२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दर त खाऔं तर विचार गरेर

काठमाडौँ — भोलि नेपाली महिलाहरूको महान चाड हरितालिका अर्थात् तीज अनि आज ‘दर खाने दिन’ । आफ्नो बाल्यावस्थाका दिनहरू सम्झन्छु, मध्यरातमा आमादिदीहरूले गुँद अनि खीर पकाएर खाएको । अनि अचेल विकसित हुँदै गइरहेका कुसंस्कार पनि सम्झन्छु, महिनौं दिन अघिदेखि घर–घर घुमेर ‘दर खाने’ विचलन, जसमा शुद्धता छैन ।

दर त खाऔं तर विचार गरेर

देखासिकी र आडम्बर मात्र छ । स्वास्थ्यको त कुरै छोडिदिउँ, अस्तिमात्र काभ्रेको पाँचखालमा कुन संस्थाको आयोजनामा भएको ‘दर कार्यक्रम’मा खाएको दरले खाना विषाक्त अर्थात् ‘फुड पोइजनिङ’ भएर करिब ४ सयजना बिरामी भएकामा आधाजति हाम्रै अस्पतालमा उपचाररत छन् । यी सबै कुरामा विचार गरेर आजका दिन शुद्ध अनि स्वस्थकर दर खान म आमा, दिदी, बहिनीहरूलाई अनुरोध गर्न चाहन्छु । अर्को वर्षदेखि भने महिनौं अघिदेखि चल्ने यस्तो विसंगतिमय ‘दर कार्यक्रम’लाई नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु ।
– डा. अजय रिसाल,धुलिखेल अस्पताल,काभ्रे
***


तीजलाई खासगरी हिन्दु महिलाहरूको महान चाड मानिन्छ । यसको महत्त्व आफ्नै ठाउँमा होला । तर केही वर्षयता यसमा देखिएको खन्चुवा प्रवृत्तिजन्य विकृति र छाडा तीजे गीतले गर्दा नाक खुम्च्याउनुपर्ने स्थिति पैदा भएको छ । एक त यो व्रत विवाहित महिलाले पुरुषको दीर्घायु र सुस्वास्थ्यका लागि तथा अविवाहिताले ‘असल श्रीमान पाऊँ’ भन्ने उद्देश्यले लिने कुरा नै हाँसउठ्दो खालको छ । अर्को, अघिल्लो दिन सन्चो नहुन्जेल खाएर भोलिपल्ट पानीसमेत नखाइकन व्रत बस्ने कुरा पनि चित्तबुझ्दो लाग्दैन । त्यति मात्र नभई अझ अहिले त तीज आउनुभन्दा १/२ महिना अघिदेखि नै पैसा भएका तर कामकाज नभएकाहरूले होटल तथा पार्टी प्यालेसमा खाने, खुवाउने दरको करले फजुल खर्च अनियन्त्रित ढंगले बढेको छ । समाजमा बसेपछि सम्पन्न वर्गको सिको विपन्न वर्गले पनि ‘कोभन्दा को कम’को पारामा गर्नुपर्ने भएपछि दर ख्वाउनुको कर र दर खानुको रहर घट्नुको साटो झन् बढेको पाइन्छ । दरको रहरसँगै काभ्रेमा धेरैजना बिरामी भएका अप्रिय समाचार पनि सुन्नुपर्‍यो । चाडपर्व मान्नु भनेको कुनै पनि व्यक्तिको सांस्कृतिक र धार्मिक स्वतन्त्रता हो । तर यसलाई ‘बदलिँंदो सामाजिक चाहना’का नाममा छाडा छोडिदिंँदै जाने हो भने हाम्रा हरेक चाडपर्वको मौलिकता हराउँदै गएर अन्तत: समग्र सांस्कृतिक पहिचान नै गुम्ने खतरा भएको हुँदा यसतर्फ सबैको ध्यान बेलैदेखि पुग्नु जरुरी छ ।
– इन्द्रकुमार श्रेष्ठ,ओखलढुंगा
***


३६४ दिन महिलालाई शोषण गर्ने पितृसत्ताले वर्षको १ दिन तीजको नाममा आफ्नो पुरुषत्व, प्रभुत्व र शोषणको गाथा गाउन छुट दिने गर्छ । बलशाली पितृसत्ताले बुझेको छ, दिनभरि शोषण विरुद्ध जतिसुकै क्रान्तिकारी गीत गाए पनि बेलुका उसको शोषण र आवेगको सामना गर्न महिला विवश हुनुपर्छ । अहिले पितृसत्ताले शोषणको अर्को हतियार भेटेको छ– पुँजीवादी बजारीकरण । यसले महिलालाई फगत वस्तुको रूपमा उभ्याएको छ । आफ्नो सत्ताद्वारा नियन्त्रणमा राख्न सकिने जति छुट दिएको छ । गहना र कपडालाई सौन्दर्यको मानकको रूपमा स्थापित गरेको छ र महिलाको ज्ञान, सीप र महत्त्वलाई दीर्घकालसम्म नकार्ने कुचेष्टा गरेको छ ।
– मनोज लम्साल,देवचुली–३, नवलपुर

प्रकाशित : भाद्र २६, २०७५ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?