कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मूल्यांकनको कसीमा नयाँ सरकार

कान्तिपुर संवाददाता

काठमाडौँ — फागुन ६ गते प्रकाशित कृष्ण खनालको ‘नयाँ सरकार : चुनावी वाचा र चुनौती’ विश्लेषणात्मक आलेख पढ्दा मेरो मस्तिष्कले शतप्रतिशत सहमति गर्न सकेन । त्यसैले केही लेख्नैपर्ने भयो ।

किनभने गत निर्वाचनमा भारी जनमतसाथ वाम गठबन्धनबाट विजयी केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएको ७ दिन पनि बितेको छैन, तमाम वैयक्तिक, सार्वजनिक अड्कलबाजी र अनुमानका वाक्यहरूले सञ्चार माध्यम भरिएको पाइन्छ । तर म लगायतबाट शुभकामनाका दुई शब्द व्यक्त गर्न भने पाइएको छैन । हो, हुन त ‘बिहानीले दिनको सङ्केत गर्छ’ भनेझैं केपी ओलीले प्रधानमन्त्री हुनासाथ आफू लगायत वाम गठबन्धनले निर्वाचनमा भोट माग्दा तयार पारेको चुनावी घोषणापत्रलाई अगाडि राखेरै योजना तयार गर्नुभएको भए वाञ्छनीय हुने थियो । तर बिहानी हुनै नपाउँदै कसरी आगामी बिहानीले दिनको सङ्केत गरेको पाउने र कसरी ५ बुँदे घोषणापत्रमा योजना पुगेनन् भनी निर्वाचनका घोषणापत्रमा राखिएका वाचा पूरा गर्न नसकिएपछि अर्को अवसर नपाउने भनी निराशा व्यक्त गरिहाल्ने बेला आइसक्यो र ?


वाम गठबन्धनका सदस्यहरूको व्यवस्थापन, पार्टी एकताको चटारो, आवश्यक मन्त्रिपरिषदको गठन, संघ, प्रदेश र स्थानीय तहको अनुगमन/सुझाव/सल्लाह आदि यावत र संघीयताको नौलो अनुभव र कार्यान्वयनमा हात हाल्न खोज्दाकै घडीमा कांग्रेस, फोरम र जनता पार्टीसँंग अर्को सत्ता समीकरण बन्ने सम्भावना औंल्याई फेरि चुनाव गर्नुपर्ने सम्भावना देख्ने दिन आइसक्यो र ? जनताको म्यान्डेट त्यही हो र ? हो, विगत सरकारको उच्छृङ्खलतापूर्वक सामाजिक र आर्थिक विनाशका कार्यले निम्त्याएका दुष्परिणामलाई सच्याउने, विनाश गरेको स्रोत र साधनको संकलन तथा व्यवस्थापन, भूकम्प पीडितको पुन:स्थापना, छिमेकीसँंगको सम्बन्ध सन्तुलन गर्दै ५ बुँदे वाचारूपी योजनामा परे–नपरेका तर निर्वाचनका घोषणापत्रलाई अगाडि राखी गर्नुपर्ने संविधानको कार्यान्वयन, शान्ति र स्थायित्व, कृषिको आधुनिक र व्यवसायीकरण, यातायात, सञ्चार, विद्युतीय विकास, शिक्षा, स्वास्थ्य, खानेपानीको समानुपातिक व्यवस्थापन, भ्रष्टाचारको उन्मूलन लगायतका थुप्रै काम र विकास निर्माण समेतमा अगाडि बढ्नुपर्ने कुरा छ ।


जनताको म्यान्डेट अनुसार काम नभएमा पछि त्यसको अनपेक्षित परिणाम आदितर्फ खबरदारी त गर्नैपर्छ । आफूले व्यक्त गर्न खोजेका सकारात्मक विषयवस्तुलाई राम्ररी बुझाउन प्रखर र चोटिला उखान–टुक्का हाल्दैमा केही बिग्रिहाल्ने जस्तो त लाग्दैन, तापनि त्यस्ता उखान–टुक्का, राष्ट्रियता, विकास र समृद्घिका उदाहरण बन्नुपर्छ । त्यसकारण शुभकामनाकै घडीमा अनेकौं तर्कवितर्कबाट निरुत्साहितभन्दा साँच्चिकै सूक्ष्म किसिमले योजना गरी विकास र समृद्घितर्फ अगाडि बढ्न शुभकामना व्यक्त गरौं ।


– गंगाराज अर्याल

पाणिनी–८, पाली, अर्घाखाँची

प्रकाशित : फाल्गुन ९, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?