कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

तेजाब आक्रमणमा अदालतको आदेश

कान्तिपुर संवाददाता

काठमाडौँ — छिमेकी दुष्ट व्यक्तिको तेजाब आक्रमणबाट रौतहट चन्द्रपुर नगरपालिका–६ बस्ने १८ वर्षीय सम्झना दासको मृत्यु हुँदा समाचार सुन्ने सबै भावविह्वल हुनपुगेका छन् । १८ वर्षको कलकलाउँदो उमेरकी, पुरै जीवन जिउन बाँकी रहेकी एक अबोध केटीको ज्यानै लिने कार्यको जति भत्र्सना गरे पनि कम हुन्छ ।

तेजाब आक्रमणमा अदालतको आदेश

यस्ता अपराधीलाई कडा सजाय दिनुपर्छ । अन्यथा सम्झनाको आत्माले शान्ति पाउँदैन । कडा सजाय गर्नसके मात्र अन्य सम्झनाहरूलाइ यस्तो नियतिबाट बचाउन सकिन्छ । साथै तेजाब बिक्री–वितरणमा पनि सरकारले बंगलादेशको सरकारले गरेझैं कडा नियमको अनुशरण गर्नु उचित हुन्छ । अन्यथा यस्ता विकृति बढ्दै जान्छ । केही समय अघि यसरी नै रूपन्देही, काठमाडौं र दाङमा पनि ३ वटा एसिड आक्रमणका घटना भएका थिए । रूपन्देहीमा पनि तुलसा सापकोटाले ज्यानै गुमाउन पुगेकी थिइन् । यी ४ वटै केशमा महिलामाथि प्रहार भएको छ र पनि कानुन बनाउने हाम्रा नीति निर्माताको ध्यान कडा कानुन बनाउनेतिर गएको छैन । सर्वोच्च अदालतले आजभन्दा ७ वर्ष पहिले अर्थात २०६६ साउन २८ गते सरकारको नाममा एसिड लगायत जघन्य अपराधमा कारबाही गर्न छुट्टै कानुन बनाउन आदेश दिएको थियो । तथापि सरकारले आजसम्म त्यो आदेशको पालन गरेको छैन । यसले गर्दा यस्ता जघन्य अपराधीहरूलाई उन्मुक्ति मिलिरहेको छ ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं
***


भदौ २६ गते एसिड आक्रमणमा परी सख्त घाइते भएकी रौतहटकी सम्झना दासको मृत्युको खबरले साहै्र विचलित तुल्यायो । कञ्चनपुरकी निर्मला पन्तझैं कलिलो उमेरमै फेरि एउटी अर्की छोरीले यो संसारबाट विदा लिएर गइन् । जघन्य अपराध गर्नेलाई हदैसम्मको कठोर सजाय मिलोस् भनी रौतहट प्रहरी प्रशासनसंँग आग्रह गर्छु ।
– शिवराजसिंह बलायर, महेन्द्रनगर, कञ्चनपुर
***


युग साँच्चिकै बदलिए जस्तो छ । बदलिएको युग सच्चिनुपर्ने देखिन्छ । प्रेमको युगमा प्रेम स्वार्थमा फेरिएको छ । हुन त प्रेम पनि स्वार्थ नै हो । तर कस्तो स्वार्थ हो ? यौनका लागि वा जीवनका लागि ? यो महत्त्वपूर्ण प्रश्न हो । प्रेम अराजक रूपमा फैलिएको छ । भर्खरका युवायुवतीहरूदेखि वृद्ध र वैस्यहरूमा यतिबेला फैलिएको प्रेम यौन वितृष्णा हो । यसकारण प्रेम र यौनसँग जोडिएर दिन–प्रतिदिन घटना, परिघटना भइरहेका छन् । यसलाई सचेत गराउने निकाय समाजमा सक्रिय हुनुपर्ने देखिन्छ । राज्यले पनि केही समयका लागि यतातिर समय खर्चिनुपर्ने देखिन्छ । बदलिएको समाजिक मनोविज्ञानलाई व्यवस्थित गर्न र युगसापेक्ष बनाउन नैतिकतामुखी समाजको अपरिहार्य छ । अचेल मानवजातिमा नैतिकता हराउँदै गएको महसुस गर्न सकिन्छ । विषय कतिको जायज वा नाजायज छ । थाहा छैन । तर यस्ता घटना भइरहेका छन् । ‘सम्झना रहिनन्’ कान्तिपुरमा पढेंँ । रौतहटकी १८ वर्षीया सम्झना दास र १५ वर्षीया बहिनी सुस्मितामाथि एसिड प्रहार भएको घटना कतै लुकेको छैन । सम्झना यो संसारबाट बिदा भएकी छिन् । भन्ने बहिनी सुस्मिता अझै पनि उपचारकै शैयामा छिन् । ५० वर्षीय रामबाबु पासवानको यौन प्रस्ताव अस्वीकार गर्दा एसिड काण्ड भएको कुरा सार्वजनिक भएको छ । यस्तालाई कडा कारबाहीको कठघरामा उभ्याउनुपर्छ । अनि मात्र सम्झनाहरूको आत्माले शान्ति पाउनेछ ।
– राजेश विद्रोही, लहान, सिरहा
***


गत भदौ २६ गते आफ्नै छिमेकी अभिभावकबाट एसिड प्रहारमा परी रौतहटकी १८ वर्षीया युवती सम्झना दासको घटना भएको १२ दिनपछि मृत्यु भएको खबरले उनको गाउँघर, परिवारमात्रै होइन, सिङ्गो देश स्तब्ध भएको छ । संँगै सुतेकी अर्की बहिनी १५ वर्षीया सुस्मिता अस्पतालको शैयामा मृत्युसँग संघर्ष गरिरहेकी छन् । यो दु:खद र पीडादायी खबरले मानिस आफ्नो स्वार्थ र यौनप्यासका लागि कति हिंस्रक बन्न सक्दोरहेछ भन्ने उजागर गरेको छ । एसिड प्रहारको घटना पहिलो होइन । पटक–पटक यस्ता घटना भइरहेका छन् । खासगरी युवतीमाथि हुने एसिड प्रहार प्रेम प्रस्ताव नमान्दा वा यौन सम्पर्क गर्न अस्वीकार गर्दा भएको देखिन्छ । राज्यले यस्ता यौन पिपासुहरूलाई आजीवन जन्मकैद र सर्वस्वसहितको कडा कानुन बनाएर कारबाही गर्नु अनिवार्य भइसकेको छ । एसिड जस्तो घातक रासायनिक पदार्थको सहज बिक्री–वितरणमा अविलम्ब रोक लगाएर यस्ता घटना नदोहोर्‍याउन कानुनी व्यवस्था गर्नु उचित हुनेछ ।
– यज्ञराज न्यौपाने, पेप्सिकोला, काठमाडौं

प्रकाशित : आश्विन १०, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?