असुरक्षित आकाश

कान्तिपुर संवाददाता

काठमाडौँ — गोरखाको साना गाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको कलसाइन ९ एनएएलएस हेलिकप्टर नुवाकोट आइपुग्दा दुर्घटना हुनपुग्यो । जहाँ एकै ठाउँमा ६ जनाको ज्यान गएको छ भने १ जना जीवित भेटिएकी छन् ।

हवाई यातायातमा हेलिकप्टरलाई बढी सुरक्षित यातायात मानिन्छ, तर त्यही हेलिकप्टर दुर्घटनाको संख्या हामीकहाँ बढ्दै गइरहेको छ । हाम्रो आकाश दिन–प्रतिदिन असुरक्षित बन्दै गइरहेको हामी सबैलाई थाहा छ । तर सरकारी स्तरमा भने कहीं कतैबाट हाम्रो आकाशलाई कसरी सुरक्षित बनाउने भन्नेतर्फ बहससमेत प्रारम्भ गरिएको छैन । यसरी हामी कहिलेसम्म असुरक्षित हवाइयात्रा गरिरहने हो ? यसले हाम्रो पर्यटकीय क्षेत्रमा समेत नराम्रो असर परिरहेको छ । पछिल्लो समय बिग्रँदो सडक सञ्जाल पहिरोका कारण हवाई यातायाततर्फ आम नागरिक आकर्षित भइरहेको अवस्थामा हवाई दुर्घटना बढ्दै जाने हो भने यसले नकारात्मक असर पार्छ । अत: सरकारले बढ्दो हवाई दुर्घटनाका कारण के–के हुन् ? किन, कसको लापरबाहीले दुर्घटना बढिरहेका छन् ? पहिचान गरी दुर्घटना कम गर्नतर्फ अग्रसर हुनुपर्छ । कहीं कोही दोषी देखिएमा कारबाही गर्नुपर्छ । अन्यथा भोलि नेपालको हवाई यातायात विदेशीले मात्र नभएर स्वयम् नेपालीले पनि वर्जित गर्नुपर्ने दिन नआउला भन्न सकिन्न । त्यो अवस्था सिर्जना भएमा हामीले खोजेको समृद्धि कहाँ पुग्ला ?
– रामकृष्ण बराल,जोरपाटी–२, काठमाडौं

Yamaha

प्रकाशित : भाद्र २६, २०७५ ११:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

शिक्षा दिवसको सार्थकता के ?

कान्तिपुर संवाददाता

काठमाडौँ — केको खुसियालीमा शिक्षा दिवस मनाइएको हो भनी शिक्षाका तथ्यांक अध्ययन गर्दा थाहा भयो कि यस्ता रहेछन्, बिरालो बाँधेर श्राद्ध गर्नाका कारण :


१. गत ५ वर्षमा सरकारी विद्यालयबाट ४ लाख विद्यार्थी घटेको खुसियाली साट्न ।
२. कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये गत एसईई परीक्षा दिने बेलासम्म १० लाख विद्यार्थी हराएको खुसियालीमा ।
३. गत ६ वर्षमा जम्मा विद्यार्थी संख्यामध्ये निजी विद्यालयमा भर्ना हुनेको प्रतिशत १८ बाट २१ प्रतिशत पुगेको र यो क्रम जारी रहे अर्को १५ वर्षभित्रमा सरकारी शिक्षा समाप्त हुने खुसियाली मनाउन ।
४. विद्यालय शिक्षामा वर्षेनि ७० प्रतिशत लगानी खेर गएपछि दाता रुष्ट भएका र तिनैलाई चित्त बुझाउन ग्रेडिङ प्रणालीमार्फत ज्यादै कमजोर विद्यार्थी पनि उच्चशिक्षा पढ्न पठाउन पाएको उपलक्षमा । अझ सबभन्दा कमजोरलाई शिक्षक बनाउने रणनीति सफल भएकामा ।
५. १२ हजार विद्यालयमा शौचालय नै नभएको, २० हजार विद्यालयमा छात्रा शौचालय नभएको र शौचालय नभएकै कारण कक्षा ६ पछि छात्राहरूले विद्यालय छोड्ने खुसियालीमा ।
६. सहरका गल्ली–गल्लीमा खुलेका विदेशी दलालका पीएचडी पसल फस्टाउँदै गएको, ४ लाख तिरेपछि सजिलै पीएचडी पाइने र नेपालको विश्वविद्यालयबाट स्नातकोत्तर अनुत्तीर्ण हुनेले समेत ३/४ वर्षभित्र दुवै डिग्री किन्न सक्ने क्षमता विकास भएको खुसियालीमा ।
६. राजनीतिक नियुक्तिमा विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्दा पीएचडी नगरेका आफन्तलाई समेत उपकुलपतिमा नियुक्त गर्न पाएको र सम्बन्धनका नाममा भ्रष्टाचार बढेको उपलक्षमा ।
७. देशकै सबैभन्दा ठूलो र अझै ८३ प्रतिशत विद्यार्थी बोकेको जेठो विश्वविद्यालयमा ७४ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको खुसियालीमा ।
८. संघीय नेपालमा संविधानको अनुसूची ६ अनुसार प्रादेशिक सरकार र अनुसूची ८ अनुसार स्थानीय सरकारको शिक्षाको अधिकार कटौती गर्दै एकात्मक राज्यको अवधारणामा केन्द्रीय सरकारले बेला–बेलामा अनेक बुँदे कार्यक्रम सार्वजनिक गर्ने तर काम गर्न नपर्ने खुसियालीमा ।
९. प्रत्येक नागरिकको संविधान प्रदत्त शिक्षाको मौलिक हकमा कटौती हुनेगरी विधेयक संसद् पुगेको उपलक्षमा ।
१०. प्रत्येक वर्ष शिक्षाको आकर्षक नारा दिएर जनता भुलाउने र कक्षाकोठामा पुग्नुपर्ने बजेट घटाउँदै त्यस्तै नारा प्रचारका लागि तामधामसाथ मनाइने कार्यक्रममा स्रोत खर्च गर्न पाएको खुसियालीमा ।
– मनप्रसाद वाग्ले,मीनभवन, काठमाडौं

प्रकाशित : भाद्र २६, २०७५ ११:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT