राष्ट्रसंघमा सहभागिता

काठमाडौँ — भदौ ३० गते प्रकाशित भैरव रिसालको ‘राष्ट्र संघमा नेपाल पुग्दा’ आलेख शिक्षाप्रद र सान्दर्भिक लाग्यो । किनभने वरिष्ठ पत्रकार रिसालले संयुक्त राष्ट्र संघमा २०१२ सालमा नेपाल सदस्य भएको, तत्कालीन राजपरिवार वा राजतन्त्र पनि बलियो नभएको अवस्थामा अधिराजकुमारलाई उपनेतामा राखी परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपालको सहभागिताको रोचक इतिहास प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रसंघमा सहभागिता

असोज २ गतेदेखि सुरु हुने राष्ट्र संघको साधारण सभामा नेपालबाट हुने सहभागिताको संख्याका लागि उपयोगी सुझाव प्रस्तुत गरेको पाइयो । हो, २०१३ सालदेखि संयुक्त राष्ट्र संघको साधारण सभाजस्तो महत्त्वपूर्ण बैठकमा केवल ६ जनाको सिट उपलब्ध गराइने व्यवस्थालाई २०१७ सालसम्म नेपालको सहभागिता हुँदा अनुशासनपूर्वक जम्मा ६ जनामै सीमित राखेको पाइयो । तर बहुदलीय व्यवस्थाको सूत्रपातसंँगै वैदेशिक भ्रमण नेपालका नेताको ‘रमाउने’ र ‘कमाउने’ धन्दा भएको प्रमाणित भयो । २०५२ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भएपछिको ४९ जनाको ‘जम्बो’ मन्त्रिपरिषद बन्यो । प्रधानमन्त्रीका आसेपासेहरू जबर्जस्ती खाँदखुद पारेर जम्बो टोली लिएर जाने, इज्जत, प्रतिष्ठाको ख्याल र लाजै नमानी ६ जनाको कुर्सीका वरिपरि ४३ जनालाई देख्दा अन्य राष्ट्रप्रमुख तथा सहभागीले कस्तो मूल्याङ्कन गरे होलान् ? आयोजक संयुक्त राष्ट्र संघका लागि यो जम्बो सदस्यलाई बस्ने, खाने व्यवस्था कसरी गरे होलान् ?

तर जे होस्, संयुक्त राष्ट्र संघमा नेपाल सदस्य हुनु र विश्वका सदस्य राष्ट्रहरूको संलग्नता र सहभागितामा सम्पन्न हुने विश्व मेलामा भाग लिनु प्रतिष्ठाको विषय हो । विश्वका सदस्य मुलुकका सरकार प्रमुखहरूसँंग भेटघाट, परिचय, वार्तालाप, गहकिला विचारको आदान–प्रदान र सहचार्यले आआफ्ना मुलुकको भावी योजना तर्जुमा र कार्यान्वयन गर्न मार्गप्रशस्त हुनसक्छ । त्यसकारण समृद्ध नेपालका जनता सुखी बनाउन खोज्ने उद्देश्यसहित गहन विषय–वस्तुका साथ सहभागी हुनु प्रतिष्ठित र ओजिलो होला । त्यसो हुनाले आगामी साधारण सभामा उपलब्ध सिटका आधारमा नेपालबाट ६ जनाभन्दा ७ जनाको सहभागिता नगराउन ओली सरकारलाई
आग्रह गर्छु ।
– गंगाराज अर्याल,पाणिनि– ८, पाली अर्घाखाँची

प्रकाशित : आश्विन २, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?