कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सांस्कृतिक नगरको नाटक

काठमाडौँ — विश्व सम्पदा दिवस पारेर भक्तपुर नगरपालिकाले आयोजना गरेको एउटा कार्यक्रममा यहाँका सांसदले सरकारसित भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्ने माग राख्न भ्याइहालेछन् । भक्तपुर कमलविनायकमा एउटा प्रख्यात दोबाटो छ । त्यहीँबाट एउटा बाटो पर्यटकीय गन्तव्य नगरकोट लाग्छ भने अर्को ल्हासापाको सुसद्यो: वा महामञ्जुश्रीतर्फ ।

सांस्कृतिक नगरको नाटक

त्यहीँ दोबाटोमा एउटा ऐतिहासिक पौवा थियो— लाँचा–फल्चा । बटुवा र स्थानीयलाई ओत आश्रय दिंदै आएको उसैलाई एक दिन कसैको ओतको दरकार भयो । तर, यस्ता सांस्कृतिक सम्पदाहरूका संरक्षक भक्तपुर नगरपालिकाले ऐन मौकामा आँखा चिम्लिदियो । खोलेन । ऊ भत्किँदै गयो । अहिले त्यो ठाउँ ‘भत्क्यापाटी’ को नामले निकै (कु) ख्यात छ ।


यसको दक्षिणपट्टि दुई मिनेट ओरालो झर्दा पन्ध्रौँ शताब्दीमा निर्मित मल्लकालीन ऐतिहासिक धरोहर वाचुहिटी पुगिन्छ । ल्होहँलेप लगाइएको धारा आफैँ मनोहारी छ, वरिपरि रहेको खुला ठाउँले यसको गरिमा अझ बढाइदिएको छ । यस्तो ऐतिहासिक सांस्कृतिक धरोहरलाई नगरपालिका आफैँले सञ्चालन गरेको टाउन प्लानिङले खुला ठाउँमा परिणत गरेर आयोजनाको निजी बनायो । अहिले उसले पश्चिमपट्टिको खुला स्थानमा ५ वटा निजी गुठीको मुर्दा पोल्ने काठपात राख्ने स्थान बनाउन रकमसमेत उपलब्ध गराई सम्पदा अतिक्रमण सुरु भएको छ । प्लानिङबाट विस्थापित भएका दुइटा पाटीको सिरानैमा फेरि सट्टापट्टाको रूपमा अर्को पाटी पनि निर्माण गराइएको छ । पूर्वपट्टिको खुला ठाउँमा बोका बलि चढाउने देवालीको मण्डप छ । त्यसको दक्षिणपट्टि चैत्य निर्माण गर्न बुद्ध जयन्तीको दिन शिलान्यास गर्ने योजना पनि टोलमा छलफल भइरहेको छ । नगरपालिकाको यो कार्य साँच्चिकै विनिर्माण हो कि विस्थापन ?


त्यसदेखि ५० मिटर उत्तरपट्टि थाथु सुभ्या भनेर चिन्निने देवाली–डाँडो छ । स्थानीय नेवार समुदायले आफूहरूको कुलदेवता पुज्न गइरहने पावन स्थानको बाटो प्लानिङले थुनिदिएको छ । यसकै पश्चिमपट्टि अवस्थित ऐतिहासिक गरुड–कुण्डलको सिरानैमा चर्पी बनाएको नगरपालिकाले हेरिबस्यो । प्लानिङले यसको परिसर मिच्ने प्रयास छाडेको छैन । यसकै पश्चिमपट्टि बाटोपारि तीन रोपनी क्षेत्रफलमा फैलिएको सिज.महाद्यो: मन्दिर र आँगन परिसर छ । ०२१ सालको नापीले दुई रोपनी पन्ध्र आना २ पैसा महाद्यो:को नाउँमा फिल्डबुक नै कायम गरिदिएको छ । अहिले विभिन्न मितिमा २ रोपनी जग्गा आदेश र निर्णयले केही मानिसले आफ्नो नाममा जग्गाधनी प्रमाणपुर्जासमेत बनाइसकेका छन् । तर ती प्रमाण पुर्जाहरूमा बकाइदा मन्दिर एरिया भनेर उल्लेख पनि छ । त्यस्तो जग्गामा घर बनाउन नगरपालिकामा पेस गरिएको नक्सापास भएर ४ तलाको आधुनिक घर पनि बनिसकेको छ । सुकुलढोकाको भीमसेनको सार्वजनिक सत्तल निजी भएर दाजुभाइबीच अंशबन्डा भएर गइसकेको छ । नगरपालिका यी सबै टुलुटुलु हेर्दै साक्षी पनि बस्दै आइरहेको छ । स्वच्छ, सफा, हराभराको नाराले काठमाडौंको के कस्तो हविगत भयो, जगजाहेर छ । अब सांस्कृतिक नगरको नाराले भक्तपुरको के कति दोहन हुने हो ? लामो समय पर्खनुपर्ने छैन । माथि वर्णित केही प्रसङ्गले निकटको भावी तस्बिर प्रस्तुत गर्दैन र ?
– श्री सुवाल
भक्तपुर नगरपालिका–९

प्रकाशित : वैशाख १०, २०७५ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?