राष्ट्रिय ढुकुटीको दुरुपयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — भदौ २३ गते राष्ट्रपति निवासमा आयोजित तीजको दर कार्यक्रम र प्रधानमन्त्री निवासमा ओली वंशावली भेला कार्यक्रमले हाम्रा राष्ट्र प्रमुखहरू राष्ट्र र आम नागरिकप्रति कति उत्तरदायी रहेछन् भन्ने प्रस्ट पारेको छ ।

यसले सम्पूर्ण नेपालीको राष्ट्रपति वा प्रधानमन्त्री नभई कुनै विशेष जाति वा वंशको राष्ट्रपति र प्रधानमन्त्री भन्ने प्रस्ट्याएको छ । यस्ता कार्य कतिसम्म न्यायोचित हुन्छन् ? के राष्ट्रपतिले आफ्नो राजनीतिक सफलता महिलाको भोटले मात्र प्राप्त गर्नुभएको हो ? प्रधानमन्त्रीले पनि उनका निवासमा आफ्नो वंशावलीको कार्यक्रम आयोजना गर्नु आपत्तिको विषय हो । के उनको राजनीतिक यात्रा र सफलता एकल वंशबाट सम्भव भएको हो ? अनि प्रधानमन्त्रीको भ्रष्टाचार र अनियमितताप्रति शून्य सहनशीलता भन्ने वाक्य बोली र व्यवहारमा नियत प्रस्ट भयो नि । आर्थिक खर्च कमै भए पनि प्रवृत्ति गलतै हो नि प्रमज्यू । कि दुई तिहाइको मातले तपाईंलाई छुट दिएकै छ ? आफ्नो जन्मोत्सव कार्यक्रमलाई विकास गर्दै पार्टी कार्यक्रम हुँदै वंशावली भेलामा पुर्‍याउनुभयो, जनताको करबाट चल्ने प्रधानमन्त्री निवासलाई । समृद्ध नेपाल, सुखी नेपालीको नारा नारामै सीमित रहनेछ । अर्को प्रसंगमा शिक्षा दिवसजस्तो महत्त्वपूर्ण दिवस जसमा भविष्यका कर्णधार, विद्यार्थी, शिक्षाविद, शिक्षाकर्मी र शिक्षासँंग सरोकार राख्नेहरूका शिक्षा दिवसको कार्यक्रमलाई नजरअन्दाज गर्दै ससाना विद्यार्थी भाइबहिनीहरू समेतलाई भोकै, तिर्खै घन्टौंसम्म प्रधानमन्त्रीको उपस्थितिलाई कुर्नुपर्ने कस्तो विडम्बना † प्रधानमन्त्रीको वंशावली कार्यक्रममा सहभागिताले शिक्षा दिवस कार्यक्रमका सहभागीहरूलाई समेत प्रभावित पार्‍यो, जुन गम्भीर विषय हो । प्रधानमन्त्रीले आफ्नो निवासमा आयोजित वंशावलीको भेलालाई बढी महत्त्व दिए ।
– राम थापा,गोकर्णेश्वर–१, काठमाडौं

Yamaha

प्रकाशित : भाद्र २६, २०७५ ११:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

शिक्षा दिवसको सार्थकता के ?

कान्तिपुर संवाददाता

काठमाडौँ — केको खुसियालीमा शिक्षा दिवस मनाइएको हो भनी शिक्षाका तथ्यांक अध्ययन गर्दा थाहा भयो कि यस्ता रहेछन्, बिरालो बाँधेर श्राद्ध गर्नाका कारण :


१. गत ५ वर्षमा सरकारी विद्यालयबाट ४ लाख विद्यार्थी घटेको खुसियाली साट्न ।
२. कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये गत एसईई परीक्षा दिने बेलासम्म १० लाख विद्यार्थी हराएको खुसियालीमा ।
३. गत ६ वर्षमा जम्मा विद्यार्थी संख्यामध्ये निजी विद्यालयमा भर्ना हुनेको प्रतिशत १८ बाट २१ प्रतिशत पुगेको र यो क्रम जारी रहे अर्को १५ वर्षभित्रमा सरकारी शिक्षा समाप्त हुने खुसियाली मनाउन ।
४. विद्यालय शिक्षामा वर्षेनि ७० प्रतिशत लगानी खेर गएपछि दाता रुष्ट भएका र तिनैलाई चित्त बुझाउन ग्रेडिङ प्रणालीमार्फत ज्यादै कमजोर विद्यार्थी पनि उच्चशिक्षा पढ्न पठाउन पाएको उपलक्षमा । अझ सबभन्दा कमजोरलाई शिक्षक बनाउने रणनीति सफल भएकामा ।
५. १२ हजार विद्यालयमा शौचालय नै नभएको, २० हजार विद्यालयमा छात्रा शौचालय नभएको र शौचालय नभएकै कारण कक्षा ६ पछि छात्राहरूले विद्यालय छोड्ने खुसियालीमा ।
६. सहरका गल्ली–गल्लीमा खुलेका विदेशी दलालका पीएचडी पसल फस्टाउँदै गएको, ४ लाख तिरेपछि सजिलै पीएचडी पाइने र नेपालको विश्वविद्यालयबाट स्नातकोत्तर अनुत्तीर्ण हुनेले समेत ३/४ वर्षभित्र दुवै डिग्री किन्न सक्ने क्षमता विकास भएको खुसियालीमा ।
६. राजनीतिक नियुक्तिमा विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्दा पीएचडी नगरेका आफन्तलाई समेत उपकुलपतिमा नियुक्त गर्न पाएको र सम्बन्धनका नाममा भ्रष्टाचार बढेको उपलक्षमा ।
७. देशकै सबैभन्दा ठूलो र अझै ८३ प्रतिशत विद्यार्थी बोकेको जेठो विश्वविद्यालयमा ७४ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको खुसियालीमा ।
८. संघीय नेपालमा संविधानको अनुसूची ६ अनुसार प्रादेशिक सरकार र अनुसूची ८ अनुसार स्थानीय सरकारको शिक्षाको अधिकार कटौती गर्दै एकात्मक राज्यको अवधारणामा केन्द्रीय सरकारले बेला–बेलामा अनेक बुँदे कार्यक्रम सार्वजनिक गर्ने तर काम गर्न नपर्ने खुसियालीमा ।
९. प्रत्येक नागरिकको संविधान प्रदत्त शिक्षाको मौलिक हकमा कटौती हुनेगरी विधेयक संसद् पुगेको उपलक्षमा ।
१०. प्रत्येक वर्ष शिक्षाको आकर्षक नारा दिएर जनता भुलाउने र कक्षाकोठामा पुग्नुपर्ने बजेट घटाउँदै त्यस्तै नारा प्रचारका लागि तामधामसाथ मनाइने कार्यक्रममा स्रोत खर्च गर्न पाएको खुसियालीमा ।
– मनप्रसाद वाग्ले,मीनभवन, काठमाडौं

प्रकाशित : भाद्र २६, २०७५ ११:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT