चिनियाँ रेलभित्र सपनै–सपना

काठमाडौँ — मुलुकभित्र विकासको स्वरुपलाई मूर्तरूप दिन नसकी हामी अरूको आसमा बाँच्न पल्किएका छौं, अरूको खुट्टाले टेकेर दौडन खोज्दा ढुनमुनिएर लडिरहेका छौं । यसै सन्दर्भमा विद्वानद्वय डा. सूर्यराज आचार्य र रमेश पोखरेलद्वारा रचित ‘समृद्धिको ढोका’मा शुक्रबार प्रकाशित लेख पठनयोग्य हुँदाहुँदै सबै कुरामा सहमत हुन सकिएन ।

चिनियाँ रेलभित्र सपनै–सपना

वास्तवमा चीन र जापानको विकास रेलका कारणमात्र भएको होइन । अत्यधिक सामग्री गाउँ–सहर सबै ठाउँमा उत्पादन हुनथालेपछि त्यसको निकास सहज ढंगबाट होस् भनी उनीहरूले आफ्नै बलबुताबाट रेलसेवाको विस्तार गरेका हुन् । यता केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्ग निर्माण भएपछि वर्षेनि २५ लाख बौद्धमार्गी नेपाल आउने सन्दर्भ पनि गणितीय हिसाबको र कपोलकल्पित जस्तो देखिन्छ । के चिनियाँ धार्मिक पर्यटकहरू कहिले नेपालसम्म रेल चल्ला र जाउँला भनेर ढुकेर बसेका होलान् ? मनकामनामा केवलकार नचल्दा त्यहाँ भक्तजनको ओइरो लाग्दैनथ्यो ? पहिले हिप्पी आतंकबाट बदनाम कमाएको हाम्रो मुलुकमा रेलमार्गबाट विभिन्न बहाना बनाएर डन, तस्कर र पंक आकृतिहरूको भिड नलाग्ला भनी कसले भन्न सक्छ ? दु:खसाथ भन्नुपर्छ : रेलको डिब्बा भरेर पठाउने सामग्री हामीसँग छँदै छैन । भएका उद्योग रुग्ण अवस्थामा छन् । यो स्थितिमा संसारको उत्पादन हबसँग जोड्दा हाम्रो मुलुक ‘डम्पिङ साइट’ बन्दैन र ?


अरूले टेको लगाएर छोडिदिएको भरमा विकास टिक्न सक्दैन । चिनियाँ सहयोगबाट निर्माण भएका ट्रलीबस, भृकृटी कागज कारखाना, हेटौंडा कपडा उद्योग लगायतका संरचनामाथि विध्वंस मच्चिँदा चिनियाँ मन कति रुँदो हो † यता हामी लाज पचाउँदै हाँसिरहेका छौं । तसर्थ हामीले रेल ल्याउनु अघि विकासको आधारस्तम्भ आफैंले तयार गर्नुपर्छ, रेलको लिकमा एउटा किला फुस्कियो भने चीनलाई गुहार्नुपर्ने स्थितिमा उतै फर्केर मुख मिठ्याउने बानी छोड्नुपर्छ, दिवास्वप्नमा रमाउने हठ त्याग्नुपर्छ ।
– डा. भुवनेश्वर शर्मा
चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : असार ७, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?