२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

इमानदार डाक्टर डराउनु पर्दैन

कान्तिपुर संवाददाता

काठमाडौँ — भदौ १ गतेबाट लागू हुने मुलुकी अपराध संहिता ऐनको दफा २३१ मा बदनियत चिताइ इलाज गर्न नहुने र दफा २३१ (२) मा कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्दा ज्यान गए ज्यान मारेसरह सजाय हुने व्यवस्था छ ।

इमानदार डाक्टर डराउनु पर्दैन

यो व्यवस्थाबाट चिकित्साकर्मीहरू आत्तिएका समाचार आइरहेका छन् । यो कानुनले कुशल एवं सीपयुक्त चिकित्साकर्मीलाई विचलित गराउँदैन । सीप नभएका, नक्कली प्रमाणपत्रधारीलाई भने पक्कै नियन्त्रण गर्नेछ ।
– महेन्द्रसिंह बम
टीकापुर–१, कैलाली
***


उपचारमा लापरबाही भएर ज्यान गए जन्मकैदको सजाय हुनसक्ने नयाँ कानुनी व्यवस्थाका विषयमा चिकित्सकहरूको चित्कार अचम्मलाग्दो छ । मुलुकी ऐनलाई विस्थापित गर्न ल्याइएको मुलुकी अपराध संहिता ऐनमा चिकित्सकले ‘बदनियत चिताइ’ उपचार वा औषधि सिफारिस गर्दा ज्यानै गए जन्मकैदको सजाय तोकेको हो । लापरबाही वा हेलचेक्र्याइँ गरी उपचार गरे, आफ्नै वा अभिभावकको स्वीकृति नलिई बिरामीमा औषधि प्रयोग गरे, प्रयोगशाला परीक्षण गरी झुटो प्रतिवेदन दिने चिकित्सक वा स्वास्थ्यकर्मीलाई पनि सजाय तोकिएको छ । बिरामीको अंगभंग वा मृत्यु भए चिकित्सक वा स्वास्थ्यकर्मीबाट मनासिव क्षतिपूर्ति भराउनुपर्ने पनि व्यवस्था छ ।


यो कानुनी प्रावधान सुन्नासाथ कतिपय चिकित्सकले मनपरी उपचार गर्न र पैसा असुल्न नपाउने डरले आन्दोलनको चेतावनी दिएका छन् । सेवाबाट विमुख बनाउने कानुन ल्याएको, चिकित्सक र बिरामीबीच अविश्वासको वातावरण बनाएको जस्ता हुंकार सुनिन थालेको छ । सजाय तोकेको गलत चिकित्सकलाई होइन र ? म आफैंले २०३१ सालदेखि २०४८ सालसम्म बिरामीको उपचार सेवा गरेँ । वरिष्ठ चिकित्सकसँंग पनि उपचारमा संलग्न भएँ । कहीं, कतै बिरामीको मृत्यु भएन । कुनै शंका र आरोपसम्म लागेन । आफ्नो ज्ञान र सीप सोचविचारका साथ प्रयोग गर्ने स्वास्थ्यकर्मीलाई कुन कानुनले समात्छ ? बिरामी र आफन्तलाई फटाहाकै संज्ञा दिन पाइन्छ र ? कानुन आयो भन्दैमा ‘हाउगुजी’ किन ? जानी–जानी घमन्डका साथ गलत उपचार गर्नेलाई कानुनले समात्ने हो ।
– गंंगाराज अर्याल
पाणिनि–८, अर्घाखाँची
***


देश सम्पन्नतातिर जान सुशासन हुनुपर्छ । सुशासन हुनु भनेको सबै कानुनी दायराभित्र आउनु हो । कानुनी राज्यमा कोही पनि कानुनभन्दा माथि हुँदैन । तर हामीकहाँ ठूलालाई चैन र सानालाई ऐनजस्तो देखिन्छ । ज्यानमारा, अपहरणकारी, भ्रष्टाचारी, बलात्कारी, घुसखोरी, देशद्रोहीले कानुनी कारबाहीमा उन्मुक्ति पाउँछन् । तर उपचार गर्ने स्वास्थ्यकर्मीलाई जेल हाल्ने रे । सबै ठाउँमा कमी–कमजोरी हुनसक्छ । त्यसमा नियमन हुनुपर्छ । एकजना स्वास्थ्यकर्मीले दूरदराजमा मेडिकल खोलेर बस्दा सयौं जनाको ज्यान बचेको हुन्छ । उपचारको क्रममा कसैको ज्यान गए उसलाई जेल हाल्ने ? सरकारको ध्यान उपचार पद्धतिलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरयुक्त र स्वस्थ बनाउनेतिर जानुपर्छ । भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुनमा भयो भने सबै विसंगति अन्त्य हुन्छ । डाक्टरलाई होइन, भ्रष्टाचारीलाई जेलको व्यवस्था होस् । गुणस्तरहीन सडक कारणले बिरामी अस्पतालमा ढिला पुग्दा ज्यान गयो, यो दोष कसको, को जेल जाने डक्टर या अरू कुनै ? भ्रष्टाचारीलाई फाँसी दिने कानुन बनाउँदा राम्रो होला ।
– मान केसी
[email protected]

प्रकाशित : श्रावण ३१, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?