मन्त्री लालबाबुलाई आग्रह
काठमाडौँ — केपी ओलीको मन्त्रिपरिषदका पहिलो समूहमा नियुक्ति पाएका लालबाबु पण्डितले वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसभन्दा अघिको उनको कार्यले गर्दा क्षवि निकै राम्रो भएको हो ।
सायद उनीबाट फेरि पनि यस्तै प्रभावशाली कार्यका लागि वातावरण मन्त्रीको जिम्मेवार प्राप्त भएको हुनसक्छ । काठमाडौं लगायत सबै सहरदेखि गाउँसम्मको अहिले वातावरण अत्यन्तै खराब छ । काठमाडाैं उपत्यका फोहोर, धुलो धुवाँले गर्दा पूरा प्रदूषित छ । फोहोरको स्थायी व्यवस्थापन अहिलेसम्म हुनसकेको छैन । सधैंभरि फोहोर फाल्ने ठाउँको समस्या, फोहोर समयमा नउठ्ने, सडकको धुलो, गाडीको धुवाँ, खुला ढल तथा फोहोर पानीको समस्या धेरै छन् । स्तरीय सडक नबन्दा सडक बनेको केही महिनापछि भत्किने, पहाडमा सडक बनाउंँदा वातावरणको ख्याल नगरी बनाइएका सडकका कारण पहिरो जाने, सडक बनाउंँदा रुख–बिरुवा मासिँंदा फेरि बिरुवा, घाँस नलगाउने कार्यले गर्दा वर्षामा लगातार पहिरो जाने कारणले धेरै धनजनको नोक्सानी भइरहेको छ । यी सबै विचार गरी सडक बनाउँंदा वातावरणको ख्याल गर्दै गुणस्तरीय सडक बनाउनुपर्ने र यदि एक वर्षसम्म सडक भत्के–बिग्रेमा सम्बन्धित ठेकेदारले बनाउनुपर्ने कडा नीति ल्याइयोस् । काठमाडौं लगायत सबै सहरमा फोहोरको स्थायी व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहोर छुट्याएर रिसाइक्लिङ कारखानाको व्यवस्था गरियोस् । सडक र नदीको किनारमा अनिवार्य रूपमा रुख–बिरुवा तथा घाँस लगाउने नीति पास गरियोस् । सडकमा फोहोर, बालुवा, माटो बोकेर हिंँड्ने गाडीलाई पूरा कभर गरेर मात्र गुडाउनुपर्ने निर्णय होस् । घर, सडकको फोहोर उठाउने कार्य राति नै गरियोस् । हप्ताको एक–दुईपटक सडक पूरा पानीले पखाल्ने कार्यक्रम ल्याइयोस् । बाढी–पहिरो नियन्त्रणका लागि पहाडका खोलाहरूमा चेक ड्याम तथा तराईमा नदीलाई तटबन्धन बाँध्ने कार्यको विस्तृत योजना बनाएर कार्यान्वयन गर्नसके मन्त्री पण्डितप्रति जनताप्रति अझ बढी विश्वस्त हुनेछन् ।
– पूर्ण ओली
क्विन्सल्यान्ड, अष्ट्रेलिया
प्रकाशित : फाल्गुन ९, २०७४ ०७:३१