२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सकसपूर्ण पार्टी एकता

काठमाडौँ — एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सकसपूर्ण देखिँदै छ । प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति माओवादी केन्द्रका मन्त्रीहरूले असन्तुष्टि जनाउनु तथा बराबरीका आधारमा मात्र पार्टी एकता हुनुपर्छ भनी प्रचण्डले अभिव्यक्ति दिनु यसको ज्वलन्त उदाहरण हो ।

सकसपूर्ण पार्टी एकता

एमालेमा ओलिले वर्चस्व कायम गरेका छन् भने माओवादी केन्द्रमा प्रचण्डको एकलौटी वर्चस्व कायम छ । यसरी आआफ्नो विचार पार्टीमा लाद्न सफल भएका यी दुई नेताहरू कसरी एक ठाउँमा बस्न सक्लान् भनी अहिले सबैतिर बहस भइरहेको छ । प्रचण्ड र ओली आआफ्नो पार्टीमा जंगलको राजा सिंहजस्तै सर्वशक्तिमान् छन् । जंगलमा दुईटा सिंह हुँदा कसले शासन गर्ने भनी झगडा भएजस्तै पार्टी एकतापछि समान हैसियत भएका दुई अध्यक्ष कसरी मिलेर एकै ठाउँमा बस्न सक्छन् र शासन गर्छन् भन्ने प्रश्न पनि टड्कारो देखिन्छ । ओली र प्रचण्डको व्यवस्थापनले मात्र पार्टी एकता हुने देखिँदैन । केन्द्रदेखि गाउँ तहसम्मका कार्यकर्ताको व्यवस्थापन पनि जटिल कार्य नै देखिन्छ । हिंसा हत्याका माध्यमबाट राजनीतिमा प्रवेश गरेको माओवादी र शान्तिपूर्ण तवरले राजनीति गरिरहेको एमालेका बीचमा जटिलता पैदा हुनु नौलो कुरा पनि होइन । यसर्थ एउटा म्यानमा दुइटा हतियार नअटेजस्तै दुइटा अध्यक्ष एउटै पार्टीमा कसरी अटाउलान् ? त्यो भने प्रतीक्षा गर्नुपर्ने विषय देखिन्छ ।
– पुरुषोत्तम घोरासैनी
बालाजु–१६, काठमाडौं
***


प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअघि नै एकता हुने भनिएको वाम एकता अहिलेसम्म हुन सकेको छैन । कहिले पार्टीभित्रका अनेक समस्या देखाएर, कहिले कुनै कारण देखाएर हुन नसकेको पार्टी एकता प्रधानमन्त्रीको भारत भ्रमणअघि नै गर्ने कुरा थियो । प्रधानमन्त्रीको भारत भ्रमणअघि एकता हुन नसकेपछि वैशाख ९ मा गर्ने सहमति भएको थियो । प्रधानमन्त्री उही खबर बोकेर दिल्ली पुगे । देशका ठूला दुई दल एकता गरेर एउटै सरकार बनाई देश विकास गर्ने र स्थायित्व दिने कुराले धेरै नेपालीलाई खुसी बनाएको छ तर बेलाबेलामा एकता हुने भनिए पनि अहिलेसम्म एकता नहुनुले जनतामाथि हरेक पटक प्रश्न उभ्याउने ठाउँ दिएका छन् । प्रधानमन्त्रीको काम गराइ र माओवादी केन्द्रका अध्यक्षको बराबरी हैसियतमा मात्र एकता हुने कुराले हुने भनिएको एकता प्रभावित हुन खोज्दै छ । यो समयमा दुई दल र नेताले साँच्चै देश विकास र स्थायित्व दिन खोजेका हुन् भने एकता घोषित मिति वैशाख ९ मै हुन जरुरी छ । आफ्नो अवस्था एकतापछि के हुने ? म शेर रहिरहन सक्छु कि सक्दिनँ भन्ने छ भने एकता सम्भव छैन । यदि विकास र स्थायित्व नै खोजेको भए आफूले जति नै ठूलो त्याग गरेर भए पनि एकतालाई टुंगोमा पुर्‍याउनु नै पर्छ । आफ्नो स्वार्थ पूराका लागि एकतालाई पछि धकेलेर फेरि पनि विकास, सुशासनको प्रचारबाजी नगरे हुन्छ ।


वाम गठबन्धन भनिए पनि धर्मनिरपेक्षता र संघीयताको बीज रोप्नेले नै उसका मुद्दालाई मजबुत बनाउन गठबन्धन बनाइदिएको हुन सक्छ । रिमोट कस्तो चालिने हो, उही आधारमा एकता प्रक्रिया चल्ने गर्छ । रिमोटले वैशाख ९ मा एकता गरेर बाँकी क्रमश: मिलाउँदै जाने भन्ने हुन सक्छ तर यसो भए आन्तरिक द्वन्द्वले चाँडै राप्रपाको हाल झैँ नहोला भन्न सकिन्न । यसर्थ आन्तरिक छलफल तीव्र पारी सबै समस्या समाधान गरेर वैशाख ९ मै एकता गरेर नयाँ सालमा जनतामा खुसी सञ्चार गराउनसके दुई वाम दल सफल हुन्थे ।
– समय अधिकारी
सिनाम, ताप्लेजुङ

प्रकाशित : वैशाख २, २०७५ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?