१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

टिकटमा तमासा

कान्तिपुर संवाददाता

काठमाडौँ — हरेकजसो सरकारी कार्यालयमा निवेदन दिँदा टिकट टाँस गर्ने प्रचलन देखिन्छ । तर यसको खास अर्थ वा महत्त्व बुझिएको छैन । बहुदलपछि वा अहिले लोकतन्त्रका सञ्चार मन्त्रीले यो सेवा विभागका लागि सिन्को नभाँचे पनि नयाँ टिकटमा टाँचा लगाउने अर्थात सही धस्काएर सार्वजनिक गर्ने समाचार भने पढ्न पाइन्छ ।

टिकटमा तमासा

अब टिकट कुन प्रकृतिको वा चित्र वा आवरण कसको राख्ने भन्ने भित्री कथा, व्यथा बुभिँmदैनथ्यो । पहिला हिमाल, कुनै विशेष स्थान, राजपरिवार, विशिष्ट व्यक्ति तथा व्यक्तित्वहरूका समेत देख्न पाइन्थ्यो । अहिले त सबै दल, शक्ति केन्द्रले रुचि देखाउन थालेछन् । हुँदा–हुँदा उपराष्ट्रपति कार्यालयले पनि सरोकार राखेको समाचार पढ्न पाइयो । उपराष्ट्रपतिको यसमा जातीय झुकाव वा लगाव पनि हुनसक्ला । त्यस बाहेक हरेक सञ्चार मन्त्रीले दलका सहिद, प्रधानमन्त्री आदिको सिफारिस गर्नु कुनै अनौठो होइन । पहिला चार सहिदका आउँथे । सरकारले सहिद घोषणा गरेका सबैको आउला ।


देशको प्रतिनिधित्व गराउने प्राकृतिक सम्पदा, विशिष्ट योगदान दिने फरक क्षेत्रका व्यक्ति वा सांस्कृतिक पहिचान या विश्वले चिनिन सक्ने वा रुचि लिनेका बेलाबखत प्रकाशन गर्नु उचित हो । जसले ती व्यक्तिको उच्च सम्मान पनि हुने, मुलुकको पहिचान पनि हुने थियो । हुन त यहाँ सम्मान देखाउनका लागि गर्ने होडबाजी छ । जस्तो– मलाई राष्ट्रकविलाई सेनाले सहायक रथीको मानार्थ पद दिए पनि पोसाक लगाएर सिंगारेको मनपरेन । राष्ट्रकवि उपाधि वा सम्मान आफैं विशिष्ट हो, जसको तुलना सहायक रथी दर्जासँग हुनसक्दैन । मानार्थ भनेर सम्मान गर्नु राम्रो हो, तर जंगी पोसाक नै लगाएर झिलिमिली पार्न जरुरी थिएन ।


कहिलेकाहीं हाम्रा प्रधानमन्त्री, शिक्षा मन्त्रीहरूलाई अनेक विश्वविद्यालयले मानार्थ विद्यावारिधिले सम्मान गर्छन् । यो पनि एकखालको चाकडी वा भक्तिभावको नमुना हो । तसर्थ टिकट निकाल्ने होडबाजी मात्र होइन, यसको उपादेयता वा महत्त्वको बढावा पनि गरौं । हरेक सरकारी निवेदनमा अनिवार्य रु. १ को किन नहोस्, टिकट टाँस गर्नुपर्ने व्यवस्था गरौं । हरेक सरकारी सेवा फारम भर्दा वा संस्थागत निकायको सेवा फारम तथा विविध निवेदन, फारममा यसको अधिकतम प्रयोग गरी टिकट महिमालाई बढावा दिन सकिन्छ ।


– श्रीकृष्ण राजवंशी

सुनकोसी–३, सिन्धुली

***

हुलाक टिकटमा हुने गरेको जथाभावी र राजस्वको दुरुपयोगबारे केही कुरा कान्तिपुरमा देवेन्द्र भट्टराईले उजागर गरेका छन् । धेरैको ध्यान नगएको तर महत्त्वपूर्ण विषय हो यो । हुलाक टिकट प्रकाशित गर्नु भनेको राज्यले दिने उच्च सम्मान हो, जो विश्वभर प्रचलित छ । तर नेपालमा हुलाक टिकट प्रकाशनको १ सय ३६ वर्षको इतिहासमा दुरुपयोगका धेरै उदाहरण पाइन्छन् । पञ्चायती व्यवस्थासम्म जे भए पनि त्यसपछि समेत राजा र राजपरिवारका मुहार अंकित टिकटमा प्रत्येक वर्ष लाखौं रुपैयाँ खर्च गर्ने परिपाटी हटेन । व्यक्तित्व टिकटमालामा सञ्चार मन्त्रालयका तालुकवालाहरूको निहित स्वार्थ हावी भयो । पत्रकार भट्टराईले त्यसलाई राजनीति भने पनि वास्तवमा त्यो राजनीति नभई स्वार्थ र आफन्तवाद मात्र हो । जसको उदाहरण प्रशस्त छन्– लोकमानसिंह कार्की सञ्चार सचिव भएकै बेला उनका पिता भूपालमानसिंह कार्कीको, सञ्चार मन्त्री डा. मिलेन्द्र रिजालको सिफारिसमा पञ्चायतकालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको टिकट निस्कनु आदि ।

पञ्चायती प्रधानमन्त्रीहरूमध्ये सर्वसाधारण जनताले पछिसम्म सम्झने गरेका प्रधानमन्त्री हुन्, मरिचमानसिंह श्रेष्ठ, तर उनलाई राज्यले सम्झेको छैन । द्वन्द्वकालमा राज्यपक्षबाट मारिएका पत्रकार कृष्णसेन इच्छुकको सम्मानमा माओवादी सरकारमा छँदा टिकट निकालियो, जुन सराहनीय कार्य हो । तर माओवादी पक्षबाट मारिएका पत्रकार डेकेन्द्र, शिक्षक मुक्तिनाथ, प्रहरी महानिरीक्षक कृष्णमोहन आदिका टिकट किन निस्कँदैनन् ? जुन पक्षबाट मारिए पनि द्वन्द्वको घाउ एउटै होइन र ? नेपाल एकीकरणका क्रममा कीर्तिपुरको युद्धमा वीरगति पाएका कालु पाडेको सम्मानमा टिकट निस्कनु तर एकीकरणकै क्रममा सागाचोकमा वीरगति पाएका नेपाली सेनाका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको टिकट अझसम्म ननिस्कनु राज्यले नै गरेको भेदभावको उदाहरण होइन र ?


टिकट प्रकाशनमा कतिसम्म जथाभावी हुन्छ भन्ने कुराको उदाहरण मदन पुरस्कार गुठीकी संस्थापिका रानी जगदम्बाको शिरविहीन टिकट र नेपालगन्जको जँुगे महादेवको टिकट पनि हुन् । जहाँसम्म प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको टिकटको प्रश्न छ, उनको टिकट २०५५ सालमै निस्किसकेको छ भनेर तत्कालीन सञ्चार मन्त्री शेरधन राईको ध्यानाकर्षण गराउन नसक्नु हुलाक सेवा विभागको कमजोरी हो कि मन्त्री खुसी पार्ने मेसो बुझ्न सकिएन । भारतसँग नेपालको अत्यन्त घनिष्ठ सम्बन्ध छ भन्छौं, तर थुप्रै देशले महात्मा गान्धीको हुलाक टिकट निकाली उनलाई आफ्नो राष्ट्रिय श्रद्धा व्यक्त गरिसक्दा पनि हाम्रो सञ्चार मन्त्रालय भने किन गान्धीलाई नै नचिनेझैं गरेर बसिरहेको छ ? हुलाक टिकटका सम्बन्धमा चित्त नबुझ्ने कुरा धेरै छन् ।


– श्रीरामसिंह बस्नेत

वनस्थली, काठमाडौं

प्रकाशित : फाल्गुन २१, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?