२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

संरक्षणकर्मी हरिया सर्प

काठमाडौँ — ‘बन्न सक्छ कम क्षतिमै’ शीर्षक राखेर २ पृष्ठमा छापिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी समाचार विद्यावारिधि विद्यार्थी र कथित संरक्षणकर्मीका कुरा हुन् । होइन भने आफ्नो देशमा वन, वातावरण विनाश गरेर विकासको उत्कर्षमा पुगेका विकसित राष्ट्रहरूले वातावरण बचाउने ठेक्का लिएको कुरा भुल्नु हुँदैन ।

संरक्षणकर्मी हरिया सर्प



तिनकै बुटी खाएर विकासको विरोध गर्ने कथित संरक्षणकर्मी हरिया सर्प हुन् । स्मरण रहोस् रुख नकाटेको भए महेन्द्र राजमार्ग पनि बन्ने थिएन । आफू बच्न र समाचार अनुसन्धानमूलक देखाउन सचिव कृष्णप्रसाद देवकोटासँग पनि कुरा गरेको बुझिन्छ । जे भए पनि समाचारद्वारा विकास निर्माणमा बाधा उत्पन्न गराएको प्रस्ट छ । १३ किलोमिटर चाहिनेमा साढे ८ किलोमिटरमा कसरी बन्छ विमानस्थल ? वातारवरण संरक्षणको निहुँमा बन्न थालेको निजगढ विमानस्थलमा बाधा ल्याउनु उचित होइन ।
– समिता लुइँटेल, टीकापुर कैलाली

‘बन्न सक्छ कम क्षतिमै’ निजगढ अन्तर्राष्टिय विमानस्थलबारेको समाचार पढियो । यो खबरले हजारौँ हेक्टरका वन विनाश नगरी पनि विमानस्थल बनाउन सकिने रहेछ भन्ने तर्कसँग सरोकारवाला जोकोही पनि नजिक पुग्नुपर्ने हो । एउटा रुख रोप्न र हुर्काउन नसक्नेले २४ लाखभन्दा बढी रुख काट्न तम्सिनु उचित होइन । हजार वर्षदेखिका खडाको खडै रहेका सतिसाल, साल, खयरका झाडीयुक्त वन नासेर वातावरण धराशायी बनाउनु हुँदैन । ‘हरियो वन नेपालको धन’ भन्ने लोकोक्तिले चिनिएको नेपालको चारकोसे झाडीका १० वटा नयाँ बोइङ किन्न पुग्ने खरबौँ मूल्यका रुख नाश नगरीकनै केही दायाँबायाँ स्थानतर्फ जान सकिने सटिक नक्सांकन
दर्साइएका छन् ।

यदि भित्रैदेखि निजगढमा अर्को अन्तर्राष्ट्रियस्तरकै विमानस्थल निर्माण गर्ने इच्छा जागृत भएको भए सर्प पनि मर्ने लौरो पनि नभाँचिने शैली अपनाउनु बुद्धिमानी हुन्छ । नदी उकास जमिन होस् या बाँझो जमिन वा सारनाथ जंगलको अतिक्रमित जमिनलाई प्रयोग गर्दा उपयुक्त हुन्छ र विवादित बन्दैन भन्ने जुन आशय पत्रिकामा उल्लेख गरिएको छ, वास्तवमा त्यो सही छ । भएको एउटै अन्तर्राष्ट्रिय विमानस्थललाई सुविधासम्पन्न, सुरक्षित, व्यवस्थित र झन्झटमुक्त बनाई पर्यटकीय सहजता अभिवृद्धि गर्न बाह्र बजिरहेका बेला देशमा हाल जतिवटा बोइङ जहाज छन्, त्योभन्दा बढी अन्तर्राष्ट्रिय विमानस्थल थप्ने रे । सरकारको निर्णयप्रति नकारात्मक आशय औँल्याएको होइन । लुम्बिनी र पोखरा गरी २ वटा अन्तर्राष्ट्रिय विमानस्थल बनाइने प्रक्रिया अघि बढिसकेको छ । निजगढमा वातावरण मूल्यांकनका कार्य अघि बढिरहेकामा जंगलको क्षति न्यूनीकरण गरी बनाउनु उपयुक्त हुने आवाज सर्वत्र उठिरहेको सन्दर्भमा त्यसको सबल पक्ष केलाउने जमर्को मात्रै गरेको हो ।
– श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौं

प्रकाशित : आश्विन ७, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?