कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अवकाश उमेर हद

काठमाडौँ — सरकारी नीतिनियम बेलाबखत चर्चामा आउँछन् । सरकारले चाहेमा कमसल नीतिनियम पनि लागू हुन्छन्, नचाहेमा असल नीतिनियम भए पनि ती त्यत्तिकै सेलाउँछन् वा ‘पेन्डिङ’ मा राखिन्छन् ।

अवकाश उमेर हद

यसै क्रममा कर्मचारीहरूको अवकाश उमेर हद ५८ वर्ष भइआएकामा त्यसलाई ६० वर्ष बनाउने कुराले निकै चर्चा पाएको छ तर त्यो कार्यान्वयन नहुँदै अहिले फेरि ५८ वर्ष नै कायम गर्ने भन्ने विषयमा फेरि चर्चा हुँदै छ । निजामती कर्मचारीका विषयमा यो चर्चा भइरहँदा शिक्षकहरूका सम्बन्धमा चाहिँ के हुने हो भन्ने व्यक्तिगत तथा सामूहिक चासो पनि चुलिएको छ । एक थरीको भनाइ छ– निजामती कर्मचारीहरूको तलबभत्ता बढ्दा शिक्षकहरूको पनि बढ्ने, पोसाक भत्ता, सञ्चयकोष, बिमाजस्ता सेवासुविधा पनि उत्तिकै भई बिदाको सुविधाबाहेक यी दुईबीच कुनै फरक नभएको हुँदा शिक्षकहरूको उमेर हद पनि ५८ नै बनाउनुपर्छ तर अर्का थरी भन्छन्– कलेजका अध्यापकहरूको अवकाश उमेर हद ६३ वर्ष भएको हुँदा विद्यालयका शिक्षकहरूको चाहिँ ६० वर्ष नै ठीक छ । यी दुवै थरी तर्क आआफ्ना ठाउँमा सही नै होलान् तर शैक्षिक गुणस्तरका कुरालाई सम्झने हो भने २०४८ सालमा एक शैक्षिक सत्र काम गरेका अस्थायी शिक्षकहरूलाई स्वत: स्थायी गरिएको हुँदा त्यसरी स्थायी भएका अधिकांश शिक्षक विषयवस्तुमा कमजोर छन् र अहिलेसम्म त्यसको नराम्रो असर शैक्षिक क्षेत्रले बेहोर्नुपरिरहेको छ भन्ने कुरा पनि बिर्सनु हुँदैन । तल्लो योग्यताका भएर पनि ज्येष्ठताका आधारमा अहिले पनि धेरै विद्यालयहरूमा तिनै ‘स्वत:हरू’को प्रभुत्व कायम छ । त्यसबाट मुक्त हुन पनि ५८ वर्षे उमेर हद राख्नु यथोचित देखिन्छ ।
– इन्द्रकुमार श्रेष्ठ ओखलढुंगा

प्रकाशित : भाद्र २४, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?