कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

राजनीति र आर्थिक विकासको अनुपात

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थशास्त्रमा माल्थसको जनसङ्ख्या सिद्धान्तबारे पढाइ हुन्छ । उनले मानिस लगायत हरेक प्राणीमा सन्तान उत्पादन गर्ने क्षमता अत्यधिक हुन्छ भने । योसँगै उनले खाद्यान्न वृद्धि अंकगणितीय अनुपात (१, २, ३,४, ५, ६...) मा र जनसङ्ख्या वृद्धि ज्यामितीय अनुपात (१,२,४, ८ ,१६, ३२...) मा हुन्छ भन्ने कुरा पनि बताए ।

यो कुरा हाम्रो देशको राजनीतिक र आर्थिक परिवर्तनका सन्दर्भमा पनि लागू भएजस्तो लाग्यो । यहाँ राजनीतिक परिवर्तन ज्यामितीय अनुपातमा झैं एकदमै छिटो–छिटो गतिमा भइआएको छ । २००७ साल, २०१७ साल, २०३६ साल, २०४६ साल, २०५२ साल, २०६२/६३ साल । सानातिना भए पनि केही न केही नयाँ राजनीतिक निर्णयका हिसाबले त्यसपछिका त अझ हरेक साल, महिना, गते नै उल्लेखनीय भइरहे, हुँदैछन् । समावेशी र समानुपातिकको नाममा गणतन्त्रपछि नेताहरूको सङ्ख्या बढाइयो । पछिल्लो समयमा संघीयता कार्यान्वयन हुँदै गर्दा उनीहरूको सङ्ख्या संविधानत: झनै बढेको छ । राज्य—केन्द्र, प्रदेश र स्थानीय स्वरूपमा बदलिंँदा राजनीतिक जिम्मेवारी लिनेहरूको सङ्ख्या बढेकोलाई हामी ठूलो राजनीतिक फड्को र उपलब्धि मान्दैछौं ।

तर यति छिटो राजनीतिक परिवर्तन र यति ‘धेरै ठूलो फड्को र उपलब्धि’का साथ नेताहरूको

सङ्ख्या वृद्धि भएको अनुपातमा यहाँ आर्थिक विकास र समृद्धि भने ठ्याम्मै हुनसकेको छैन वा भएको पनि अंकगणितीय अनुपातमा भएको छ । विकास आयोजना, निर्माण, मर्मत, शिक्षा, स्वास्थ्य, रोजगार अन्य क्षेत्रका कुरा सम्झौं । तिनमा कति ढिलासुस्ती छ ? सुरु हुन नै समय लाग्ने, समयमा पूरा नहुने, बारम्बार म्याद थप्नुपर्ने, पूरा हुनआँटेको पनि बिग्रने, पूरा भएर पनि कम गुणस्तरको हुने इत्यादि कुरा सुुन्दा–सुन्दा आजित हुनुपर्छ । तर अब भने राजनीतिक गतिविधि, परिवर्तन र सेवासुविधा खाने–पाउने कुराले ‘ज्यामितीय अनुपात’को वृद्धि लिएजस्तै आर्थिक विकास र समृद्धिका कामकुराले पनि गति बढाउनु अत्यावश्यक छ ।

– इन्द्रकुमार श्रेष्ठ

कमलाकुञ्ज, ओखलढुंगा

प्रकाशित : फाल्गुन ८, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?