कानुनी कारबाही होस्

कान्तिपुर संवाददाता

काठमाडौँ — नारीप्रतिको थिचोमिचो, हिंसा र गैरकानुनी व्यवहार अन्त्यका लागि विश्वभरि अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा कैलालीमा बोक्सीको आरोपमा मरणासन्न हुनेगरी कुटाइ खाएकी राधा चौधरीको अस्पतालमा उपचार भइरहेको छ ।

कानुनी कारबाही होस्

नेपालको संविधानमा महिलाका धेरै मौलिक हकको व्यवस्था गरेको छ । तर सबै महिलाले सुरक्षाको अनुभूति गर्न पाएका छैनन् । कहिले बोक्सीको आरोपमा त कहिले छोरा नपाएको आरोपमा अनि कहिले दाइजो नल्याएको आरोपमा महिलाले शारीरिक, मानसिक र भौतिक सजाय पाइरहेका छन् । निर्मम खालका यातना घरपरिवार, समाज अनि राज्यले नै दिँदै आएको छ । विकास भनेर सडक, पुल र भौतिक संरचनालाई मात्र बुझ्ने नीति निर्माता र कार्यान्वयनकर्ताहरूलाई गतिलो जवाफ हो, यो घटना । अहिले पशु अधिकारको कुरा उठिरहेका बेला मानवअधिकारको लज्जास्पद व्यवहार देखिरहेका छौं, हाम्रो देशमा । मानवीय विकासका लागि गाउँपालिका र नगरपालिकाहरूले सम्पूर्ण बजेट भौतिक संरचना निर्माणमा मात्र लगाएको हामीले देख्दै आएका छौं । जहाँ अहिले पनि मानवअधिकार विरुद्ध बोक्सी भनेर कुटिन्छ, बलात्कार गरिन्छ, दाइजो र छोरा नपाएको आरोप लगाएर घर निकाला गरिन्छ, अनि आत्महत्या गर्न बाध्य पारिन्छ । यस प्रकारलाई अमानवीय व्यवहार अन्त्य आवश्यक छ । यसका लागि प्रशासनले बोक्सीको आरोप लगाउनेदेखि कुट्ने र रमिता हेरेर हाँस्नेहरू समेतलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ । अनि मात्र त्यस्तो घटना दोहोरिँदैन ।

– रामबहादुर पुन

जानकी गाउँपालिका–३, बाँके

***

कैलालीको घोडाघोडी नगरपालिका, देउकलीकी १८ वर्षीया राधा चौधरीलाई बोक्सीको आरोपमा ६ घन्टासम्म चरम यातना दिएको विषयले पुरा मुलुक तातेको छ, यतिबेला । प्रधानमन्त्री र गृहमन्त्रीबाट कुटपिटमा संलग्नलाई कडा कारबाही गरिने उद्घोष भइसकेको अवस्थामा पीडितले न्याय पाउने आशा गरिएको छ । साथै ‘दोषीमाथि जघन्य अपराधको मुद्दा चलाइने’ आइतबार प्रकाशित खबरले स्थानीय प्रशासन र प्रादेशिक सरकार पनि यो मामलामा संवेदनशील बनेको मान्न सकिन्छ । यद्यपि यस्ता घटना बारम्बार दोहोरिने गरेको सन्दर्भमाथि सिंहावलोकन गर्दा जनता तातेपछि सरकार पनि ‘इँटाको जवाफ ढुंगाले’ भन्ने शैलीमा प्रस्तुत हुनुलाई मात्र स्थायी समाधान मान्न सकिंँदैन ।

मानिसको अन्तष्करणमा गाडिएर बसेका धर्म, संस्कार, विचार र मान्यताको प्रतिकार मुड्की वर्षाएको, लाठी चलाएको भरमा मात्र सम्भव देखिंँदैन । यस्ता कुसंस्कारमा लाग्ने अधिकांश व्यक्ति निर्धन, अशिक्षित, बेरोजगार र मिश्रित सामाजिक संरचनाभित्र बस्न नरुचाउने खालका हुन्छन् । त्यस बाहेक यदि मुलुकभित्र हुने हत्या, हिंसा, लुट्पाट्, बलात्कार, चोरी–डकैती समेतको लेखाजोखा गर्ने हो भने त्यसमा संलग्न धेरैजसो व्यक्ति निश्चित वर्ग र समुदायका हुने गरेको पाइन्छ । यसरी घोडाघोडी नगरपालिकाको घटनालाई समेत केन्द्रविन्दुमा राखेर विश्लेषण गर्दा समाजशास्त्र र मानवशास्त्रीय सिद्धान्त अवलम्बन गर्दै परिवर्तनका लागि निरन्तर समाजको ढोका घचघच्याइरहनुपर्ने देखिन्छ । दोषीमाथिको कारबाहीमा भने सरकारले कहिल्यै खुट्टा कमाउनु हुँदैन ।

– डा. भुवनेश्वर शर्मा

चन्द्रागिरि–२, काठमाडौं

***

कैलालीको घोडाघोडी नपा वडा नं. ५ मा १८ वर्षीय किशोरी राधा चौधरीमाथि भएको दानवीय व्यवहारका बारे केही नलेखी बस्नै सकिएन । सञ्चार माध्यममा आएको भिडियो सही हो वा होइन ? भन्ने दुविधा परिरहेको अवस्थामा सोमबारको कान्तिपुर दैनिकको ३ पृष्ठमा प्रकाशित समाचारले आँसुका धारा रोकिएनन् । भोलेबाबाको नाममा अपराधको मुहान सिर्जना गर्ने कुख्यात अपराधी रामबहादुर चौधरीलाई तुरुन्त आजीवन जेल सजाय हुनुपर्छ । अपराधी रामबहादुर भोलेबाबा, यो नाम सुन्दा नै उदेक लाग्छ । प्रत्यक्षदर्शी र रामबहादुरका भरौटे, पछौटेहरूलाई पनि कडाभन्दा कडा सजाय हुनुपर्छ । राधा त देखिएकी एक महिला भइन्, यस्ता कैयौँले रामबहादुर जस्ता बदमासबाट यातना खेपिसकेछन् । कतारमा मान्छे मर्छ । बोक्सीको आरोपमा कैलालीमा अबोध नारीमाथि मरणासन्न हुनेगरी यातना दिइन्छ । यो वर्तमान समाज र मानवीय दृष्टिकोणले सबैभन्दा ठूलो अपराध हो । रामबहादुर भन्ने अपराधीले गाउँका ठूलाबडा भनाउँदाहरूको र स्थानीय तहको साथ पाएको समाचारबाट बुझिन्छ । त्यति ठूलो भिडभाडबाट एकजनाले पनि ती अबोध युवतीको पक्षमा बोल्ने प्रयास नगर्नुले कतै यो योजनाबद्ध रूपले गरिएको ताण्डव त होइन ? भन्ने शंका उब्जाएको छ । दुई महिना अघिसम्म साइकलमा पाउरोटी डुलाउने व्यक्ति कसरी भोलेबाबा भयो ? अनि साथ दिने स्मारिका चौधरी नारीमाथिको कलंक हो । उसलाई पनि आजीवन जेल पठाउनुपर्छ । बिहानको सात बजेदेखि सुरु भएको यातना दिने क्रम १२ बजेसम्म निरन्तर चलिरहँदा त्यहाँ उपस्थित मानव समुदायले चुइँक्क नबोल्नुलाई कसरी बुझ्ने ? एक अर्थमा ती सबै दोषी हुन् ।

– शिवप्रसाद घिमिरे

बानेश्वर, काठमाडौं

प्रकाशित : फाल्गुन २९, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?