कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षा दिवसको सार्थकता के ?

काठमाडौँ — केको खुसियालीमा शिक्षा दिवस मनाइएको हो भनी शिक्षाका तथ्यांक अध्ययन गर्दा थाहा भयो कि यस्ता रहेछन्, बिरालो बाँधेर श्राद्ध गर्नाका कारण :

शिक्षा दिवसको सार्थकता के ?


१. गत ५ वर्षमा सरकारी विद्यालयबाट ४ लाख विद्यार्थी घटेको खुसियाली साट्न ।
२. कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये गत एसईई परीक्षा दिने बेलासम्म १० लाख विद्यार्थी हराएको खुसियालीमा ।
३. गत ६ वर्षमा जम्मा विद्यार्थी संख्यामध्ये निजी विद्यालयमा भर्ना हुनेको प्रतिशत १८ बाट २१ प्रतिशत पुगेको र यो क्रम जारी रहे अर्को १५ वर्षभित्रमा सरकारी शिक्षा समाप्त हुने खुसियाली मनाउन ।
४. विद्यालय शिक्षामा वर्षेनि ७० प्रतिशत लगानी खेर गएपछि दाता रुष्ट भएका र तिनैलाई चित्त बुझाउन ग्रेडिङ प्रणालीमार्फत ज्यादै कमजोर विद्यार्थी पनि उच्चशिक्षा पढ्न पठाउन पाएको उपलक्षमा । अझ सबभन्दा कमजोरलाई शिक्षक बनाउने रणनीति सफल भएकामा ।
५. १२ हजार विद्यालयमा शौचालय नै नभएको, २० हजार विद्यालयमा छात्रा शौचालय नभएको र शौचालय नभएकै कारण कक्षा ६ पछि छात्राहरूले विद्यालय छोड्ने खुसियालीमा ।
६. सहरका गल्ली–गल्लीमा खुलेका विदेशी दलालका पीएचडी पसल फस्टाउँदै गएको, ४ लाख तिरेपछि सजिलै पीएचडी पाइने र नेपालको विश्वविद्यालयबाट स्नातकोत्तर अनुत्तीर्ण हुनेले समेत ३/४ वर्षभित्र दुवै डिग्री किन्न सक्ने क्षमता विकास भएको खुसियालीमा ।
६. राजनीतिक नियुक्तिमा विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्दा पीएचडी नगरेका आफन्तलाई समेत उपकुलपतिमा नियुक्त गर्न पाएको र सम्बन्धनका नाममा भ्रष्टाचार बढेको उपलक्षमा ।
७. देशकै सबैभन्दा ठूलो र अझै ८३ प्रतिशत विद्यार्थी बोकेको जेठो विश्वविद्यालयमा ७४ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको खुसियालीमा ।
८. संघीय नेपालमा संविधानको अनुसूची ६ अनुसार प्रादेशिक सरकार र अनुसूची ८ अनुसार स्थानीय सरकारको शिक्षाको अधिकार कटौती गर्दै एकात्मक राज्यको अवधारणामा केन्द्रीय सरकारले बेला–बेलामा अनेक बुँदे कार्यक्रम सार्वजनिक गर्ने तर काम गर्न नपर्ने खुसियालीमा ।
९. प्रत्येक नागरिकको संविधान प्रदत्त शिक्षाको मौलिक हकमा कटौती हुनेगरी विधेयक संसद् पुगेको उपलक्षमा ।
१०. प्रत्येक वर्ष शिक्षाको आकर्षक नारा दिएर जनता भुलाउने र कक्षाकोठामा पुग्नुपर्ने बजेट घटाउँदै त्यस्तै नारा प्रचारका लागि तामधामसाथ मनाइने कार्यक्रममा स्रोत खर्च गर्न पाएको खुसियालीमा ।
– मनप्रसाद वाग्ले,मीनभवन, काठमाडौं

प्रकाशित : भाद्र २६, २०७५ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?