होइन, गणतान्त्रिक नेपालका लागि पनि किमार्थ सुहाउँदैन । त्यसै पनि पार्टीको सिद्धान्त, नेताका विचारमा विश्वासको संकट देखापरिरहेको बेला एकतामा अन्तर्राष्ट्रिय चलखेल बढिरहेको छ भनी प्रमुख नेताहरूले भन्नु आफ्नो आङ कन्याएर छारो उडाउने काममात्र हो । एकता गर्ने ठाउँमा बसेर समयको आवश्यकता, जनताको चाहना र देशको परिस्थितिलाई बुझेर आफै सक्रिय रहनुपर्ने अवस्थामा यस्तो अभिव्यक्तिबाट एकताका लागि कसैको सदाशयताको आवश्यकता परिरहेको भ्रम सिर्जना गर्ने काम नगरियोस् ।

– लक्ष्मीनारायण मिश्र

शिवसतासी नपा–११, झापा

प्रकाशित : फाल्गुन ८, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?