खोइ कारबाही ?
काठमाडौँ — ‘प्रमाण मास्नेलाई किन चलाइएन मुद्दा’ शनिबार प्रकाशित समाचार पढियो । वास्तवमा निर्मला पन्तको बलात्कारपछि हत्या गरिँदा केही न केही प्रमाण भेटिनुपथ्र्यो ।
तर भेटिएन किन ? किनकि घटना लगत्तै अनुसन्धान टोली त्यो स्थानमा पुगेको देखिएन । पुग्न त पुग्यो तर ढिला भइसकेको स्पष्टियो । लास भेटिएको भनी हल्ला सुनेर पुगेका अनुसन्धान गर्ने सुरक्षा टोलीका सदस्यहरू घटनास्थलमा कच्चा तथा बचपनाका तवरले प्रस्तुत भएको झल्कियो । निर्मला निर्बस्त्र पारी लडाइएको ठाउँलाई सुरक्षित राखी बाह्य व्यक्तिको प्रवेश रोकेर कडा अनुसन्धान सुरु गर्नुपथ्र्यो । सत्यतथ्य खुल्ने १०/८ फोटाहरू, भिडियोहरू हातहातैमा भएका मोबाइल र आधिकारिक क्यामेरामा विवरण कैद गरी स्थलगत मुचुल्का उठाइ प्रमाणलाई सुरक्षित गर्नुपथ्र्यो । तर सुरक्षित राख्नु त परै जाओस् निर्मलाको लास भेटेपछि झन् उनैले लगाएको सुरुवाल नजिकै पानी जमेको ठाउँमा छपछपी चोपल्दै पखालेको र उल्टै उनैमाथि ओढाइदिएको भिडियो भाइरल बनेको देखियो । साथै पानीले गुप्ताङ्गसमेत पखालिदिएको फुटेजमा देखिएको तमाम जनताले नियाले । हुनत मानवीयताका नाताले सुरुवाल धोइदिएको र गुप्ताङ्ग ढाकिदिएको भन्ने सुन्नमा आयो । तर, निर्मला धुकधुकीमै रहेकी भए तुरुन्त उद्धार गरी तत्काल अस्पताल लगिनुपथ्र्यो । त्यतिखेर दयाभाव, जिम्मेवारी र मानवता खड्किन्थ्यो । यथार्थमा निर्मला मारिइसकेकीमा ‘निर्बस्त्र रहेकीले’ भनीे भावना बगेर उनको शरीरमाथि उनकै सुरुवाल धोइपखाली छोपी दिनु गम्भीर तथा आपत्तिजनक र अक्षम्य भुल ठहरिएको निष्कर्षमा अनुसन्धान आयोग पुगेको छ । अपराधशास्त्रको व्याख्याले यसखाले व्यवहारलाई किमार्थ मतियारभन्दा भिन्न औंल्याएर भावनामा बगेको भनी चोखिने छुट दिँदैन । सुरुवाल र यौनाङ्गभित्र रहेको वीर्य तथा भेजिनल स्वाब पखाल्ने र सदाका लागि डीएनएबाट हत्यारा पुष्टिने सबुद प्रमाण मेटाई संदिग्ध अपराधी उम्काउने भूमिका हुनसक्छ त्यो ।
–श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौा