गैरजिम्मेवार डाक्टर

कान्तिपुर संवाददाता

काठमाडौँ — २३ गते प्रकाशित भरतपुरका ४ अस्पताल चहार्दा चहार्दै कुनैले पनि भर्ना नलिएपछि ३ वर्षीय अन्जान र निर्दोष बालकको ज्यान गयो । बच्चा जसलाई भगवान्को रूप मानिन्छ, बिचरा उनैको डाक्टरको गैरजिम्मेवारीले ज्यान गयो ।

यसबाट पुष्टि हुन्छ, डाक्टरहरू बिरामीप्रति कति जिम्मेवार हुन्छन् । करेतजस्तो विषालु सर्पले टोकेको अवस्थामा २४ घण्टाभित्र उपचार नभए ज्यान जान्छ भन्ने थाहा हुँदाहुँदै पनि उपचार नगर्नु डाक्टरको लापरबाही हो । कानुन ल्याएको रिस बिरामीमाथि साध्न पाइँदैन । आफ्नो निर्णयप्रति पछि हट्नु सरकारको कमजोरी हो । यस्तो जनपक्षीय कदमप्रति जनताको साथ अवश्य हुनेछ । केही गैरजिम्मेवार डाक्टरका कारणले गर्दा चरित्रवान् र सक्षम डाक्टर पनि बदनाम हुनुपरेको छ ।
– कृष्णप्रसाद पौडेल सनपा–४, वाङ्गला, अर्घाखाँची

Yamaha

प्रकाशित : भाद्र २४, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नाटकघरमा भक्ति संगीत

कान्तिपुर संवाददाता

काठमाडौँ — भजन–कीर्तन भन्नासाथ मठ–मन्दिरमा गाइने गीत बुझिन्छ । संगीतको यो विधा शनिबार भने मन्दिर होइन नाटकघरमा सुन्न पाइयो । हुन त गायकले नाटकघरलाई पनि मन्दिरकै संज्ञा दिएका थिए ।

सर्वनाम थिएटरले आयोजना गरेको ‘आराधना–२’ भक्ति संगीत कार्यक्रममा प्रस्तुति दिँदै गायक मनीष सापकोटा र वाद्यवादक टोली । तस्बिर : बिजु महर्जन

तर, आफूलाई मन्दिरबाट बाहिर निकालेकोमा मनीष सापकोटाले सर्वनाम थिएटरलाई धन्यवाद पनि व्यक्त गरे ।

सर्वनामले हालै सुरु गरेको ‘आराधना’ संगीत शृंखलाको दोस्रो भागमा मनीष प्रस्तुत भएका हुन् । उनले एक दर्जन भक्ति संगीत प्रस्तुत गरे । वाद्यवादक र कोरससहितको उनको समूहले देवीदेउताको पुकार गर्दै सुरुमा सेन्टिमेन्टल र त्यसपछि तीव्र वेगका गीत सुनाएको थियो । ‘हामी आध्यात्मिक ऊर्जा प्रवाह गर्न चाहन्छौं,’ गायकले स्टेजबाटै भने, ‘धर्मले मानिसमा विभाजन ल्याउँछ । तर, अध्यात्मले चाहिँ मनहरूलाई जोड्छ ।’ उनका अनुसार भक्ति संगीत मूलत: संगीतको आध्यात्मिक विधा हो ।

उनले गणेशको स्तुतिमार्फत कार्यक्रम प्रारम्भ गरेका थिए । त्यसपछि साई भजन सुनाए । शिव भजन प्रस्तुत गरिरहँदा झ्याप्प बत्ती गयो । माइक र विद्युत्तीय वाद्यवादन बन्द भए पनि गायन रोकिएन । बरु, दर्शक–श्रोतासमेत थप्पडी बजाउँदै ‘ओम नम: शिवाय, शिवाय नम: ओम...’ गाउन थाले । ‘अघि थिएटरलाई मन्दिर भनेको थिएँ नि,’ मनीष बोले, ‘अहिले मन्दिरमै गाएको आभाष भइरहेछ ।’

संगीतको व्याकरणभन्दा भावमा ध्यान दिन आग्रह गर्दै उनले आफू सिक्ने क्रममै रहेको पनि अवगत गराए । भाव प्रकट गर्न सक्नु भक्ति संगीतमा ज्यादै महत्त्वपूर्ण हुने उनको बुझाइ छ । उनले ‘गोपाल, गोवद्र्धन...’ बोलको कृष्ण भजन गाइसकेपछि भने, ‘एउटै शब्द धेरै पटक खेलाउँदा शब्दलाई फरक शैलीमा प्रस्तुत गर्नुपर्छ । एउटै शब्द दोहोर्‍याइरहँदा हामी स्रोतालाई आ–आफ्ना प्रिय देवताको अलग–अलग नाम उच्चारण गर्न लगाउँछौं ।’

कार्यक्रममा मनीषले हिन्दीबाट अनुवाद गरिएको ‘आपद सारा हट्नेछ...’ बोलको साई भजनसँगै शिव र कृष्णका अनेक कीर्तन सुनाएर माहोल रोमाञ्चक बनाएका थिए । उनलाई तबलामा लक्ष्मी डंगोल, ढोलकमा सुधीर चौधरी, मादलमा सुनील अर्याल, बाँसुरीमा डा. नीरञ्जन भण्डारी, गितारमा जीके, अक्टोप्याडमा तेजकुमार श्रेष्ठ र किबोर्डमा ब्रोनो तामाङले साथ दिएका थिए । सीता सुवेदी, मनुका कुँवर, तारा लिम्बू र मीना नेपाली कोरसमा थिए ।

आयोजक सर्वनाम थिएटरका अशेष मल्लले यो शृंखलालाई सयौं भागसम्म पुर्‍याउन चाहेको बताए । थिएटरलाई नाटकमा मात्र सीमित नराखेर कलाका विविध विधा एउटै छानामुनि प्रस्तुत गर्न खोजेको उनको भनाइ थियो । थिएटर भनेको आध्यात्मिक चिन्तनको थलो भएकाले यसमा संगीत विधा जोड्नु आवश्यक लागेको बताए ।

अशेषले भक्ति संगीत नै किन रोजियो भन्नेबारे पनि उजागर गर्न चाहे । ‘यो विधा कर्मकाण्डमा मात्र सीमित हुन थालेको छ,’ उनले भने, ‘खासमा यो आध्यात्मिक विधा हो । सामाजिक विकृति बढिरहेको बेला युवालाई उत्प्रेरणा जगाउन सक्ने विधाको प्रवद्र्धन हुनुपर्छ ।’ समारोहमा संगीतकार दीपक जंगम, गायक बुलु मुकारुङ, किरण प्रधान, गीतकार रमण घिमिरेलगायतले गायक तथा वाद्यवादकलाई शुभकामना दिएका थिए ।

प्रकाशित : भाद्र २४, २०७५ ०९:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT