सार्वजनिक यातायात र व्यवहार

कान्तिपुर संवाददाता

काठमाडौँ — असोज २६ गते प्रकाशित ‘कसैको नहोस् यस्तो मरण’ सम्पादकीयले मनै दु:ख्यो  । किनभने पुरानो बसपार्कबाट भरिभराउ र खाँदाखाँद यात्री लिएर बस गन्तव्य भक्तपुर हिंडेछ  ।

सार्वजनिक यातायात र व्यवहार

बिसौनीको ठेगान नै नभएको निजी यातायातका बस रत्नपार्कबाट भक्तपुर सरस्वतीखेल पुग्दासम्म पनि बसका परिचालकको इसारा वा संकेतको आवश्यकता परेनछ । तर लामो समयसम्म बस चलाउँदा, बीचबीचमा कहाँ कहाँ रोकेर यात्रीलाई ओराल्नुपर्ने हो ? यात्रीले भाडा कसलाई तिरेर बसबाट ओर्ले ? गन्तव्य बिसौनीको इसारा यात्रीबाहेक अरू कसले दिए होलान् ? कति अचम्मको कुरा हो, आफ्नो परिचालकको इसारा वा आवाज नआए पनि मस्त तालमा बस हुइँकाउने चालकले गन्तव्यमा पुगेर मात्र परिचालकको खोजी गर्नु । उतिखेरै परिचालकका बारेमा प्रहरीलाई खबर र उजुर किन गरेनन् ?

काठमाडौं उपत्यकामा राम्रो वा नराम्रो जुनसुकै घटना हुँदा पनि उद्धार नगरी रमिते मात्र बन्ने संस्कृति धेरै पुरानो हो । यातायातका साधनमा गरिने व्यवहार दिक्कलाग्दो नै हुन्छ । अघिल्तिर उभिँदा चर्को र रुखो स्वरले पछाडि जाने आदेश, दायाँ उभिँदा बायाँतिर उभिने र बायाँतिर उभिँदा दायाँतिर उभिने कठोर आदेशको पालना गर्दागर्दै ओर्लने समय आउँछ । अन्य मुलुकमा जस्तो नरम, सभ्य र कोमल हृदयी कदापि नपाइने बस–माइक्रोबसका परिचालक सिट खाली भए पनि बस्न रुचाउँदैनन् । लामो कपाल, नाक, कानमा टप र मुन्द्रा, एउटा हातले खुलेको ढोकाको डन्डी समाई अर्को हात हावामा फैलाई युवतीतर्फ आँखा झिम्काउँदै छाँट देखाउने झिल्के परिचालकको आफ्नै पहिचान देखिन्छ । ट्राफिकको नजिकै हुँदा यात्रीलाई टाउको भित्र छिराउने आदेश र ढोकाको कप्टेरो लाएजस्तो गरे पुगिहाल्छ । हाम्रो मुलुकको यातायात कम्पनीले जति दु:ख र कष्ट भए पनि यात्रीलाई अधिक भाडाको मारमा पिल्साउनुबाहेक सवारी साधनको अवस्था, चालक र परिचालकको अवस्था, पोसाक परिचयपत्र, क्षमता अनुसारको काम तथा सवारी साधनको अवस्था र सिट क्षमताअनुसार यात्रीको संख्या, यात्रीप्रतिको व्यवहार भए/नभएको यातायात कम्पनी र ट्राफिकको काम कर्तव्य र अधिकारभित्र नपरे जस्तो लाग्छ । यदि बीचको बिसौनी वा ट्राफिक चोकमा ट्राफिकले अनुगमन तथा कारबाही गरेको भए बिचरो परिचालक बाँच्न सक्थ्यो कि ?
–गंगाराज अर्याल, पाणिनि–८,पाली, अर्घाखााची

प्रकाशित : आश्विन २८, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?