कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राईको बिदाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रवासमा बसेर पनि नेपाली साहित्यको श्रीवृद्धिमा जीवनपर्यन्त समर्पित हुने भाषासेवीमध्ये इन्द्रबहादुर राईको नाम अग्रणी पङ्क्तिमा आउँछ । नेपाल भाषा जाति र संस्कृतिको सेरोफेरोमा रचना गरिएका उनका काव्यकृति नेपाली साहित्यमा रुचाइएका र कहिल्यै नमेटिने सितारा हुन् ।

राईको बिदाइ

उनका सबै कृतिको आआफ्नै विशेषता भए पनि ‘आज रमिता छ’ उपन्यासले प्रस्तुत गरेको देशभक्ति र ‘रातभरि हुरी चल्यो’ कथाको जीवन दर्शनले पाठक, श्रोता सबैलाई पटक–पटक आफू र देशका लागि सोच्न बाध्य तुल्याउँछन् ।

तेस्रो आयाम र लीला लेखनका माध्यमबाट नेपाली साहित्यमा विभिन्न तरङ्ग सिर्जना गरेर भाषा साहित्यको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका राई नेपाली साहित्याकाशका कहिल्यै ननिभ्ने चम्किला तारा हुन् । करिब ६ दशकको जोशिलो साहित्यिक यात्रा र ९० वर्षको पाको शरीरले मङ्गलबार दार्जिलिङमा विश्राम लियो । राईको निधनले तेस्रो आयामको खम्बामात्र ढलेन, लीला लेखनको दीयो मधुरो भएको छ ।

जीवनको अर्थ बुझ्न र त्यसलाई सार्थकता दिन जोकोहीका लागि सम्भव छैन । राईले आफूलाई मात्र बुझेनन्, आफ्ना काव्यकृतिका माध्यमबाट अरुले पनि आफूलाई बुझ्ने दरिलो आधारसमेत तयार गरे । यही नै महानताको चिनारी हो, जातिप्रतिको आत्मीयता हो र भाषा, साहित्यप्रतिको सच्चा उपासना पनि । ‘आज रमिता छ’ उपन्यासको अंग्रेजी अनुवादका माध्यमबाट विश्व साहित्यले पनि उनको बौद्धिकता, हार्दिकता र भाषा साहित्यप्रतिको आत्मीयताको मूल्याङ्कन गर्नसके उनको मृतात्माले अझ बढी शान्तिको महसुस गर्ने थियो । भौतिक रूपमा यो संसारमा नरहे पनि उनी नेपाली जाति र नेपाली साहित्यका सदैव प्रेरणाका स्रोत बनेका छन् । उनको मृतात्मालाई शान्ति मिलोस् ।

– लक्ष्मीनारायण मिश्र

शिवसताक्षी नपा–११, झापा

***

बर्माबाट लखेटिएका नेपालीहरूमध्ये जयमायालाई लिखापानीसम्म ल्याएर उद्धार गर्‍यौ । सुखका लागि गाउँ छोडेर सहर अनि सहर छोडेर गाउँको बसाइँ खोज्ने निम्न वर्गीय नेपालीको घरमा रातभरि हुरी चलिरहेको चित्रण गरिरह्यो । तेस्रो आयामको तेस्रो आँखाले नेपाली साहित्यलाई हेर्न खोजेर हलचल नै मच्चायौ । अन्तत: ‘आज रमिता छ’ भन्दाभन्दै सांसारिक लीलालेखन सबैलाई बुझाएर तिमी सदाका लागि सशरीर अस्तायौ । तर तिम्रो कीर्तिमय उज्यालो नेपाली वाङ्मयमा सदैव जीवन्त रहिरहने छ । तिम्रो शाश्वत महाप्रयाण सुखद रहोस् ! हार्दिक श्रद्धाञ्जली ।

– डा. मतिप्रसाद ढकाल

गैंडाकोट, नवलपुर

प्रकाशित : फाल्गुन २४, २०७४ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?