कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ज्ञानेन्द्रपथमा लम्किँदै सरकार !

काठमाडौँ — जनताको असन्तुष्टि दबाउन जुन अभ्यास हिजोका राजा/महाराजाले गर्थे, अहिले दुई तिहाइको दम्भ पालेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार त्यही अभ्यास गर्दैछ ।

ज्ञानेन्द्रपथमा लम्किँदै सरकार !

डा. गोविन्द केसीको अनशनसँंगै महंँगी, कालोबजारी र माफियातन्त्रविरुद्ध सर्वसाधारण सडकमा आउँदा प्रधानमन्त्रीको प्रतिक्रिया, प्रस्तुति र विचारोत्तेजक अभिव्यक्ति सुन्दा लाग्छ– उनी जिम्मेवारीबोध सहितको संयमता र सद्भावको बाटो हिँड्न तयार छैनन् । प्रधानमन्त्री ओलीलाई लागेको हुनसक्छ, दुई तिहाइ प्राप्त सरकार एक्लै सबै कुराको ठेकेदार हो । दुई तिहाइ समर्थनले सरकारलाई हरेक क्षेत्रको विज्ञता र दक्षता सुम्पेको छ । चाहिनेभन्दा अधिक शक्तिशाली हुने तृष्णा ओलीमा कति रहेछ भन्ने कुरा उनले प्रधानमन्त्री भएपछि आफू मातहतको कब्जामा राखेका दर्जनौं विभाग र त्यसमा छुट्याइएको बजेटको केन्द्रीकरणले पुष्टि गर्छ ।

सायद भारत, चीनमा प्राप्त विधावारिधिलाई ओलीले मानको रूपमा होइन, अथाह ज्ञानको कमाइ बुझेका होलान् । यो बहुमत रहुन्जेल प्रबुद्ध समुदाय र नागरिक समाजको कुरा बुझ्नु वा सुन्नु जनमतको उपेक्षा हुन्छ । अर्थात नागरिकको कुरा सुन्दा दुई तिहाइको धज्जी उड्छ, आफ्नो कद होचो हुन्छ भन्ने ओलीलाई लागेको हुनसक्छ । त्यसैले आफू नेतृत्वको सरकार नै सर्वेसर्वा हो भन्ने बुझाइबाट ओली परिमार्जन हुन चाहँदैनन् । त्यसैको संकेत डा. केसीको मागप्रतिको रुखो व्यवहार र जनताको असन्तुष्टि दबाउन उनले अवलम्बन गरेको कार्यले पुष्टि गर्छ । आफ्नै जिन्दगीभरको राजनीतिक लडाइँ र जेलनेलको लक्ष्य भनिएको समाजवादलाई माफिया, तस्कर र दलालको हातमा सुम्पने ओलीको चेष्टाले गरिब, मजदुर, श्रमिक र सर्वसाधारणलाई झनै कमजोर पारेर योजनाबद्ध ढंगले धनाढ्यहरूलाई सर्वत्र लुटमा छुट दिँदै मुख मिठ्याउने वातावरण तयार गर्दैछ । सत्तारोहणको ६ महिना नबित्दै दम्भ, अहंकार र घमन्ड मिश्रित आफ्नो असली रूप देखाउन उद्यत प्रधानमन्त्रीले पनि बुझेकै हुनुपर्छ कि जनता कसैको रैती थिएनन्, होइनन् र हुने छैनन् । उनलाई प्राप्त दुई तिहाइको समर्थन अनन्तकालका लागि होइन, बरु एकपटक काम गर्ने ऐतिहासिक मौका हो ।

– निरोज खड्का
लिखु तामाकोसी–३, रामेछाप

प्रकाशित : श्रावण ८, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?