कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

त्यो कान्तिपुर अनि यो कान्तिपुर

कान्तिपुर संवाददाता

काठमाडौँ — २५ वर्षअघि छापिएको कान्तिपुरको पहिलो अंकको पहिलो पृष्ठ हेर्न पाउँदा मन आनन्दित भयो । श्यामश्वेतमा छापिएको त्यो कान्तिपुर र अहिलेको रंगीन कान्तिपुरमा धेरै परिवर्तन भए पनि जनआवाज मुखरित गर्ने शैली र सोचमा कुनै परिवर्तन भएको छैन ।

त्यो कान्तिपुर अनि यो कान्तिपुर

अर्थात कान्तिपुर जनताको सुसूचित हुने अधिकारमा सदासर्वदा अडिग नै रहेको पाएको छु । बितेको २५ वर्षमा कान्तिपुरले धेरै आरोह–अवरोह देख्यो, भोग्यो । बहुदलीय व्यवस्था आएपछि २०४९ सालमा जन्मिएको कान्तिपुरले माओवादीको जनयुद्ध देख्यो, राजाको सक्रिय शासन देख्यो, भोग्यो र अहिले गणतन्त्रकाल र संघीय शासन शैलीको अनुभव गरिरहेको छ । राजाको ‘कू’मा भोगेको सेन्सरसिप र २०७२ सालको भुइँचालोले भुइँमै बसेर गर्नुपर्ने समाचार सम्पादन क्रियाकलापले पनि कान्तिपुरको अविचलित यात्रालाई रोक्न, छेक्न सकेन । त्यसका लागि कान्तिपुरलाई साधुवाद । कान्तिपुरको २५ वर्षे यात्रामा करिब ७ वर्ष यो पत्र लेखक पनि कान्तिपुरको वीरगन्ज संवाददाताको रूपमा काम गर्न पाउँदा गौरवान्वित महसुस गर्छु ।


२५ वर्षअघि राजधानीमा अम्ल वर्ष भएको रहेछ । पहिलो अंकमा बक्स समाचारका रूपमा आएको उक्त समाचारमा काठमाडौंमा बढ्दै गएको वायु प्रदूषण नै यसको प्रमुख कारण हो भनी लेखिएको छ । अर्थात राजधानी काठमाडौंलाई २५ वर्ष अघिदेखि नै वायु प्रदूषणले आक्रान्त बनाएको रहेछ । जुन अहिले झनै विकराल भएको छ । अर्को समाचार हो– सुन्दरीजलमा ब्लिचिङ पाउडर : स्थानीय क्षेत्र प्रभावित । उक्त पाउडरले वागमती नदीमा पारेको असर त्यो बेला पनि समाचारको प्रमुख विषय बनेको रहेछ । २५ वर्षदेखि अहिलेसम्म पनि वागमतीमा ठोस सुधार हुन सकेको रहेनछ । र तेस्रो समाचार हो, नाच हेर्न र गीत नसुन्न चीनको आग्रह । जसमा तिब्बतका धार्मिक गुरु दलाई लामाको समर्थन नगर्न चीनले अन्य देशलाई आग्रह गरेको रहेछ । २५ वर्ष अघिदेखिको चीनको त्यो नीति अहिलेसम्म कायम छ । यसमा कुनै फेरबदल देखिएको छैन । यो पनि आफंैमा एउटा अद्भुत समाचारको विषय हो, निरन्तरताको । जे होस्, सोमबार कान्तिपुरले २५ वर्षअघिको कान्तिपुरको पहिलो अंक प्रकाशित गरेर बितेका पलहरूलाई सम्झना गराएकामा विशेष साधुवाद । पाठकहरूलाई सुसूचित गर्ने कुरामा कान्तिपुर अझ बढी दत्तचित्त भई लागोस् ।

– गोपाल देवकोटा

गोकर्णेश्वर–८ जोरपाटी, काठमाडौं

***

नेपालमा पछिल्ला राजनीतिक परिवर्तनमा खासगरी पूर्वराजा ज्ञानेन्द्रको ‘कू’ होस् वा २०६२/६३ को जनआन्दोलन । कान्तिपुर पत्रिका, टेलिभिजन र यसले निर्वाह गरेको भूमिका अतुलनीय रह्यो । २५ वसन्त पार गरिरहँदा यसले थुप्रै कष्ट झेल्न बाध्य भयो । तर आफ्नो पथबाट विचलित नभई जनतालाइ सुसूचित गराउन यसले कुनै कसर बाँकी राखेन । माओवादी द्वन्द्वकालमा समेत जीवनको प्रवाह नगरी घटनाको यथार्थ विवरण पाठकसामु पस्किरह्यो । पत्रिका, टेलिभिजन हुँदै कान्तिपुर मिडिया ग्रुपसम्म आइपुग्दा यसले हामी पाठकसामु मात्र नभई सत्तामा पुगेका हरेक दललाई सच्चिने, सुध्रने अवसर प्रदान गर्नुका साथै र देशको समृद्धिका लागि आवश्यक पथप्रदर्शकको समेत भूमिका निर्वाह गर्‍यो । कान्तिपुरका सम्पादकीय मात्र अध्ययन गर्ने हो भने पनि हरेक पार्टीका नेता एवं सरकार र रास्ट्र प्रमुखका लागि असल शिक्षा दिँदै आएको छ । अझै राम्रो कुरा यसले कान्तिपुरको पाठक मञ्चमा सर्वसाधारणका विचारलाई प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ । कान्तिपुरका हरेक सम्वादाता एवं लेखक कुनै बाधा–अडचनको ख्याल नगरी आफूलाई देश र जनताका लागि समर्पित गराउँदै आउनुभएको छ ।

– कुसुम न्यौपाने

मध्यविन्दु–११, नवलपुर

प्रकाशित : फाल्गुन ८, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?