१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विकासको बन्ध्याकरण !

काठमाडौँ — कान्तिपुरमा असोज ६ गते प्रकाशित ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्छ, कम क्षतिमै’ शीर्षक समाचारले विमानस्थल कम क्षतिमा निर्माण गर्ने वैकल्पिक मार्गभन्दा पनि निजगढकै विकल्प दिन खोजेको देखिन्छ ।

विकासको बन्ध्याकरण !

बारालाई अन्तर्राष्ट्रिय विमानस्थलको सपना सुनाएको दुई दशक नाघेको छ । अहिले सरकारले विमानस्थल निर्माणका लागि सक्रियता देखिएका बेला त्यसलाई निस्तेज पार्नेगरी तर्कहरू गरिँदैछ । वातावरण तथा पर्यावरणीय क्षतिलाई मुख्य कारण देखाइँदैछ । विकल्पमा दक्षिणी भेगको खेतीयोग्य जमिन वा सर्लाहीस्थित सागरनाथ वन परियोजना भित्रको अतिक्रमित क्षेत्र हुनसक्ने भनिँदैछ । विकल्पमा देखाइएको क्षेत्रको पर्यावरणीय मूल्य हुन्छ कि हुँदैन ? अतिक्रमित जग्गाको अर्थ के हो ? जमिनमा कम आकाशमा ज्यादा भन्ने त पक्कै होइन ।

विमानस्थल बन्दै गर्दा कटान हुने बोटबिरुवाको पर्यावरणीय मूल्य बराबर हुनेगरी वृक्षरोपण गर्ने नीति कार्यान्वयन गर्न सकिन्छ । कसैको ससुराली वा माइत जान आजको भोलि विमानस्थलका लागि नयाँ स्थल विकल्प बन्न सक्दैन । दुई दशक लामो पर्खाइपश्चात मुआब्जा वितरण प्रक्रिया प्रारम्भ भएको छ । वर्षौंसम्म एकाथरी रटान दिएर अचानक विकल्पको कुरा गर्नु बारावासीको भावनामाथि प्रहार हो । यो विकासलाई बन्धकमात्र नभई बन्ध्याकरण गर्ने प्रपञ्च हो ।
– आङछिरिङ लामा,कोल्हवी– ८, बारा

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कम क्षतिमै बन्न सक्छ भन्ने समाचार कान्तिपुरमा पढेँ । धेरै वन विनाश नगरिकन विमानस्थल बनाउन सकिने रहेछ भन्ने तर्कसँग सरोकारवाला सहमत हुनुपर्ने हो । एउटा रुख रोप्न र हुर्काउन नसक्नेले २४ लाखभन्दा बढी रुख काट्न भने तम्सिनु उचित नहोला भन्ने सबैलाई लाग्छ । सयौं वर्षदेखि खडा सतिसाल, साल, खयरका झाडीयुक्त वन नाशेर वातावरण धराशायी पार्नु हुँदैन । १० वटा नयाँ बोइङ किन्न पुग्ने खर्बौंं मूल्यका रुख नाश नगरिकनै केही दायाँ–बायाँ स्थानतर्फ जान सकिने सटिक नक्सांकन उल्लेख गरिएको छ । निजगढमा अर्को अन्तर्राष्ट्रिय स्तरकै विमानस्थल निर्माण गर्ने भित्रैदेखि इच्छा जाग्रित भएको भए सर्प पनि मर्ने लौरो पनि नभाँचिने शैली अपनाउनु बुद्धिमानी होला । नदी उकास जमिन होस् या बाँझो जमिन वा सारनाथ जंगलको अतिक्रमित जमिन प्रयोग गर्दा उपयुक्त हुन्छ र विवादित बन्दैन भन्ने आशय पत्रिकामा उल्लेख छ, त्यो सही छ ।

लुम्बिनी र पोखरामा पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया बढिसकेको छ । मुलुकमा धेरै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनसके धेरै पर्यटक आउलान् । विदेशी मुद्रा भित्रिएला । होटल बाह्रैमास भरिभराउ होलान् । अर्थतन्त्रमा टेवा पुग्ला । त्रिभुवन विमानस्थल छेउछाउका आकाशमा सिकारमा रमाउने एकाध सय चिल, गिद्ध र काग नियन्त्रण नगर्दा जहाज उडाउन हम्मे परेको देख्दा यति धेरै अन्तर्राष्ट्रिय विमानस्थलका व्यवस्थापन कसरी होला भन्ने लाग्छ ।
– श्यामसुन्दर कुइँकेल,हाँडीगाउँ, काठमाडौं

प्रकाशित : आश्विन ८, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?